नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो ।
विभागका अनुसार असोजसम्म ७ अर्ब १९ करोड रुपैयाँ बराबरका १६ लाख २३ हजार ७ सय ९५ थान मोबाइल आयात भएका छन् । गत आ.व. मा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गत वर्षको असोजसम्म ६ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३ सय ३१ थान मोबाइल आयात भएका थिए ।
विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै ३ अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् । चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा रहेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।