टिप्पन भनेको टिपोट हो । कुनै पनि कृति, विषय वा घटनाको अध्ययन गरिसकेपछि त्यसका सवल, दुर्बल वा त्यसबारे आफूलाई लागेको कुराको टिपोट नै टिप्पन हो । यसलाई कुनै पनि कृतिको चिन्हा, अस्तित्वशील अवस्था वा त्यसको जन्मचिनारीका रूपमा पनि लिन सकिन्छ । यसलाई टिप्पणीको सङ्क्षिप्त रूप पनि भन्न सकिन्छ । खासगरी टिप्पन भनेको विशेष कुरा सम्झाउन वा सम्झिन टिपिएको स–सानो लेख हो । कुनै व्यक्ति वा विषयका बारेमा प्रकट गरिने विचार; कुनै साहित्यिक कविता, लेखमाथि गरिने टिप्पणी, प्रतिक्रिया वा जल्दोबल्दो कुनै घटनाका बारेमा प्रकट गरिएको तात्कालिक विचार पनि टिप्पन हो । कुनै कार्यका बारेमा प्रकट गरिने सङ्क्षिप्त विचार वा प्रारम्भिक प्रतिक्रियालाई पनि टिप्पन भन्न सकिन्छ । सङ्क्षिप्तमा भन्दा कुनै पनि विषयमा गरिएको प्रतिनिधिमूलक विचारको टिपोट नै टिप्पन हो ।
समालोचनालाई आलोचना तथा समीक्षा पनि भनिन्छ । आलोचना शब्दले कुनै सिर्जना–कृति/विषय/घटनालाई चारैतिरबाट हेर्ने कामलाई बुझाउँछ । समीक्षा शब्दले कुनै पनि कामलाई सम्यक रूपले हेर्नु भन्ने अर्थ बुझाउँछ । समालोचना शब्दको अर्थ कुनै पनि रचना–विधालाई संयमित तरिकाले हेर्नु भन्ने हुन्छ । नेपालमा आलोचना र समीक्षाको तुलनामा समालोचना शब्दको प्रयोगलाई उपयुक्त मानिँदै आएको छ । समष्टिमा भन्नुपर्दा समालोचनालाई कुनै पनि कृति, सिर्जना वा विषयको न्यायिक निरुपणको अर्थमा ग्रहण गर्नु उपयुक्त हुन्छ । सौन्दर्यशास्त्री अनातोली लुनाचार्स्कीले भन्नुभएको छ, “समालोचनाले कुनै असल कुरा वा कुनै किसिमको प्रगति उत्पन्न गर्दैन भने त्यस्तो आलोचना गर्नु नै व्यर्थ छ । समालोचनाले रचनाकारलाई पर्याप्त उत्साहका साथ हेरेर मूल्याङ्कन गर्ने उद्देश्य राख्नुपर्दछ, न कि उसलाई हतोत्साहित गर्नु ।”
समालोचनाका विभिन्न प्रकार रहेका छन् । शास्त्रीय समालोचना, सैद्धान्तिक समालोचना, व्याख्यात्मक समालोचना, निर्णायात्मक समालोचना, ऐतिहासिक समालोचना, प्रभाववादी समालोचना, मनोविश्लेषणात्मक समालोचना, प्रयोगात्मक समालोचना, मार्क्सवादी समालोचना र तुलनात्मक समालोचनाजस्ता केही प्रचलित समालोचनाका प्रकार हुन् । समालोचनाका आधार र पद्धतिबारे निरन्तर बहस भइरहेको छ । तिनको आ–आफ्ना कोणबाट व्याख्या र विश्लेषण पनि भएका छन् । निश्चय पनि समालोचनात्मक पद्धति विविध आयाम, त्यसको संरचनात्मक अवस्थितिका साथ गतिशील र विकासशील प्रवाहमा छन् । यही गतिशील र विकासशील प्रवाहमा टिप्पन समालोचना एउटा नयाँ समालोचनात्मक पद्धतिको रूपमा अगाडि आएको छ । व्यापक प्रयोग भइरहेको तर बौद्धिक/प्राज्ञिक तहबाट त्यति ध्यान नदिइएको यो पद्धति समालोचनाको नवीन, सरल एवम् व्यावहारिक भएकै कारण यसको लोकप्रियताको क्षितिज पनि फराकिलो बन्दै गइरहेको छ ।
यसर्थ, कुनै पनि कृति–सिर्जना–विषय–घटनाबारे गरिएको महत्त्वपूर्ण कुराहरूको टिपोट नै टिप्पन हो, जसलाई समालोचकीय भाषामा टिप्पन समालोचना भनिन्छ । यसलाई समालोचनाको एउटा सङ्क्षिप्त तर समष्टि रूप मान्न सकिन्छ । शाब्दिक अर्थले पनि यसको लघुताकारलाई नै बुझाउँछ । व्यस्तता र प्रविधि प्रयोगको अत्यधिकताको आजको समयमा समालोचनाको विस्तृत विश्लेषण सबै स्थान र सबै समयमा सम्भव हुँदैन । कुनै पाठकद्वारा कुनै कृति/सिर्जनाको अध्ययन गरेर त्यसको मूलभावलाई सामाजिक सञ्जाल ‘फेसबुक’, ‘ट्वीटर’, मोबाइल फोन वा म्यासेन्जरलगायत माध्यममा प्रेषित गरियो भने त्यो पनि टिप्पन समालोचना हुन्छ ।
सामान्य अर्थमा टिप्पन समालोचनाको काम कृति, वस्तु वा घटनाको सङ्क्षिप्त मूल्याङ्कन गर्नु हो । यसमा समाज र सामाजिक चेतनाद्वारा सामाजिक रूपहरू सामाजिक अस्तित्वका उपज हुन् भन्ने कुरा आकर्षित हुन्छ । कुनै पनि कृतिबारे समालोचकले आ–आफ्नो क्षमताअनुसार अर्थबोध गर्दछन् । यसमा कृति र कृतिकारका बीचमा सङ्गतिको खोजी हुन्छ । जीवन एकातिर र सिर्जना अर्कोतिर हुनु विसङ्गत पक्ष हो । समालोचनाले मूल्यस्खलनको कारण र त्यसको निराकरण गरिदिनुपर्दछ । समालोचनाले वस्तुगत यथार्थ र सर्जकबीचको सम्बन्धलाई मात्र केलाउँदैन, उसले सर्जकको कमजोरीलाई खुट्याइदिनुपर्दछ । समालोचनाले सदैव सर्जकीय गतिशीलताको अपेक्षा गर्नुपर्दछ । समालोचनाले सर्जकको सिर्जनक्षमता र रुचीलाई ध्वस्त पार्ने काम गर्नुहुँदैन । असल समालोचकले असल रचना÷कृतिको अपेक्षा गरिरहेको हुन्छ । विषाक्त समालोचनाले स्रष्टा र सिर्जनाको भविष्य नै सिध्याइदिन्छ । समालोचनाको काम रचना–कृतिबारे जनमत सिर्जना गरिदिनु पनि हो । समालोचना गर्नु भनेको सम्बन्धित सिर्जना वा कृतिसित अन्तक्र्रिया गर्नु पनि हो । समालोचनाले कुनै पनि सिर्जना÷कृतिलाई समाजसित जोड्नु, उत्प्रेरकको भूमिका निर्वाह गर्नु र सौन्दर्यपरक प्रभावको खोलुवा दिनुपर्दछ ।
वर्गीय समाजमा कला–साहित्य विचारधाराको संवाहक हुन्छ । यो विश्वदृष्टिकोणको कुरा पनि हो । समालोचना आफैँमा एउटा सिर्जना पनि हो । अपष्ट विश्वदृष्टिकोण भएको समालोचकले गरेको समालोचना पनि अपष्ट नै हुन्छ । त्यसैले सुपष्ट विश्वदृष्टिकोणसहित समालोचना तयार पार्न सबैभन्दा पहिले कला–साहित्यको उद्देश्य थाहा पाउनु अनिवार्य हुन्छ । कला–साहित्यलाई विचारधारात्मक रूपअन्तर्गत राख्नु भनेको त्यसको ऐतिहासिकतालाई स्वीकार्नु पनि हो । यसर्थ, समालोचकको आफ्नो विश्वदृष्टिकोणअनुसार उसले समालोचकीय कर्म गर्दछ, गर्नुपर्दछ ।
बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यस प्रकार रहेको छः
(क) साहित्य र कला अरूका निम्ति होइन, आफ्नै मन वहलाउन (स्वान्त सुखाय) सिर्जिन्छ ।
(ख) साहित्य र कला केवल मनोरञ्जनका साधन हुन्, यिनको अरू कुनै सामाजिक उद्देश्य हुँदैन ।
(ग) जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो ।
(घ) साहित्य र कला स्वतन्त्र र पवित्र कुरा हुन्, राजनीतिजस्तो फोहोरी विषयमा मुछेर यिनको स्वतन्त्रता र पवित्रता नष्ट गर्नुहुँदैन ।
(ङ) कला कलाकै निम्ति हुन्, आदि ।
मार्क्सवादी दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यस प्रकार रहेको छः
(क) कला–साहित्य र संस्कृतिका अङ्गहरूलाई निर्विवाद रूपमा क्रान्तिको साधनको रूपमा प्रयोग÷विकास गर्नुपर्दछ ।
(ख) दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् सर्वहारावर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नुपर्दछ ।
(ग) कला–साहित्यको क्षेत्रमा ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण लागू गर्नुपर्दछ ।
(घ) कला–साहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ । कला–साहित्यलाई राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नुपर्दछ ।
(ङ) कला–साहित्यलाई सांस्कृतिक क्रान्ति (निरन्तर क्रान्ति) को भावधारासित जोड्नुपर्दछ ।
समालोचनाका विभिन्न आधार हुन्छन् । तिनै आधारमा समालोचनाकर्म गरिन्छ । कृति–रचनाका सम्बन्धमा लेखाजोखा गर्नुपर्ने थुप्रै पक्ष भए पनि टिप्पन समालोचनामा यी सबै कुरा सम्भव हुँदैन । टिप्पन समालोचना सङ्क्षिप्त तर वस्तुपरक हुने भएकोले यसमा समालोचकको कुशलता र संवेदनशीललता दुवै कुराको अपेक्षा गरिन्छ । कलासिर्जनमा संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक मूल्य हुन्छ । समालोचनाले कृति वा रचनाको केन्द्रीय विचारसँगै त्यसको प्रामाणिकता प्रस्तुत गर्नुपर्दछ । यो युगीन समस्याको समाधान दिने कुरा पनि हो । माओले साहित्य र कलाको एक मात्र स्रोत मानिसको सामाजिक जीवन हो भन्नुभएको थियो । यहाँ लु सुनको सत्यको आवाजले नै सारा संसारका जनतालाई आन्दोलित गर्न सक्तछ भन्ने भनाइ सान्दर्भिक हुन्छ । समालोचनामा कोही कसैका वैयक्तिक रुचि–अरूचि भन्ने हुनुहुँदैन ।
समालोचनाको क्षेत्रमा टिप्पन समालोचना सङ्क्षिप्त विधि हो । सङ्क्षिप्त भए पनि यसले सिङ्गो समालोचनाको सङ्केतचाहिँ गरेकै हुन्छ । समालोचनामा प्रारम्भिक रूपरेखा, चौतर्फी अवलोकन, कृतिभित्र प्रवेश, कृतिको सामाजिक भूमिकाको उद्घाटन र विषयको सारबोधजस्ता कुराहरू आउँछन् । समालोचनाले लक्षित वर्गको माग पनि गर्दछ र त्यसको केन्द्रमा रूपान्तरणको मनशाय राखेको हुन्छ । समालोचनामा निश्चित उद्देश्यका साथ निर्दिष्ट कृति वा सिर्जनाबारे आफ्नो विश्वदृष्टिकोणका आधारमा प्रारम्भिक रूपरेखा तयार पारेपछि टिपोटलाई विस्तारै ठोस विवरणतिर लैजानुपर्दछ । समालोचनाले कृतिको मूल्यका सम्बन्धमा अन्तिम निर्णय दिनुपर्दछ । समालोचनाको अन्तिम काम भनेकै कृतिको सार्वभौम मूल्यको मापन गर्नु हो ।