newskoseli.Com

सुनको मूल्य : एकै वर्षमा बढ्यो १४ हजार, नयाँ रेकर्ड बनाउने सङ्केत

नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमै करिव १३ हजार ८ सय रुपैयाँ वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष २०७५ पुस १४ मा सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपियाँ थियो । उक्त महिनामा यसको अधिकतम मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो । गत असोजमा सुनको मूल्य बढेर ७३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य भन्छन्– ‘अबको केही दिनमा नयाँ रेकर्ड बनाउने सङ्केत देखापरेको छ ।’

सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनुमा आन्तरिक कारण मात्र चाहिँ जिम्मेवार छैनन् । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसको मूल्य प्रतिऔंस करिव १ हजार २ सय अमेरिकी डलर कायम भएको थियो । सोमबार भने १ हजार ५ सय १२ डलरभन्दा बढीमा पुगेको छ ।

सुनसँगै नेपाली बजारमा डलरको मूल्यमा भएको वृद्धिका कारण पनि नेपालमा अधिक मूल्यवृद्धि हुन पुगेको हो । नेपाली बजारमा अमेरिकी डलरको मूल्य ११४ रूपैयाँ ४८ पैसा पुगेको छ । साथै, सुनको नेपाली भन्सार दर पनि बढेको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर