newskoseli.Com

शर्माको संयोजकत्वमा ‘कम्युनिस्ट एकता संयोजन समिति’

छरिएर रहेका क्रान्तिकारीहरू एकताताबद्ध हुने र क्रान्तिकारी आन्दोलनलाई अघि बढाई उत्कर्ष र निष्कर्षमा पुर्‍याउने भन्दै ‘अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति’ को गठन भएको छ । बिहीबार राजधानी (ललितपुर) मा सम्पन्न कम्युनिस्टहरुको एक भेलाले उक्त समिति गठन गरेको हो ।

भेलापछि समितिका संयोजक नारायण शर्माद्वारा जारी विज्ञप्तिमा लेखिएको छ– ‘जेठ ३ गते एक स्मरणीय दिनमा देश–विदेशका सम्पूर्ण ज्ञात–अज्ञात सहिद, बेपत्ता, घाइते–अपाङ्ग आदि इतिहासदेखि वर्तमानसम्मका सम्पूर्ण न्यायप्रेमी क्रान्तिकारी नेता–योद्धाहरुको बलिदान र योगदानलाई सच्चा सम्मान गर्ने गरी क्रान्तिकारी कम्युनिस्टहरुको एक भेला सम्पन्न गरियो । देशमा छरिएर रहेका सम्पूर्ण शोषित–पीडित सचेत जनसमुदायहरु, क्रान्तिकारी व्यक्ति–व्यक्तित्वहरु र संगठित शक्ति–समूहहरुको प्रतिनिधित्व हुने गरी सम्पन्न यो भेलाले ‘अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति’ को गठन गरेको छ । सम्पूर्ण देशभक्त, जनवादी तथा शोषित–पीडित जनता र राष्ट्रको मुक्ति र प्रगतिको ऐतिहासिक अभिभारा बोध गरी गठित दीर्घकालीन महत्त्वको यो समिति गठनको खुसीको सन्देश सार्वजनिक गर्न पाउँदा हामीलाई गौरव लागेको छ ।’

संयोजक शर्माले विज्ञप्तिमा अगाडि लेखेका छन्– ‘विभिन्न स्थान र अवस्थामा छरिएर संगठित वा स्वतन्त्र रुपमा क्रियाशील विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह, संघ–संस्था र व्यक्ति–व्यक्तित्वहरुको लामो समयको छलफल, सहकार्य र संयुक्त आन्दोलनबाट एकताताबद्ध हुने र क्रान्तिकारी आन्दोलनलाई अघि बढाई उत्कर्ष र निष्कर्षमा पुर्याउने महान् उद्देश्यले अन्ततः हामी आज एकताको ठोस र औपचारिक प्रक्रियामा प्रवेश गरेका छौं । ललितपुरको ज्वागलमा सम्पन्न सो भेलाले देशमा राष्ट्रियता, जनजीविका र जनवादका आधारभूत समस्याहरु दिनप्रतिदिन अत्यन्त संवेदनशील, जटिल र गम्भीर हुँदै जाँदा परिस्थिति एकदमै विष्फोटक र विद्रोहात्मक बनेको महसुस गर्‍यो । साथै, यो अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टी र आन्दोलनहरु विचलन, विभाजन, विघटन र विसर्जनतिर गइरहेकामा दुःख प्रकट गर्‍यो । यहाँसम्म कि, महान् जनयुद्ध र जनआन्दोलनजस्ता जनताका बलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त सीमित उपलब्धिहरु पनि गुम्ने खतरा अहिले सर्वाधिक बढेर गएको समेत अनुभूत गर्दै प्राप्त उपलब्धिहरु बचाउँदै थप उपलब्धिहरुका लागि क्रान्तिकारी आन्दोलनलाई गुणात्मक रुपमा माथि उठाएर निर्णायक बनाउनु अत्यावश्यक भएको ठहर भेलाले गर्‍यो ।’

विज्ञप्तिमा अझै अगाडि लेखिएको छ– ‘यसनिम्ति देशका स्थापित र ठूला भनिएका क्रान्तिकारी पार्टी र नेताहरुका साथै अलग–अलग रहेका साना तर सच्चा क्रान्तिकारी पार्टीहरु, समूहहरु र व्यक्ति–व्यक्तित्वहरु आ–आफ्ना आग्रह र पूर्वाग्रह, दम्भ र अहंकार, जिद्धी र हठ अनि स्वार्थ र संकीर्णताका कारण हालसम्म उल्लेखनीय रूपमा एकीकृत र ध्रुवीकृत हुन नसकिरहेको यो स्थितिमा मालेमाका मूलभूत क्रान्तिकारी सैद्धान्तिक अवधारणामा आधारित हुँदै नेपालको ठोस परिस्थितिमा मौलिक ढङ्गको क्रान्तिको बाटो तय गर्नु र अघि बढ्नु जरुरी भएको ठहर गरियो । सोही जरुरत पूरा गर्नका लागि देशमा क्रियाशील सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध पारेर क्रान्तिलाई पूर्णता दिनका लागि पूर्ण प्रतिबद्धता र कटिबद्धताका साथ लागिपर्ने निर्णय गरियो । जनता र राष्ट्रको समग्र मुक्ति र प्रगतिका निम्ति हुने यस महान् अभियानमा विनासंकोच र विनापूर्वाग्रह लामबद्ध भई आफ्नो काँधमा रहेको गहन महत्त्वको जिम्मेवारी पूरा गर्न–गराउनका लागि सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुबाहेक अर्को कुनै क्रान्तिकारी विकल्प छैन । तसर्थ, यो भेलाले हाल अलग–अलग अस्तित्वमा रहेर संगठित वा स्वतन्त्र रुपमा संघर्षरत देशका सम्पूर्ण क्रान्तिकारीहरुसँग खुला र स्पष्ट रुपमा शीघ्रातिशीघ्र छलफल गर्ने निर्णय पनि गरेको छ । मालेमाका न्यूनतम सैद्धान्तिक आधारमा एकताबद्ध हुन र देश, जनता र क्रान्तिप्रतिको अत्यावश्यक कर्तव्य पूरा गर्नका लागि गम्भीरतापूर्वक कटिबद्ध हुन सम्बन्धित सबैलाई विनम्रताका साथ अपिल गर्ने निर्णय गरेको कुरा समेत सहर्ष र सगौरव जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

विज्ञप्तिको अन्त्यमा संयोजक शर्माले लेखेका छन्– ‘यो निर्णय र अपिलमा अन्तर्निहित मर्म र महत्त्वलाई हृदयङ्गम गरी यो सन्देश आ–आफ्ना सञ्चार–सञ्जालका माध्यमहरुबाट आमजनताका दिल–दिमागमा पुग्ने र गढ्ने गरी सम्प्रेषण गरिदिनुहुन सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलगायत सम्बन्धित सबैलाई हार्दिक अनुरोध छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर