
जर्मनीको भेनस फिल्म फेस्टिबलमा बेष्ट अवार्ड जित्न सफल नेपाली चलचित्र ‘कालो पोथी’ सुदुरपश्चिमको कर्णाली सेरोफेरोको मुगुमा रहेर विभिन्न पात्र र परिवेशका माध्ययमबाट सजीव रूपमा प्रस्तुत गरिएको फिल्म हो ।
मीन भाम निर्देशित याे चलचित्र माओवादी जनयुद्ध चलिरहेका बेला (२०५९ अासपास) संकटकालका बेलाको बाल मनोविज्ञान र सामाजिक सन्दर्भमा आधारित छ। फिल्ममा मुख्य बालपात्र खड्गराज नेपाली (प्रकाश), शुक्रराज रोकाय (किरण), बेनिशा हमाल, हंश खड्का, जितबहादुर मल्ल आदिको जीवन्त अभिनय देख्न पाइन्छ।
प्रकाशकी दिदीको पेवा सेतो पोथी लुकाएकाे दृश्यबाट कथा सुरू हुन्छ । दिदीले सेतो पोथी प्रकाशलाई नै दिएपछि कुखुराले अन्डा पार्न थाल्ने र उसले उक्त पोथीबाट दुई जनाको पढाइ पूरा गर्ने सुन्दर सपना साँचेर पोथीको नाम हिरोइन करिश्माको नामबाट ‘करिश्मा’ नै राख्छ । प्रकाशको परिवारले दलित एवम् निम्न वर्गको प्रतिनिधित्व गर्दछ ।

प्रकाशकी दिदी माओवादी छापामार (क. ज्वाला) बन्न पुगेकी हुन्छे र उनीहरूको परिवार प्रकाशको घरमा काम गरेर गुजारा चलाउँदछन् । यस्तै किरण मुखिया खलकको उच्च वर्गको प्रतिनिधित्व गर्दछ तर पनि जात र वर्गले यी दुई बालसखामा फाटो ल्याउन सक्दैन ।
प्रकाशका बाबुले सेतो पोथी छल गरेर तेन्जिङलाई बेचेको बाटामा थाहा पाउँदा पनि पैसाकाे अभावले फिर्ता ल्याउन नसक्नु र प्रकाशका बाबुले पैसा नदिएपछि जसरी पनि फिर्ता लिने अठोट यी दुईमा हुन्छ । किरणले हजुरबाको पैसा चोरेरै पनि प्रकाशलाई साथ दिन्छ तर अपुग पैसामा फिर्ता नदिने तेन्जिङको अडानपछि उनीहरूले पोथी चोरेर फिर्ता ल्याउँछन् ।
पोथीलाई कालो रङ लगाएर नचिन्ने बनाउँदा पनि तेन्जिङ प्रकाशकै घरमा आएर फिर्ता लगेर टाढा छोरीको घरमा पुर्याउँदा समेत त्यो पोथी पाउने आशा उनीहरूले मार्दैनन् । जनयुद्धकालमा घरमा बस्ने अवस्था नभएपछि सदरमुकाम हिॅडेको किरणले समेत पोथी खोज्न अन्तिमसम्म साथ दिन्छ र अन्ततः उनीहरू सफल पनि हुन्छन् । यी दुई बीचमा विभिन्न समयमा आउने सम्बन्धको सुमधुरता र उतारचढावले बालशुलभ क्रिया–प्रतिक्रियालाई फिल्मले रोचक रूपमा प्रस्तुत गरेको छ।
कथामा पात्रका सपना सरल हुन्छन् । कर्णालीकै भाषा, संस्कार, कला, तिब्बती संस्कार तथा किरण र प्रकाशको पहिलो तर जीवन्त अभिनयका साथ जनयुद्धकालीन समयमा मुगु गमगढी क्षेत्रका गतिविधिलाई कर्णालीकै खस भाषामा र नेपाली भाषाको प्रयोगमा पनि खस लवजकै प्रयोगमा विशिष्ट ढंगले प्रस्तुत गरिएको छ ।
कर्णालीको विकटतामा सहरी दृष्यको प्रवेश पाइँदैन । तत्कालीन समयमा रेडियो नेपालबाट मात्र प्रसारण हुने समाचार, देउडाको आवाज, लवज र अभिनयमा रहेको चलचित्रमा दुई बालकको बालसुलभ उदारचढावले मसलेदार नेपाली र विदेशी चलचित्रले भन्दा पनि दर्शकलार्इ नेपाली शैलीमै मुस्काउन र स्तब्ध पार्न सफलता पाएकाे छ।
यसका सबल पक्ष कर्णाली हुँदै समग्र नेपाललाई विश्वसामु चिनाउनु त छँदैछ, छायांकनमा साना प्राविधिक पक्षमा समेत राम्ररी ध्यान दिनु र उक्त परिवेशलाई मिहीन ढंगले कतैको कपी नगरी शुद्ध नेपाली फिल्म बनाउनु पनि हो ।
चलचित्रका कमजोर पक्षमा मध्यान्तर अगाडि सेतो पोथीलाई कालो रङ लगाएर कालो बनाउँदा शीर्षकको सार्थकता अन्त्य भएजस्तो लाग्छ । कतिपय दृश्य कथाबाट भन्दा पनि सिम्बाेलिक ढंगबाट आफैंले बुझ्नुपर्ने हुँदा प्रवेश पाएका कतिपय दृश्य अस्वाभाविक लाग्छन् ।
‘साथी’ चलचित्र हेरेर बसेका गाउँलेको भीडबाट उजेली र उसको बिहे हुन लागेको ‘श्रीमान्’ बाहिर आएर दिएको चुम्बन र चलचित्रको अन्त्यतिर भीडन्तबाट बच्न दुई बालकले लाशको रगत अनुहारमा दलेर पल्टिएपछि एकैचोटी नदीमा नग्न रूपमा उभिएर मुख मात्र धोएको दृश्य अलि अस्वाभाविक र चलचित्र चलाउने मसलाको प्रयोग मात्रै जस्तो लाग्छ ।
समग्रमा यस फिल्मलार्इ दुर्गम परिवेशलार्इ सजीव ढंगले झल्काउन सफल एवम् शीर्षकले बिकाउ फिल्मभन्दा पनि नेपालीपन झल्कने, साबिकका चलचित्रभन्दा फरक, नेपाली मौलिकताले भरिपूर्ण अभिनयमा कर्णालीकाे अर्ग्यानिक स्वाद पस्कन सफल चलचित्र मान्न सकिन्छ।