newskoseli.Com

एसएलसीको नतिजा : ब्लडग्रुप हो कि भूकम्पको रेक्टर ?

‘ए प्लस अाएछ ठूलाबा !’

‘अबको एसएलसी पनि ब्लडग्रुप छुट्याएजस्तो पो भएछ त है !’

बहिनीको एसएलसी नतिजा आएपछि जमानामा म्याट्रिक पास ठूलाबाले गाउँबाट गरेको फोन सम्पर्कमा जन्ममिति र प्रवेशपत्रमा रहेकाे सिम्बाेल नम्बर मागें र केहीबेर घोरिएँ अनि बल्ल भन्नसकें । त्यसपछि ठूलाबाले दिएको जवाफ हाँसउठ्दो लाग्यो मलाई ।

“बाबु ! भूकम्पको रेक्टरजस्तो के भन्या  हो वान प्वाइन्ट सिक्स ?’

‘यो चैं ग्रेड प्वाइन्ट एभरेज (जीपीए) भन्छन्  ठूलाबा । यो वर्षदेखि पहिलेजस्तो नम्बर आउँदैन, ए, बी, सी, डी, र्इ र यस्तै नम्बर आउछ अब ।’

तल्लो गाउँका केदार काकाले अन्कनाउँदै भन्नुभो– ‘नम्बर नआउने भए त के मज्जा भो र एसएलसी दिएको नि !’

काकालाई सम्झाएँ– ‘यो नयाँ खालको भयो यसपालिदेखि । भाइले कलेज पढ्न पाउँछ, पहिलेको अनुसार थर्ड डिभिजनलार्इ अहिले डी प्लस भन्छन् ।’

काकाको छोरो, सन्देश भाइ अहिले अचाक्ली चिन्ता गर्छ रे ! पहिले नपढेकामा र अब आफूले चाहेको विषय पढ्न नपाउने थाहा पाएकोमा ।

यस वर्षको एसएलसी यता आफैंमा अन्तर्राष्ट्रिय स्तरको र नौलो थियो नै । यो साल यस्तै द्विविधा भयो आम जनमानस, विद्यार्थी, शिक्षक, अभिभावकमा ।

रक्तसमूह विभाजन हो कि भुइँचालो ? राम्रो ग्रेड ल्याउनेले दुनियाँ हल्लाए, कम आउनेहरू चाहिँ आफैं हल्लिए । नतिजा सोध्नेलाई कसैले नि नहार्ने, सबैले पनि नजित्ने खालको एसएलसी नतिजाका कारण स्पस्ट भन्नै पाइएन– पास र फेल भयौ या यो डिभिजन ल्यायौ भनेर।

एसएलसी अगाडि वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा नवल पञ्जियारको स्मरणशक्ति सम्बन्धी सेमिनारमा भेटिएका थिए ३ शिक्षक–शिक्षिका । सरकारीबाट सुष्मा र कृष्ण तथा बोर्डिङबाट सरगम सर । त्यतिबेला उनीहरू भन्थे– नतिजा ग्रेडमा अाउने भएपछि र एसएलसी योग्यता परीक्षा हटाइएपछि विद्यार्थीमा पढ्ने मनै छैन। हामीले पनि पढ मात्र भन्ने भइयो । कसरी पढ्ने अनि कसरी सम्झने गणित र विज्ञानका सूत्रहरू ?

नौलो केही दिन सकिएन, यता केही छ कि भनेर आएका ! ‘हामीले पनि यो चाहेका छौं कि घोकन्ते शिक्षा र सिम्कानाले सोठ्याएर पढाइने पढाइको अन्त्य’– उनीहरूको भनाइ थियो ।

त्यसताका बहुमत विद्यार्थीमा पढाइप्रतिको आकर्षणकै अभावका कारण ‘शिक्षा जीवनको ज्योति’ र त्यो ज्योति प्रदान गर्ने सामर्थ्य बोकेका शिक्षकले  ट्युसन सेन्टर र विद्यालयमा ज्योति भएका आँखा नै गुम्नेगरी निर्मम यातना दिनु भनेको शिक्षकले विद्यार्थी आकर्षण गर्ने मामलामा प्रमाणित गरेको आफ्नै असफलता हो । विद्यार्थीमा रहेको सीधै पास भइनुपर्छ भन्ने मानसिकताले पनि यसमा काम गरेको छ । यसबारे पर्याप्त जानकारीको अभाव अनि सतही बुझाइले अप्ठ्यारो पारेको हो ।

पुरानै पाठ्यक्रम र शैलीको पढाइ, अपर्याप्त पूर्वाधार र अलमलपूर्ण बुझाइबीच सुरू गरिएको अन्तर्राष्ट्रिय शैलीको एसएलसी ग्रेडिङ प्रणालीको नतिजा वास्तवमा उच्च शिक्षाको ढोका खोल्ने र अन्तर्राष्ट्रिय समुदायसँग प्रतिस्पर्धा गर्ने माध्ययम हुनुपर्दछ । सम्पूर्ण विद्यार्थीलार्इ पास गराएर सर्टिफिकेट दिँदै ऋण लिने व्यवस्था मात्रै गरिने हो भने यसले  इराक, काबुल र खाडीमा जिन्दगीको बाध्यकारी अभिशाप भोग्नुको विकल्प रहँदैन । जानाजान वा भूलको शिकार भएर नयाँ पुस्ताले यो अवस्था भोग्नुपर्ने अवस्था नआओस् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर