newskoseli.Com

गङ्गालाल सहादतअघिको त्यो मार्मिक क्षण

हाम्रा जेठा दाइ गङ्गालालको निर्भीकता सम्झेर म आजसम्म पनि आश्चर्यचकित छु । उहाँमा रत्तिभर पनि डर–त्रासको भावना छँदै थिएन र उहाँमा त्यो अवस्था कहिल्यै आएन । फाँसी दिनुभन्दा ठीक अघिल्लो दिन त्रिपुरेश्वरस्थित जगन्नाथ मन्दिर अगाडि उहाँलाई बाँधेर राखिएको थियो । त्यो अवस्थामा उहाँलाई भेट्न पुगेको थिएँ म ।

त्यसबेला म केवल ६ वर्षको बालकै थिएँ, उति धेरै कुराकानी मलाई थाहा हुने कुरै भएन । तैपनि दाजु गङ्गालालका आँखा र उहाँको अनुहारमा देखिएको आत्मविश्वास र अदम्य साहसको भने मैले राम्रैसँग अनुभूति गरेको थिएँ ।

दाजु गङ्गालाललाई बुबा भक्तलालले कहिल्यै गाली गर्नु परेन । के–कसो गर्नु हुन्छ र के–कसो गर्नु हुँदैन भन्ने ज्ञान र विवेक उहाँमा किशोरावस्थादेखि नै विकसित भइसकेको थियो । उहाँले बबा–आमाका साथै अरु दाइ–दिदी र परिवारका हामी सवै सदस्यहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो ।

त्यस दिन हटकेसमा भात लिएर माइला दाजु पुष्पलाल र म गङ्गालाललाई भेट्न पुगेका थियौं । त्यस दिन गङ्गालालले उहाँका माइला भाइ अर्थात् मेरा अर्का दाजु पुष्पलालसँग मसिनो स्वरमा केहीबेर बातचित गर्नुभयो । माइला दाइले जेठा दाइको खुट्टा समातेर उहाँका कुरा सुन्दै आफू पनि केही बोलिरहनु भएको थियो ।

त्यहाँ के कुरा भयो भन्ने त्यसबेला मैले भेऊ पाइँन । पछि पुष्पलालले भनेपछि मात्र थाहा भयो । फाँसी दिइनुभन्दा अघिल्लो दिन दाजु गङ्गालालले भाइ पुष्पलाललाई भनेछन्– ‘मैले बालेको प्रजातन्त्रको दियोलाई निभ्न तैंले नदिएस् !’

बिक्रम सम्बत् १९९७, माघ १४ गतेको रात बितिसकेपछि बिहान सबेरै, भालेको डाँकपछि नरशमशेरका आततायीहरूले हाम्रा जेठा दाजु गङ्गालालको प्राण हरण गरिछाडे । कुखुरा बासिसकेपछि नयाँ दिन सुरु भइसक्ने भएकाले गङ्गालालको सहात मिति माघ १५ लाई मान्ने गरिएको छ ।

यसरी अन्ततः गङ्गालालले नेपाल र नेपालीको मुक्ति, उन्नति र भलाइका खातिर आफ्नो जीवनको आहुति दिनुभयो । उहाँलाई भेट्दा म केटाकेटी उमेरकै भए तापनि परिवारको सदस्य र अझ सहोदर भाइ नै हुनको नाताले ममा गङ्गालालसँगका धेरै नै स्मृति र अनुभूति छन् ।

निरङ्कुश शासकद्वारा पक्राउ परिसकेको र अब आफू मारिने पक्कापक्की भइसकेको अवस्थामा समेत दाइ गङ्गालालका आँखामा अतुलनीय तेज देखिन्थ्यो । म दृढनिश्चयका साथ भन्न सक्दछु कि आफ्नो मृत्युप्रति उहाँमा रत्तिभर भय र सन्त्रास थिएन । उहाँलाई आफू ढिलोचाँडो पक्राउ पर्छु र त्यसपछिको सजाय भनेकै प्राणदण्ड हुन्छ भन्ने कुरा पहिल्यै थाहा थियो । उहाँले आफू मर्नुअघि जन्मिएको दुईदिने छोराको अनुहार हेर्न समेत खोज्नु भएन ।

सहिद गंगालाल श्रेष्ठका कान्छा भाइ विजयलाल श्रेष्ठसँग
केदारनाथ गौतमविदुरप्रसाद ढुङ्गेलले गरेको कुराकानीमा आधारित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर