newskoseli.Com

असारे पन्ध्रको महत्त्व बढ्दो

परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ । असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास रहिआएको छ । यो समय प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै पञ्चे बाजा बजाएर परम्परागत गीत सवाइ गाउने पुरानो चलन छ । असारे गीत गाउँदै युवा युवतीहरु आफ्ना दौँतरीलाई मनका कुरा भन्ने गर्छन त्यसैगरी रोपार र वाउसे, हली बीच दोहोरी गाउने चलन पनि छ ।

नेपालीको पूर्वी क्षेत्रमा गाउने असारे गीत
रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा

नेपालको कर्णाली भेगमा गाउने असारे गीत

कठै छुपु छुपु रोपी ल्याऔँ सिउँती सेरा अ
बडिमाईका थान चढेइ मोती मेराइ अ
कठै बाट डिलबाट भिता काट्यो तरिस
बाँची रहे हली बाउसे लाखै बरिष

काठमाडौ उपत्यकामा गाउने असारे गीत ।

सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
तेन्जिङ शेर्पा हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट।
काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
हरेराम राम हिउँदको घाम आधा सुक्यो मनैमा

काठमाडौँ लगायत नेपालका सबै ठाउँमा अहिले रोपाइका चटारो छ । त्यसै अवसरमा विभिन्न राजनैतिक कर्मी, कलाकार तथा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरुपनि धान दिवस मनाउन काठमाडाैँ तथा काठमाडौँका नजिक रहेका जिल्ला गएर किसानलार्इ हाैसला दिने चलनको सुरुवात भएको छ । शहरी क्षेत्रमा धान दिवस तामझामका साथ मनाउने प्रचलन फैलँदै आएको छ ।

गाउँमा असारे पन्ध्रलार्इ धान राेप्ने र विषेश गरेर दहि चिउराका साथै खिर खाने चलन पनि छ । गाउँमा कसैको घरमा दुहुना भएन भने त्यस घरमा दुहुना हुने छिमेकीले दहि र दूध दिँदै सबैले मिलेर असार १५  मनाउने गरिन्छ। यो समयमा खेतीको चटारो पर्ने महिना हो । बाली लगाउने समय भएकाले असार महिना किसानकाे मुठी खाएर मुरी उब्जाउने समयको रुपमा लिइन्छ ।

 

बडाहरे, ९ खोटाङ

हालहालः मैतिदेवी, काठमाडौँ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर