कोशी बाँधको विषयलाई लिएर भारतीय राज्य बिहार सरकारले सुनसरी जिल्ला प्रशासनलाई गरेको भनिएको पत्राचारबारे नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चन्द माओवादीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्– ‘१३ जुलाई २०१६ मा भारतको बिहार राज्यका तर्फबाट नेपालको सुनसरी जिल्ला प्रशासनलाई कोशी बाँधमाथि नेपाली माओवादी, कास्मिरी मुश्लिम संगठनहरु लस्करे तोइबा, जइसे मोहमदहरुबाट बिष्फोटको खतरा भएकाले कडा सुरक्षा माग गर्दै पत्र पठाइएको जानकारी सञ्चार माध्यमहरुबाट खुल्न आयो । बिहार राज्यले पठाएको पत्र सञ्चार क्षेत्रबाट बाहिर आएपछि नेपाली राजनीतिमा गम्भीर तरंग पैदा हुन पुगेको छ । सो पत्रमा उठाइएका विषयले हाम्रो पार्टीको ध्यान पनि गम्भीर ढंगले आकर्षित भएको छ ।’
‘प्रथमतः भारत सरकारले कोशी बाँधबारे उठाएको सुरक्षा प्रश्न वर्तमान नेपाली परिवेशमा जसरी उठाउन खोजिएको छ, त्यो स्तरमा खतरा छैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । साथै, भारतले पनि त्यो कोणबाट उठाएको बुझिँदैन । बरु भारतले सन् १९६५ मा नेपालको संक्रमणकालिन राजनीतिको फाइदा उठाउँदै नेपालमाथि अन्यायपूर्ण ढंगले लादेको सम्झौता थियो । त्यसको विरोध नेपाली जनताले त्यतिबेलैदेखि निरन्तर गर्दै आएका छन् । त्यति मात्र होइन, भारतले नेपालमाथि लादेका गण्डक, कालापानी, लिपुलेक, माथिल्लो कर्णाली, अरुण–३, कोशी उच्च बाँधको पनि पूरै विरोध गर्दै आएका छन् भन्ने राम्रोसंँग बुझेको छ’, यस सन्दर्भमा नेपालको वस्तुस्थिति र नेकपा माओवादीको धारणा प्रस्ट्याउँदै नेता कञ्चनले लेखेका छन्– यस सन्दर्भमा नेपालको वस्तुस्थिति र नेकपा माओवादीको धारणा प्रस्ट्याउँदै नेता कञ्चनले लेखेका छन्– ‘दोस्रो, कुरा भारतले नेपालमाथि जसरी असमान सन्धि–सम्झौता लादेर आफ्नो उपनिवेश बनाउन चाहन्छ । त्यसलाई नेपालका स्वाभिमानी नागरिकले एक रत्ति पनि सहन सक्दैनन् । नेपालीको यो विचारलाई भारतले राम्रोसँग बुझेपछि राष्ट्रिय स्वाधिनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायाँमुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पक्डेको सजिलै देख्न सकिन्छ ।’
नेता कञ्चनले अगाडि प्रष्ट्याउन खोजेका छन्– ‘तेस्रो कुरा, भारतीय पुँजीपति वर्गको जनघाती सत्ताविरुद्ध भारतीय श्रमिक जनताले भाकपा (माओवादी) पार्टीको नेतृत्वमा ४० वर्षदेखि नयाँ जनवादी क्रान्ति सञ्चालन गर्दै आएका छन् । भारतीय जनताको मुक्तिआन्दोलनलाई आतंकवादीको संज्ञा दिँदै बर्बर दमन गर्दै आएको भारतीय सत्तासिन सामन्त तथा दलाल पुँजीपति वर्गले नेपालको माओवादी आन्दोलनलाई समेत अन्तर्राष्ट्रिय आतंकवादीको बहाना बनाएर नेपालको प्रतिक्रियावादी राज्यलाई उक्साएर दमन गर्ने तानाबुना तयार गर्दैछ भन्ने प्रष्ट हुन्छ ।
चौथो कुरा, नेपालको माओवादी आन्दोलन भारतीय शासक वर्गले प्रचार गरेजस्तो नहर र बिजुलीको बाँध तोड्नेजस्तो अति अनावश्यक संघर्षमा नभई सिंगो नेपालको प्रतिक्रियावादी दलाल पुँजीवादी संसदीय व्यवस्थालाई नै जरैबाट उखेलेर फाल्ने र नेपालमा नेपाली जनताको नयाँ जनवादी, वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने मानवमुक्तिको महान् उद्देश्यमा समर्पित भएर लागिरहेको प्रष्ट छ । यो एकदमै स्पष्ट छ कि कोशी नेपालको नदी हो । कोशी सम्झौता भारतीय विस्तारवादले नेपालमाथि लादेको घोर असमान सम्झौता हो । यसलाई खारेज गरेर दुवै देशको हित हुनेगरी सम्झौता गरिनु पर्दछ । तर, यसो भन्नुको अर्थ कोशी बाँध भत्काउनेजस्तो हास्यास्पद कुरा माओवादीले सोच्दैनन् भन्ने वास्तविकता सबैले बुझ्नु जरुरी छ ।
पाँचौं कुरा, भारतीय शासकवर्गले सुनियोजित प्रकारले हँुदै नभएको झुटो (गोयबल्स शैलीको) प्रचार गरेर जसरी घटिया र भयानक षड्यन्त्र नेपालको माओवादी, सारतः विश्व माओवादी क्रान्तिकारीका विरुद्धमा रच्न खोजेको छ, त्यो भारतकै लागि आत्मघाती सावित हुनेछ । यसबाट भारतले नेपालको माओवादी आन्दोलनलाई दबावमा राख्ने या दमन गर्ने जुन सोचाइ बनाएको छ, त्यसले नेपालको माओवादी आन्दोलन, नेपाली जनताको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अलिकति पनि विचलित पार्न नसक्ने कुरा स्पष्ट पार्न चाहन्छौं ।
छैटौं कुरा, काश्मिरका मुश्लिम, पञ्जावदेखि मणिपुरसम्मका साथै कन्याकुमारीदेखि उत्तरखण्डसम्मको समस्या भारतीय शासकवर्गका कारण पैदा भएका हुन् । ती समस्या भनेका साम्राज्यवाद तथा विस्तारवादले आफ्नो देशभित्रका विभिन्न जाति, क्षेत्र, धर्म र वर्णका जनतामाथि थोपर्दै आएका दमन र त्यसका विरुद्ध जनताको प्रतिरोधले पैदा गरेका परिणाम हुन् भन्ने तथ्य सबैले बुझ्नु जरुरी छ । जहाँसम्म लस्करे तोइबा, जय–से–मोहम्मदहरुको सवाल छ, ती संगठनको नेपालसँग न कुनै सरोकार छ न त ती संगठनसंँग माओवादी आन्दोलनको कुनै सम्बन्ध नै हुन सक्छ । यो प्रचार भारतीय शासकवर्गले गर्नु भनेको नेपालमा अन्तर्राष्ट्रिय पुँजीपतिवर्गले श्रमिक जनताका मुक्तिआन्दोलन र क्रान्तिहरुमाथि अनेकौं घटनाहरु घटाउने र दमन गर्ने चालबाजी तयार गर्नु मात्र हो । यसलाई सबै जनवादी शक्तिहरुले मिहीन प्रकारले अवलोकन गर्नु जरुरी छ । साथै, एउटा देशको सरकारले अर्को देशको कुनै राजनीतिक पार्टीमाथि आक्षेपपूर्ण हमला गर्नु र त्यस देशको प्रहरीलगायत सुरक्षा निकायमाथि निगरानीले राख्नु सारतः नेपालको सार्वभौमिकमाथि हमला गर्ने कुत्सित नियत अभिव्यक्त हुन्छ ।
अतः केही समययता भारतीय सञ्चार माध्यमहरुले हाम्रो पार्टीको नाम समेत जोडेर साथै नेपालको माओवादी आन्दोलनलाई मुछेर यस्ता असामान्य, अस्वाभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको छ, त्यसलाई तुरुन्त रोक्न चेतावनी दिन चाहन्छौं । भारतले बुझ्नु पर्दछ– पर्दाभित्र रचिने षड्यन्त्र, जालझेल र धाकधम्कीबाट विस्तारवादी हैकम चल्नेवाला छैन । नेपाली जनताले दशकौंदेखि सञ्चालन गर्दै आएका स्वाधिनताका संघर्षका साथै नेपालमा जनताको सत्ता स्थापना गर्ने अभियानलाई कुनै प्रभाव पर्ने छैन । बरु भारतले नै अरु ठूला प्रतिरोधहरुको सामना गर्नु पर्नेछ । साथै, नेपाली स्वाभिमानी जनताहरु साम्राज्यवादी र विस्तारवादीहरुले सञ्चालन गरेको विस्तारवादी अतिक्रमणकारी प्रचाबाट एक रत्ति पनि भ्रममा नपरी उनीहरुसंँग केही दलालहरुले गरेजस्तो आत्मसमर्पण गरेर होइन, आफ्नो अधिकारका लागि चट्टानजस्तो दृृढ बनेर मात्र स्वाधिनताको उच्च चुचुरो चुम्न सकिन्छ भन्ने बोध गर्नु जरुरी छ ।’