नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका–संसदको तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल फेरि दाेस्राे पटक मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हाल्न आइपुगेका छन् ।
राजनीति सम्भावनाको खेल हो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट बाहिरिएपछि संसदको पहिलो ठूलो दल कांग्रेसलगायतका पार्टीको समर्थनमा संविधान कार्यान्वयन, शान्ति प्रक्रियालाई पूर्णता, भूकम्पपछिको पुनर्निर्माण, संविधान निर्माण प्रक्रिया लगायतका विषयमा असन्तुष्टि दर्ज गर्दै आन्दोलनमा रहेका मधेसकेन्द्रित दल लगायतका विशिष्ठ कार्यभार पूरा गर्ने लक्ष्यसहित अध्यक्ष दाहाल उनको राजनीतिक जीवनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालको जन्म विसं २०११ मङ्सिर २६ गते कास्कीको ढिकुरपोखरी– २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा दाहालले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिए ।
विसं २०२६ मा चितवनको नारायणी विद्यामन्दिर मावि शिवनगरबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी दाहालले २०२७–२०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आर्इएस्सी पूरा गरे । २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बीएस्सी गरी एमपीएको समेत अध्ययन गरेका दाहाल आफूलाई प्रचण्डका नाममा चिनाउन चाहन्छन् ।
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक एजेन्डा लगायत नयाँ संविधानले स्थापित गरेका मूल्य र मान्यतालाई दसवर्षे जनयुद्ध र जनआन्दोलनको माध्यमबाट स्थापित गराउन प्रमुख भूमिका खेलेका दाहाल मुलुकलाई अगाडि बढाउन जोखिम समेत मोल्नुपर्छ भनेर आँट गर्ने नेता हुन् ।
कक्षा १० मा पढ्दा पिताले राखिदिएको छविलाल हुँदै पुष्पकमल बनेका दाहाल राजनीतिका खुला मोर्चा हुन् वा भूमिगतकालमा क्रमशः कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामबाट परिचित हुन पुगे ।
दसवर्षे जनयुद्धलाई शान्ति प्रक्रियाको माध्यमबाट सहज रुपमा अवतरण गराएका दाहाल कुनै समय स्वदेशी तथा विदेशी एवम् स्वयम् पार्टी कार्यकर्तालाई समेत एउटा मिथकजस्तो नाम थियो । धेरै मान्छेलाई पत्यार नलाग्ने त्यही मान्छे बुधबार दोस्रो पटक मुलुकको कार्यकारी प्रमुख बन्न सफल भएको छ ।
वि.सं. २०१९ मा ढिकुरपोखरी– २ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँ सरेका दाहालको २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका ३ छोरी र १ छोरा छन् ।
दाहालले नारायणी विद्यामन्दिर मावि शिवनगर, डण्डा मावि नवलपरासी र भीमोदय मावि आरुघाट गोरखामा २०३३ देखि २०३५ सालसम्म अध्यापन गरी २०३२ सालमा युएसएडमा समेत केही समय सेवा समेत गरेका थिए ।
वि.सं. २०२८ मा नेपाल कम्युनिस्ट पार्टीको पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरी राजनीतिक जीवन प्रारम्भ गरेका दाहालले रामबहादुर थापा, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
अध्यक्ष दाहाल वि.सं. २०३४ मा तत्कालीन चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रुपमा क्रियाशील भए । उनी २०३६ सालमा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा पार्टीको क्षेत्रीय ब्युरो सदस्य एवम् अखिल नेपाल युवक सङ्घको महासचिव भई २०४० सालमा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं. २०४१ मा नेकपा (मशाल) को पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई २०४२ मा पोलिटब्युरो सदस्य भएका दाहाल सेक्टर काण्डपछि पार्टीको महामन्त्री चयन भए ।
तत्कालीन अध्यक्ष मोहन वैद्यको सिफारिसमा अध्यक्ष दाहाल पार्टीको कार्यकारी पदमा निर्वाचित भएका थिए । २०४६ पछि पार्टीको सर्वोच्च निकायमा रहेर काम गर्दै आएका अध्यक्ष दाहालले २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को नाम परिवर्तन गरी नेकपा (माओवादी) स्थापना गरेर २०५२ फागुन १ देखि सशस्त्र जनयुद्धको नेतृत्व गरे ।
संयोग पनि कस्तो परेको छ भने २०५२ मा माग राख्दै सिंहदरबार पुगेको तत्कालीन जनमोर्चा नेपालका नेता प्रधानमन्त्रीमा र त्यसबेला समेत प्रधानमन्त्री नै रहेका शेरबहादुर देउवा उनको समर्थक बन्न पुगेका छन् । इतिहासले यस्ता अवसर नेपाली राजनीतिलाई जुटाइदिएको छ, जुन एउटा नयाँ संयाेग पनि हो नेपाली इतिहासका लागि ।
वि.सं. २०५७ मा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) का अध्यक्ष बनेका दाहाल, वि.सं. २०५८ मा तत्कालीन माओवादी सेनाको सर्वोच्च कमाण्डर समेत बने । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कास्कीको सिकलेसबाट हेलिकोप्टरमा राखेर बालुवाटार ल्याएपछि अध्यक्ष दाहाल २०६३ असार २ गते खुला राजनीतिक जीवनमा आएका हुन् ।
वि.सं. २०६९ मा हेटौंडामा सम्पन्न महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित, २०७० सालमा विराटनगरमा सम्पन्न एकता महाधिवेशनबाट पुनः अध्यक्ष र जेठमा विभिन्न दसवटा माओवादी घटकबीच भएको एकतापछि पनि उनी नै नेकपा (माओवादी केन्द्र) को अध्यक्षका रुपमा रहँदै आएका छन् ।
मुलुकको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि दोस्रो पटक कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने केही भाग्यमानी नेतामध्ये अध्यक्ष दाहाल एक हुन् । झलनाथ खनाल, माधव नेपाल, हाल माओवादी परित्याग गरेका डा. बाबुराम भट्टराई र केपी शर्मा ओलीपछि अध्यक्ष दाहाल मात्रै दोस्रोपटक कार्यकारी प्रमुखको रुपमा सिंहदरबारको कुर्सीमा अासिन भएका हुन् ।
वि.सं. २०६४ को पहिलो संविधानसभामा काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका अध्यक्ष दाहाल २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा भने सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए ।
अध्यक्ष दाहालको नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३) संस्कृति, कला र सौन्दर्यचिन्तन, प्रचण्डका छानिएका रचना (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचना लगायतका पुस्तक प्रकाशित छन् ।
संविधानसभाको पहिलो निर्वाचनपछि झन्डै बहुमतमा रहेको नेकपा (माओवादी) र त्यसकाे अध्यक्षका रुमपा प्रधामनन्त्री बनेका दाहाल विवादास्पद प्रधानसेनापति रुक्माङ्गद कटवाललाई गरिएको कारबाही तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले फिर्ता लिएपछि नैतिकताको आधारमा राजीनामा दिएर कार्यकालको ९ महिनामै सत्ताबाट फिर्ता भएका थिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति र त्यसैको आलोकमा निर्माण भएको वर्तमान गठबन्धनले पालैपालो ९–९ महिना सरकार चलाउने र मुलुकका सामु रहेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । तर, नवनिर्वाचित प्रधानमन्त्री दाहालका सामु अवसर र चुनौती दुवै छन् ।
अघिल्लो सरकारले सुरु गरेका केही राम्रा कामलाई अगाडि बढाउँदै मुलुकलाई थप गति दिनु उनको पहिलो कर्तव्य हुनेछ । २०७४ माघअगावै स्थानीय, प्रान्तीय र केन्द्रीय ३ वटा निर्वाचन गर्दै संविधानको सहज कार्यान्वयन गर्नेतर्फ अघि बढ्नु सरकार र त्यसको नेताको हैसियतमा नवनिर्वाचित प्रधानमन्त्रीको पहिलो कर्तव्य हुनेछ । यसो गर्न सके सरकार र त्यसको नेताको हैसियतमा नवनिर्वाचित प्रधानमन्त्री दाहालको नाम नेपाली इतिहासमा स्वर्ण अक्षरमा लेखिनेछ ।
त्यसका लागि आजैदेखि प्रमुख प्रतिपक्षी बन्न पुगेको नेकपा (एमाले) लगायतका दलसँग सरकारको सम्बन्ध र त्यसले पार्ने प्रभावले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।