माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै स्वदेश–विदेशबाट बधार्इ तथा शुभकामनाको ओइरो लाग्न थालेको छ । बधार्इ र शुभकामना मात्र होइन, देशभित्र र बाहिरबाट नवनिर्वाचित प्रधानमन्त्रीप्रति आलोचना, सुझाव र अपेक्षासहितका थरीथरी प्रतिक्रिया आइरहेका छन् ।
दाहाल प्रधानमन्त्री भएलगत्तै जनयुद्धकालमा दाहाललार्इ आस्था र विश्वासको धरोहर मानेर ज्यानका बाजी लगाउँदै लडेका जनमुक्ति सेनाका एक सिपाहीले जनयुद्धका क्रममा आफ्नो खुट्टामा लागेको ठूलो तथा गहिरो चोटको खतयुक्त तस्बिरसहित सामाजिक सञ्जालमा यसरी भावना पोखेका छन्– ‘राम्रोको आशा त के गर्नु छ र तपार्इंबाट ! नराम्रो नगर्नु । तपार्इंलाइ त्यो स्थानमा पुर्याउन त होइन तर पनि तपाईं त्यहाँ पुग्नु भयो, त्यसका लागि मेरो शरीरको पनि रगत बगेको छ । तर म मेरै बाटोमा छु । आशा, विश्वास पनि छैन अब, गुनासो गरेर पनि केही हुने छैन ।’
अलिअलि विरोध, अलिअलि गुनासो, थोरथोरै अपेक्षा र हल्का व्यङ्ग्यसहित प्रधानमन्त्री दाहाललार्इ सुझाव दिने यी व्यक्ति अहिले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत रहेका सल्यानका माओवादी युवानेता असल खड्का क्षेत्री हुन् ।
जनयुद्धकालमा जनमुक्ति सेनामा काम गरेका, त्यसपछि वार्इसीएलको केन्द्रीय पदाधिकारी रहेका र पार्टीको सल्यान जिल्ला नेतृत्व सम्हालिसकेका युवानेता क्षत्रीको छोटो अभिव्यक्तिले लामो भाव प्रकट गरिरहेको प्रतीत हुन्छ ।