newskoseli.Com

‘हामीलाई गाँसभन्दा बास चाहियो’

प्युठानका बाढीपहिरो पीडितले गाँसभन्दा पनि तत्काल बासको माग गरेका छन् । उनीहरुले चर्केका र भत्केका घरहरुमा बस्न मुश्किल भएकाले तत्काल अस्थायी बासको व्यवस्थापन गरिदिन सबैको ध्यानाकर्षण गराएका हुन् ।

बाढीपहिरो पीडितले भनेका छन्– ‘गाउँघरमा साउने मकै छन्, खानलाई कुनै समस्या छैन तर बास भत्किएर बसिनसक्नु भएको छ त्यसैले सहयोग गर्ने हो भने बासको प्रबन्ध गरिदेऊ ।’

साउन १० र ११ को मुसलधारे पानीका कारण अाएको बाढीपहिरोले घरबारविहीन भएका पूजा– ७ का टुकलाल शर्माले भने– ‘हामीलाई राज्यले तत्काल बासको व्यवस्था गरिदेअाेस् ।’ शर्माको तालेघरमा रहेको २ तल्ले ढुंगेघर पहिरोक कारण धरापमा परेको छ । घर भत्कन थालेपछि छिमेकी सिम्लेमा शरण लिएर बसेका उनले भने– ‘मेरो त घर नै गयो । भोक मेटाउन बारीका मकै कोपरे पनि हुन्छ तर शीर ओत्ने तत्काल एउटा छानो भए हुन्थ्यो ।’

शर्माजस्तै पूजाकै वसन्ती केसी, निमु गिरी, सुमा गिरीको पनि घर भत्कँदा उनीहरु  स्थानीय शिशुकल्याण प्राविमा साना लालाबालासहित ओत लागेर बसिरहेका छन् । निमानन्द शर्मा, मोहन घर्ती, हिते घर्तीसहित पूजामा मात्रै ९ घर बस्नै नहुनेगरी चर्किएका र भासिएका छन् । उनीहरु भन्छन्– ‘वर्षातको समयमा खाना त जसोतसो हुन्छ । बरु त्रिपाल , टिन पाए छाप्रो हालेर बस्न पाइन्थ्यो ।’

घर चर्किएर बस्नै नहुने भएका बाटुलपाटाका खेमराज उपाध्ययले भने– ‘समस्यैसमस्या छ । अब छिट्टै त्रिपाल र टिनको व्यवस्था गरे हुन्थ्यो ।’
साउन १० र ११ को मुसलधारे पानीका कारण अाएको पहिराले खोरपाता टोल अहिले जोखिममा छ । सो टोलको पश्चिमतर्फको भाग चिरैचिरा परेको छ । तल खानीखोलाबाट निस्केको पहिरो पूजाको गाविस भवन जोड्ने कच्ची मोटरबाटोलाई काट्दै उक्त टोलका टेकुलाल शर्मा, देवीराम शर्मा, भानुभक्त शर्मा, चन्द्रप्रसाद शर्मा, देवीराम शर्मा (साहु जेठा) का घरको सुरसम्म पुगेको छ ।

पहिरोका चीरा घरगोठसम्म परेपछि उक्त टोलका बासिन्दा अहिले न घर छाडेर अन्यत्र जान सकेका छन् न त घरभित्र ढुक्कसाथ बस्न सकेका छन् । घर नभत्किएका कारण उनीहरु राहत पाउने सूचीमा समेत परेका छैनन् । बाढीपहिरो पीडितलाई दिनहुँ विभिन्न संघ–संस्थाले राहत वितरण गर्ने गरिरहेका छन् तर उनीहरु त्यो सूचीमा पर्दैनन् किनकि उनीहरुको घर पहिरोमाथि भए पनि भत्केका छैनन्, ढलेका छैनन् ।

बाढीपहिरोग्रस्त क्षेत्रमै गएर स्थलगत रिपाेर्ट तयार पार्ने क्रममा उनीहरु संवाददातासँग भन्दै थिए– ‘भएभरको सम्पत्ति बाढी र पहिराले खाइदियो, अब हामी कहाँ जाने के गर्ने ? राज्यको निकाय पनि अझैसम्म आएको छैन , सोधपुछ गरेको छैन ।’

टेकुलाल शर्माको खेतबारी र खरेन गरेर १६ रोपनी बाढी र पहिरोले ध्वस्त बनाइदिएको छ । देवीराम शर्माको ४ रोपनी, चन्द्रप्रसाद शर्माको १३ रोपनी बारी पनि पहिरोले तानेको छ  । शर्माहरुको जस्तै स्थानीय झिमरुक नदीको बाढीले पूजा– ७ कुरिलाचौरमा रहेको देवीराम शर्माको ३ रोपनी, टीकाबहादुर केसीको ४ रोपनी, महेन्द्राकुमारी खत्रीको १५ रोपनी धान रोपेको खेत अहिले बगरमा परिणत भएको छ ।

रोशबहादुर खत्री, बेगबहादुर खत्री र महेन्द्र केसीको ओढारबांगको खेत खोलामा मिसिएको छ । लालबहादुर केसी, टोपबहादुर केसी, बेगमलाल शर्मा, विण्णुबहादुर केसी, बालाराम शर्मा, रामप्रसाद शर्मालगायत धेरैको खेत–खरेन पनि पहिराले पुरिदिएको छ ।

यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, पूजा गाविसमा यस्ता करिव ९० घरपरिवारको खेतबारी र खरेन पहिरो र बाढीले ध्वस्त बनाइदिएको छ । राज्यका कुनै निकायले अहिलेसम्म सोधीखोजी नगरेकोप्रति उनीहरु दुःखी छन् । राज्यका नियामक निकाय बाढीपहिरोमा परी मृत्यु भएका परिवारप्रति मात्रै केन्द्रित भएको तर जिउँदालाई बचाउन खासै काम नगरेकोप्रति स्थानीयहरु रुस्ट छन् ।

Pyuthan badhipidit vanxan. (1)यता जिल्ला प्रशासन कार्यालयले प्युठानमा राहत लिएर जाने संघ–संस्थामाथि खासै नियमन गर्न सकेको छैन । यसै हप्ता काठमाडौंबाट आएको एक संस्थाले सालीबिसौनामा बाँडेको राहतमा पुराना कपडाहरु परेका र ती कपडाहरु केही व्यक्तिले फड्के सालिबिसौनाको जंगलमा लगेर फालिदिएको समेत देखियो ।

यसैगरी राहतमा चामल–दाल लिएर जाने संस्थाले पनि राजनीती बढी गर्ने गरेको, जुन पार्टी निकटको मान्छेले लिएर जान्छ, उसले भोटका लागि बाँडेको जस्तो पनि हुने गरेको एक राजनीतिक दलका स्थानीय नेताकाे गुनासाे छ । प्रशासनले जंक फुड वितरणमा भने रोक लगाएको छ ।

बाढीपहिरो पीडितहरुको यथार्तता हेर्दा राहत दिन वा लैजान खोज्ने संघ–संस्थाले प्युठानमा जति सकिन्छ, त्यति नै घर बनाउन ध्यान दिएमा त्यो सबैभन्दा उत्तम हुने सुझाव पत्रकार महासंघ प्युठानका सभापति गिरुप्रसाद भण्डारीले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर