newskoseli.Com

फुट्यो ओली–बरालको न्युक्लिअस
ओलीहरू लागे चन्दतिर, बरालहरू वैद्यतिर

तत्कालीन एकीकृत नेकपा (माओवादी) बाट अलग्गिएका हेमन्तप्रकाश ओली र वैद्य माओवादीबाट अलग्गिएका डा. ऋषिराज बरालहरु मिलेर केही महिनाअघि बनाएको ‘केन्द्रीय न्युक्लिअस नेपाल’ विधिवत विभाजित भएको छ ।

‘क्रान्तिकारी कार्यदिशाका आधारमा सच्चा माओवादी क्रान्तिकारीहरुलाई एकताबद्ध गराउन भूमिका निर्वाह गर्ने’ भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबीच एकता गराउन पहल गर्ने उद्देश्यसाथ गठन भएको न्युक्लिअस अन्ततः आफैं विभाजित हुन पुगेको छ ।

न्युक्लिअसको मूल नेतृत्व सम्हालेका हेमन्तप्रकाश ओली आफूनिकट रहेका केही नेता–कार्यकर्तालाई समेटेर आइतबार (आजै) नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा समाहित हुने भएका छन् । त्यसैगरी न्युक्लिअसको प्रवक्ता रहेका डा. बरालसहितका केही बुद्धिजीवीहरु एकता प्रक्रियाबाट अलग रहने भएका छन् । मूलतः वैद्य माओवादीप्रति झुकाव राख्ने डा. बरालहरु निकट भविष्यमै वैद्य माओवादीमा समाहित हुने बताइन्छ ।

आइतबार बिहान ‘म विप्लव समूहसितको एकता प्रक्रियामा सामेल छैन’ शीर्षकमा एक अपिल प्रकाशित गर्दै डा. बरालले लेखेका छन्– ‘विखण्डित र विभाजनको अवस्थामा रहेको नेपालको माओवादी आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकीकृत गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु आजको आवश्यकता हो र यही आवश्यकता पूरा गर्ने माध्यमका रूपमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन भएको थियो ।  गठनका आरम्भका दिनमा यसले एकताको प्रयासलाई घनीभूत रूपमा अगाडि बढाएको पनि थियो । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरू ध्रुवीकृत भइरहेको अवस्थामा एकता र ध्रुवीकरणको प्रयास कमरेड मोहन वैद्यले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लवले नेतृत्व गर्नुभएको नेकपा माओवादीबीच हुनु स्वाभाविक थियो ।’

डा. बरालले अगाडि लेखेका छन्– ‘परन्तु, सशस्त्र जनसङ्घर्षको कार्यदिशालाई नेपाली समाजको विशिष्टताअनुसार अझ ठोस र वैज्ञानिक बनाएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीति, योजना र कार्यक्रमप्रति विप्लव समूहको रुचि नरहेको र ‘एकीकृत जनक्रान्ति’ को अमूर्त कार्यदिशाबाट टसमस हुने स्थिति नरहेको कारण नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी  र कम्युनिस्ट न्युक्लिअस, नेपालबीच एकताको प्रयासले सार्थक रूप लिन सकेन ।’

अपिलको अन्त्यमा ऋषिराज बराल लेख्छन्– ‘यसैबीच कम्युनिस्ट न्युक्लिअसका बहुमत सदस्यहरूले विप्लव समूहको कार्यदिशालगायत सबै कार्यक्रमहरू स्वीकार गरी एकताका नाममा विप्लव समूहमा बिलय हुने निर्णय गरेकाले आफू सो निर्णयप्रति असहमत रहेको  र विप्लव समूहसित ‘एकता प्रक्रिया’ मा सामेल नभएको यथार्थ प्रस्ट पार्दछु । साथै, तत्काल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सित सहकार्य गर्दै, कम्युनिस्ट न्युक्लिअसको सेरोफेरोमा रहेका यस निर्णयप्रति असहमत बुद्धिजीवी साथीहरूसित छलफल गरी आगामी दिनमा कसरी जाने भन्ने कुराको निर्णय गर्ने कुरा पनि प्रस्ट पार्दछु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर