newskoseli.Com

सुदूरपश्चिममा गौराको रौनक बढ्दै

गौरा पर्वको सुरुवात सोमबार ‘बिरुडा’ (पञ्चाछडी मन्त्रको प्रतीक पाँच प्रकारका अन्न– गुराउस, चना, कलउँ, केराउ र गहत) ) भिजाएर गौरा पर्व सुरु भइसकेको छ । यतिबेला सुदूरपश्चिममा गौराको आगमनले चहलपहल र रौनक निकै बढेको छ ।

सुदूरपश्चिमेलीमा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने यो पर्वमा देउडा समेत गाउने गरिन्छ । यहाँका महिला तथा पुरुषहरुले छुट्टाछुट्टै र सयुंक्त रुपमा देउडा खेल खेल्ने चलन छ ।

अहिले सुदूरपश्चिममा रहेका मठमन्दिर तथा गौराघरहरुमा ब्रतालु महिलाहरु गौरादेविका प्रतिमा खेलाउदै, नाँचगान गर्दै, शि पार्वतीके गाथा गाउँदै मनाइरहेका छन् ।

वर्षको एकपटक मनाइने यस पर्वमा कामको शिलसीलामा विदेशीकाहरु समेत घर फर्किने भएकाले यसलाई उल्लासका साथ मनाईन्छ । यसको  सुदूरपश्चिममा विशिष्ट महत्व छ । गौरामा मंगल गानका रूपमा ‘मांगल’ (फाग) गीत गाउने प्रचलन छ । अष्टमीको दिनलाई ‘गौराष्टमी’ भनेर बुझिन्छ । सप्तमीका दिन गौरालाई खेतबाट गौराघरसम्म भित्र्याउने गरिन्छ । सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकको रुपमा गौराको मूर्ति बनाउने चलन छ ।

गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गर्छन् । अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।

यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन रहिआएको छ । ‘सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने गरिन्छ,’ डोटी मुडभराका पण्डित तथा विश्व हिन्दू महासंघ जिल्ला अध्यक्ष राजप्रसाद जोशीले भने, ‘पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।’

सुदूरपश्चिमका हिन्दू धर्मावलम्बी महिलाले अनुष्ठान पर्वको रूपमा मनाइने गौरा पर्वमा यतिबेला सुदूरका गाउँबस्ती डेउडाले गुञ्जयमान बनेका छन् । सोमबार बिरुडा भिजाएर औपचारिक रुपमा सुरु भएको गौरा पर्वले गाउँबस्ती रङ्गीविरङ्गी देखिएको छ ।

भाद्र शुक्ल सप्तमीको दिन भित्र्याइने गौराले अहिले सुदूरपश्चिमका गाउँबस्तीमा रौनकता छाएको छ । सुदूरपश्चिमका गाउँबस्तीमा गौरा घरमा गौरा खेल्न सुरु भइसकेको छ । सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा रहेको छ ।

यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले आफ्नो पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । बाह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको पण्डित डिल्लीराज जोशीले बताए । गौरापर्व डोटी, डडेलधुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् ।

काठमाडौंमा पनि गौरा

बिहिबार काठमाडौंको टुडिखेलमा पनि विशेष समारोहकाबीच गौरा पर्व मनाइएको छ । सुदूरपश्चिममा घरभइ हाल काठमाडौंमा बसोबास गरिरहेका सुदूरपश्चिमेलीहरुले विभिन्न देउडा गाएर रमाइलो गरे ।

कार्यक्रममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सयौं नेता तथा कार्यकर्ताहरुका साथै संस्कृतिकर्मीहरुको सहभागिता रहेको थियो ।

कैलालीको मसुरियामा पनि विविध कार्यक्रम

नेपाल साँस्कृतिक संघ क्षेत्र नं. ४ को आयोजनामा कैलालीको मसुरियामा पनि गौरा पर्व धुमधाम संग मनाइएको छ । गौरा पर्वको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रमको गरिएको सांस्कृतिक संघ कैलालीका अध्यक्षसुरत रावतले जानकारी दिए ।

नेपाल सांस्कृतिक संघ क्षेत्र नं. ४ का अध्यक्ष गणेश देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस कैलालीका जिल्ला सदस्य राम बहादुर कलेल प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला कार्यबहाक सभापति रोज बहादुर सिंह र नेपाल सांस्कृतिक संघ कैलालीका जिल्ला अध्यक्ष सुरत रावत (डोटेली कान्छा) विशिष्ट अतिथि थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गाउँ शाखा सभापति हिरा सिंह बडैला, नेपाल शिक्षक संघ कैलालीका जिल्ला सदस्य जंग बहादुर देउवा, नेपाल विद्यार्थी संघ खप्तड बहुमुखी क्याम्पसका ईकाई सभापति खेम बहादुर देउवा, नेपाल सांस्कृतिक संघ कैलालीका सदस्य यज्ञराज जोशी, नेपाल साँस्कृतिक संघ क्षेत्र नं. ५ का सभापति गोबिन्द साउँद लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बिभिन्न कलाकार र साहित्यकारहरुले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा चैत र डेउडा पनि खेलिएको थियो । संघका सदस्य सुमित्रा गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिब डिएन वोहराले गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर