newskoseli.Com

जानकारीविनै विवाहको तयारी : प्रहरीको शरणमा युवती

अाफ्नाे मञ्जुरीविनै विवाह हुन लागेकाे सुइँकाे पाएपछि एक युवती प्रहरीकाे शरणमा पुगेकी छन् । गैरीगाउँ–८, गाङकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि उनी न्याय खोज्दै शनिबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् ।

कक्षा ५ उत्तीर्ण गरेपछि आर्थिक अभावका कारण विद्यालय छोड्न बाध्य भएकी परियारले रुँदै भनिन्– “गाउँकै १९ वर्षीय रमेश परियारसँग मेरो विवाहका बारेमा कुरा टुङ्गिएको रहेछ । मलाई यस विषयमा केही पनि थाहा थिएन । घरमा बिहेका लागि भैंसी किनेर ल्याइएको छ । रोटी पकाउने काम चलेको छ साथै घर लिपपोत गर्न थालेपछि भाइबहिनीले मेरो विवाहका लागि तयारी हुँदैछ भन्ने जानकारी दिए ।”

“त्यसपछि मैले अहिले म सानै छु, बिहे गर्दिन भनेर धेरै रोएँ–कराएँ तर कसैले मेरो कुरा सुनेनन् । भदौ १६ गते विवाहको दिन तय भइसकेको छ रोक्न मिल्दैन भन्ने आमाको जवाफ पाएपछि नारायणगढमा भएकी दिदीलाई फोन गरैं । दिदीले यतै आइज भनेर बोलाएको हुँदा भागेर दिदीकहाँ जान लागेकी थिएँ । आफन्तले प्रहरीमा पुगे न्याय पाइन्छ भनेर सल्लाह दिएपछि प्रहरीमा आएँ । ऊसँग बिहे गर्न मलाई पटक्कै मन छैन । तपाईंहरुले बुबाआमालाई सम्झाइदिनुस्” उनले आँसु पुछ्दै भनिन् ।

यसरी न्याय खोज्दै प्रहरी कार्यालयमा आएकी परियारलाई शनिबार राति महिला प्रहरीको संरक्षणमा राखियो । प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार परियार गाउँबाट भागेर हिँडेपछि गाउँलेले थाहा पाई खोजीका लागि प्रहरीमा खबर गरेका थिए । उनले भने– “हामीले यस विषयमा आइतबार अभिभावकलाई जिप्रकामा बोलाएका छौं । उहाँहरु आएपछि वास्तविक कुरा बुझेर अगाडि बढ्नेछौं ।”

परियार अहिले प्रहरीकै संरक्षणमा भएको पनि उनले जानकारी दिए । जिल्लामा बालविवाह न्यूनीकरणका लागि अभियान थालिएको छ । उनी त प्रतिनिधि पात्र मात्र हुन्, यस किसिमका घटना जिल्लामा धेरै हुने गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर