newskoseli.Com

प्रधानमन्त्रीको अध्यक्षतामा बन्यो मूल समारोह समिति

President Ram Baran Yadav promulgating Nepal’s Constitution after signing the copies of the constitution authenticated by CA Chairman Subas Chandra Nembang during a special function at the Constituent Assembly Hall on Sunday. Photo: Dhruba Ale/ THT

नेपाल सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको वर्षदिन पुगेको उपलक्ष्यमा हर्षोल्लासपूर्वक भव्य ढंगले ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं संविधान दिवस मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको समारोह समितिको बैठले संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै असोज २ देखि ४ सम्म भव्य र हर्षोल्लासका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधान जारी गरिएका दिन असोज ३ गते विभिन्न कार्यक्रम गरी स्वदेश र विदेशमा समेत राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न ३ उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।

संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, उपसभामुख, पूर्वसभामुख, राज्यमन्त्री सदस्य रहेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वोच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, व्यवस्थापिका–संसद् सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल सरकारका सचिवलगायत पनि मूल समारोह समितिमा सदस्य छन् ।

सूचना तथा सञ्चारमन्त्री संयोजक रहेको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुख संयोजक रहेको ८ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन उपसमिति र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ ।

समारोहमा मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जङ्गी, तथा सङ्घसंस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी, नागरिक समाज र उद्योगी व्यवसायीका साथै सर्वसाधारणको समेत उपस्थिति रहने बताइएको छ ।

संविधान दिवसको उपलक्ष्यमा असोज २ मा मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवम् ब्यानर सजाई शृङ्गार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउन सञ्चार माध्यमबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रिय पत्रपत्रिकामा संविधान दिवस विशेषाङ्क र स्मारिका प्रकाशन गर्ने तथा नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका सञ्चार माध्यमबाट संविधानको महत्वका बारेमा परिसंवाद कार्यक्रम चलाउने निर्णय पनि बैठकले गरेको छ ।

असोज ३ मा मुख्य समारोहका अतिरिक्त सूर्योदयका साथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा चीरशान्तिको कामना तथा राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने समेत कार्यक्रम बनाइएको छ ।

संविधान दिवस मनाउने सिलसिलामा असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोकदोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।

उपत्यका बाहिरका जिल्ला सदरमुकाममा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा तथा स्थानीय निकायमा सम्बन्धित निकायको प्रमुखको अध्यक्षतामा ३ दिनसम्म संविधान दिवससम्बन्धी प्रभातफेरी, प्रवचन, साहित्य गोष्ठी, संवार्ता, खेलकुलजस्ता विविध कार्यक्रम र साँझ दीपावली गर्ने व्यवस्था मिलाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर