newskoseli.Com

समृद्धिनिम्ति मुख्य भूमिका युवाहरुको : बाबुराम

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

उनले नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि गर्ने बताउँदै त्यसका लागि युवा विद्यार्थीहरुको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिए । नयाँ शक्तिले लिएको विकास र समृद्धिको मुद्दालाई युवा पुस्ताले मात्रै ठीक ढंगबाट ग्रहण गर्नसक्ने बताउँदै उनले भने– ‘नयाँ शक्ति भनेको युवा, विद्यार्थीहरुकै बढी सरोकारको विषय हो । त्यसकारण हामी नियमित रुपमा युवा–विद्यार्थीसँग अन्तर्क्रियामा रहनेछौं ।’

डा. भट्टराईले बढ्दै गएको युवा पलायनतालाई रोकेर मात्र मुलुकको विकास सम्भव भएको बताए । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरेको युवा स्वरोजगारको प्रसंग उल्लेख गर्दै भने– ‘राज्य आफैंले सबैलाई रोजगारी दिन सक्दैन तर रोजगारी र स्वरोजगारका लागि उपयुक्त नीति बनाउनु राज्यको दायित्व हो ।’

राज्यले उद्यमशीलताको वातावरण बनाई पूर्वाधार तयार गर्नुपर्ने र वित्तीय पहुँचको व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो । ‘वित्तीय पहुँचको उपयुक्त नीतिले बैंकमा थुप्रिएर बसेको खर्बौं रुपैयाँको परिचालन हुन सक्छ’ उनले भने– ‘त्यो पुँजीको प्रयोगबाटै मुलुकमा उद्यमशीलताको विकास हुन्छ र त्यसले समृद्धिको आधार तयार पार्छ ।’

भट्टराईले अहिलेसम्म मुलुकमा राजनीतिक अधिकारका लागि संघर्षहरु गरिएकामा अबको संघर्ष आर्थिक समृद्धि र प्रगतिका लागि हुनुपर्ने बताए । ‘नेपालमा लोकतान्त्रिक र समन्यायिक अधिकारका लागि यति धेरै संघर्ष भए’ उनले भने– ‘अब हामी विकास र समृद्धिको दिशामा नगएसम्म त्यो राजनीतिक अधिकार पूरा हुँदैन, त्यसैले अबको राजनीतिक एजेन्डा विकासमुखी नै हुनुपर्छ ।’

पछिल्लो समयमा राजनीतिक दलहरुले जनताका मुद्धा छाडेर बरालिन पुगेको दावी गर्दै नयाँ शक्तिले जनसरोकारका सवाललाई प्रमुखताका साथ उठान गर्ने र नीतिगत रुपमा जनताको प्रत्यक्ष र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर