newskoseli.Com

पहिरोले पुर्‍यो ४ घर, २ को मृत्यु, ५ बेपत्ता

दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छाडेर जान कसैको मनले मानेन । यही थातथलो नछोड्दा छ्योत छ्योत गाउँका केहीलाई भने जिन्दगीले नै छाडेर गइदियो ।

माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा जीविकाका लागि तामाङ समुदाय बसोवास गर्दै आएका थिए । बुधबार राति करिव १० बजे लामाबगर गाविस– ४ स्थित छ्योत छ्योत गाउँको माथिल्लो लेकबाट खसेको पहिरोले ४ घर पुरिएर दुई जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भए ।

गाउँमाथिको लेकबाट मध्यरातमा झरेको भीषण पहिरोले बस्ती पुरेपछि पीडित गाउँबासीले भेटिएको शवको दाहासंस्कार त गरे तर पहिरोमा बेपत्ता भएकाहरु अझै फेला नपर्दा शोकाकूल छन् ।

लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पावर हाउस गोंगरबाट बाँधस्थल पुग्ने सडक खण्डमा पर्ने सो गाउँ सदरमुकाम चरिकोटबाट ६१ किलोमिटरको दुरीमा पर्छ ।

घटनास्थल पुगेर फर्किएका प्रहरी नायव उपरीक्षक रवीन कार्कीका अनुसार वस्तीभन्दा माथिल्लो क्षेत्रबाट झरेको पहिरोले स्थानीयवासीका घर बगाएर तामाकोसी नदीमा पुर्याएको छ र पहिरोले केहीबेर नदी थुनिएका कारण बेपत्ता भएका व्यक्ति नदीमा बगेको हुन सक्ने आशङ्का छ ।

पहिरोले स्थानीय विक्रम तमाङ, उनका बाबु मङ्गले तमाङ र मीनबहादुर ठकुरीका दुईवटा घर बगाएकाले घटनामा मङ्गलेका छोरा विक्रमको घरमा सुतेका विक्रमका भाइ २१ वर्षीय गदुले तमाङ र छिमेकी पतमाया तामाङ पहिरोमा पुरिएर मृत अवस्था फेला परे  । मङ्गलेको घरमा सुतेका मङ्गलेसहित उनकी श्रीमती पातमाया, छोरी तिर्सी, तिर्सीकी छोरा क्षेसाङ, मङ्गलेकी सासू सतमाई तमाङ बेपत्ता छन् ।

माथिल्लो तामाकोसीको टनेलमा मजदुरी गर्दै आएका विक्रम घटनाका बेला कार्यस्थलमै थिए । घरमै रहेका विक्रमकी श्रीमती लालमाई र छोरी लक्ष्मी भागेर राति ओढारमा बसी ज्यान जोगाए ।

पहिरो माथिल्लो भागबाट झरेर तामाकोसी नदीसम्म आइपुगेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सशस्त्र सुरक्षा बलका प्रमुख प्रहरी नायव उपरीक्षक खेमबहादुर थापा मगरले टेलिफोनमा जानकारी दिँदै भने– ‘‘आँखाले हेर्न नभ्याउने गरी बस्तीभन्दा माथिल्लो लेकबाट पहिरो झरेर नदीमा मिसिएको छ’’ ।

हराइरहेका व्यक्ति र सुतेको घरको कुनै चिज फेला नपरेकाले बेपत्ता भएकालाई तामाकोसी नदीले बगाएको हुन सक्ने प्रहरीको आशंका छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले बिहीबार दिनभर र शुक्रबार हराइरहेकाको खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । स्थानीयवासी यादव आचार्यका अनुसार बुधबार साँझदेखि नै सो क्षेत्रमा भारी वर्षात् भएको थियो ।

प्रहरी नायव उपरीक्षक कार्कीले भारी वर्षातका कारण यो क्षेत्रका विभिन्न स्थानमा पहिरो झरेकाले जोखिम अझै रहेको, गोंगर प्रहरी चौकीको माथिल्लो भागबाट पहिरो खसेकाले चौकी समेत जोखिममा परेको र तामाकोसी आयोजना नजिकको पहिरोमा आयोजनाको ठेकेदार कम्पनीमा कार्यरत चिनियाँ मजदुरसमेत घाइते भएकाले उनलाई बिहीबार नै हेलिकप्टरबाट राजधानी लगिएको बताएउनुभयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर