प्रदीप नेपालको विषयमा हालसालै एउटा टेलिभिजन अन्तर्वार्तामा एमाले नेता माधव नेपालले भनेका थिए –’प्रदीप नेपाल साहित्यकार मान्छे ! उहाँलाई साहित्यबारे थाहा होला, राजनीतिबारे के थाहा हुनु?’ प्रदीप नेपालले आफूलाई ‘सिद्धान्त नभएको नेता’ भनेको झ्वाँकमा माधव नेपालले त्यसो भने पनि प्रदीप नेपाल एमालेका पहुँचवाला नेतामा गनिने गरेका छन्।
पछिल्लो समय राजनीतिको जोडघटाउमा भन्दा कलमको निब घोट्नमै बढी समय व्यतित गरिरहेका प्रदीप नेपालले बेला–मौकामा एमाले नेताको पुरानो क्रेडिटमा चर्चामा आउने डायलग बोलेर पानीमाथिको ओभानो बन्न छोडेका भने छैनन्।
विगतमा मन्त्रीपदको रसास्वादन गरिसकेका नेपाललाई साहित्यकार मात्र बनेर जीवनमा बसन्त गुलजार भइरहँदैन, सत्ताको न्यानो पनि चाहिन्छ, तसर्थ राजनीतिक तापबाट धेरै टाढा पनि जानु हुन्न भन्ने कुराको राम्रो ज्ञान हुनुपर्छ। त्यसकारण उनले एमाले नेताको परिचय त्याग्न नसक्नु उनको रहरभन्दा बढी बाध्यता पनि हो। काठमाडौंमा बाँच्न गार्हो छ, केही न केही त गर्नैपर्यो।
कुनै बेला आफूसम्बद्ध पार्टी एमालेका खरो आलोचक नेपालका मसी हिजो–आज एमालेको एकोहोरी प्रशंसागान लेख्नमा ज्यादा खर्च भइरहेको छ। कान्तिपुर दैनिकमा हरेक मङ्गलबार प्रकाशित हुने उनका लेखहरू पढ्दा आजभोलि प्रदीप नेपाल ‘सबभन्दा बढी एमाले’ बनेका छन्। उनलाई नेपालमा मात्र होइन, संसारमै एमाले सबभन्दा ‘जीवन्त’, ‘मार्क्सवादी’, ‘समाजवादी’, ‘सिद्धान्तनिष्ठ’ पार्टी लागेको छ। उनी जनताको बहुदलीय जनवादका सबभन्दा आधिकारिक व्याख्याता बनेका छन्।
आश्चर्य त कुनैदिन राजधानिको खुलामञ्चबाट देशको सबभन्दा खुँखार भ्रष्टाचारी भनी वामदेव गौतमको नाम घोषणा गर्ने प्रदीप नेपालले जसै गौतम गृहमन्त्री र उपप्रधानमन्त्री बने, उनको विशेष सल्लाहकार बन्न खुट्टा उचालिहाले। त्यो पनि आजसम्म कसैले नपाएको सुविधासहित। खुँखार भ्रष्टाचारीको सल्लाहकार बन्न प्रदीप नेपाललाई अलिकति लज्जाबोध भयो होला कि उनले लाज भन्ने कुरा मज्जाले पचाए? त्यो त उनै जानुन्। सायद संसारकै जीवन्त र सिद्धान्तनिष्ठ पार्टीका नेताको निम्ति यसरी इज्जतहीन काम गर्नु दालभात खाएजस्तो सामान्य होला। तर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझें नेताहरूका यस्ता धोती फुस्काईबाट सर्वसाधारण जनता भने लज्जित हुनुपरेको छ।
प्रदीप नेपालले धेरै किताब लेखेका छन्। राजनीति र साहित्यको समागम व्यक्तित्त्वको नामावलीमा उनी पनि टपटेनभित्र पर्छन्। तसर्थ उनलाई एउटा उचाइ बनाइसकेका लेखक मान्न सकिन्छ। तर कुनै पनि लेखकलाई जे पनि लेख्ने लाइसेन्स भने हुँदैन। धेरे वर्षसम्म सवारी साधन चलाएको चालक हुँदैमा सडक अनुशासन मिचेर जथाभावी सवारी हाँक्न पाउँदैन/मिल्दैन।
प्रदीप नेपालले लेख्दैमा सबै नाजायज कुरा पनि जायज कदापि हुनसक्दैन। नेपाल १० असारको कान्तिपुरमा लेख्छन् –’अर्को एउटा गुण पनि छ, त्यो पार्टी (एमाले) सँग। त्यो हो, भएका गल्ती स्वीकार गर्ने र आफूलाई समयानुकूल सुधार गर्ने।’ यदि यही वास्तविकता हो भने के एमालेले महाकाली सन्धि राष्ट्रघाटी हो र त्यसमा समर्थन गरेर आफूले राष्ट्रघात गरेको स्वीकार्न सक्छ? के विदेशी राजदूत बल्खु कार्यालयमा आउँदा कम्युनिष्ट नेताहरूका तस्वीर स्टोर रुममा थान्को लगाएको गल्तीमा आत्मालोचना गर्न एमाले तयार छ? हँसिया–हथौडाको झण्डा बोकेर कम्युनिष्ट सिद्धान्त तिलाञ्जली दिएर पूँजीवादी दलदलमा फस्नुलाई आफ्नो गल्ती स्वीकर्न तयार छ – एमाले? प्रतिगमनविरोधी आन्दोलन चल्दै गर्दा आधा प्रतिगमनको नाममा राजा ज्ञानेन्द्रको तानाशाही शासनको मतियार बन्नुलाई आफ्नो अपराध ठान्न तयार छ – एमाले ? माओवादी विद्रोहमाथि अंकुश लगाउन आतङ्ककारी नियन्त्रणको कालो विधेयकलाई गल्ती मान्न तयार छ?
‘स्पष्ट वक्ता’ को छवि भएको भनिने नेता प्रदिप नेपालको त्यो छवि विशेषतः आफ्नो पक्षधरको आँखै चिम्लेर स्तुतिगान गाउने र विपक्षको भित्तै भत्किने गरी खेदो खन्नुमा आधारित देखापर्छ। वामदेवले माले समूह खोलेर पार्टी फोडेपछि झ्वाकमा नेपालले विना निर्णय वामदेवलाई भ्रष्टाचारी भने तर अहिले तीन तीनपटक मन्त्री बनिसकेका मान्छे वामदेवकै सल्लाहकार बन्न तत्पर बने। नेपालले एमालेको महाधिवेशनबाट ६८ वर्षमाथिका व्यक्ति निर्वाचित नगर्ने र त्यसै आधारमा पार्टी नयाँ पुस्तामा हस्तान्तरण गरिने तर्क गर्नु आफैमा हास्यास्पद छ। पुस्तान्तरणको नाममा यस्तो नाटक गर्नु जीवन्त पार्टीको यस्तो विशेषता हो भन्ने हामीलाई थाहा छैन नत्र ७० बाट ६८ वर्षमा झार्नुलाई पुस्तान्तरण गर्नु कुरुप हास्यमात्र हुनसक्छ।
प्रदीप नेपालले सञ्जय थापाको नाममा लेखेको ‘खुल्ला आकासको खोजी’ कृति पढ्न जोकोहीले तत्कालीन समयमा उनी र उनका सहयोद्धाहरूले गरेका साहसिक र बलिदानीपूर्ण कामप्रति श्रद्धा व्यक्त गर्ला। तर आजको प्रदीप नेपाल व्यक्तिको रुपान्तरणभन्दा समग्र एमालेको रुपान्तरणको परिणति मात्र हो। सम्पूर्ण रुपमा एमाले नै लोभीपापी, डनवाद, धनवाद, अवसरवादको दलदलमा फस्दै गइरहेको सन्दर्भमा प्रदीप नेपाल यो धारमा क्रमशः विलिन हुनु अस्वाभाविक होइन। तर, प्रदीप नेपालहरूलाई भ्रमको व्यापार गर्ने भन्ने छुट छैन। साप्ताहिक स्तम्भमा लेख्ने विषयको अभाव भए साहित्य लेखनमै ध्यान केन्द्रित गर्नु उचित होला। तर एमालेको भत्केको छविलाई टालटुल गरेर जोगाउने र फेरि पनि भ्रम सृजना गर्ने कामले प्रदीप नेपालको स्थापित छविसमेत धमिलिने निश्चित छ।