newskoseli.Com

राजनीतिक सहमतिमा संविधान संशोधन गरिन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले भने– “संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा गरिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”

सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नका लागि नै संशोधन हुन लागेको बताए ।

सभापति देउवा उपचारका लागि भदौ १० गते पत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गरेका थिए । पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक विदेश गएका हुन् । “म नितान्त स्वास्थ्योपचारमा गएको हुँ, मैले त्यहाँ रहँदा कसैसँग राजनीतिक भेटघाट गरिनँ” सञ्चारकर्मीको जिज्ञासमा देउवाले भने ।

तपाईंहरु प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ठ २ लाख रूपैयाँ दिन तत्कालीन सरकारसँग भएको सहमतिलाई किन वर्तमान सरकारले कार्यान्वयन नगरेको भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले भने– “अब यो निर्णय तत्काल कार्यान्वयन हुन्छ, यस विषयमा सरकारले के गरिरहेको छ, म प्रधानमन्त्रीसँग कुराकानी गर्छु ।”

पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए । सभापतिले पार्टी पदाधिकारीमा मनोनयन गर्ने पदहरू रिक्त नै छन् ।

सभापति देउवालाई पार्टीका कोषाध्यक्ष सीतादेवी यादव, नेकाका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री, सांसद तथा पार्टीका केन्द्रीय सदस्य तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर