newskoseli.Com

प्रजातान्त्रिक समाजवादमा अगाडि बढिसक्यौं : डा. महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । प्रजातान्त्रिक सम्बर्द्धन केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तर्क्रियामा बोल्दै डा. महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामीण क्षेत्रमा मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सुविधा पुगेको बताए ।

उनले भने– “आजभन्दा २५ वर्ष पहिला ४० प्रतिशत जनताले शुद्ध खानेपानी पिउँन पाउँथे, अहिले ८५ प्रतिशत पुगेको छ, प्रतिव्यक्ति आयु ५४ वर्ष थियो अहिले ७१ वर्ष पुगेको छ, गरिबी ४९ प्रतिशत थियो अहिले २३ प्रतिशत पुगेको छ– यो सबै प्रजातान्त्रिक समाजवादको उपलब्धि हो ।” डा. महतले नेपाली कांग्रेसको सरकारले प्रजातान्त्रिक समाजवादको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको पनि दावी गरे ।

नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले चुनावमा पैसा दिएर भोट किन्ने वा जाँडरक्सी खुवाउने प्रवृत्तिले प्रजातान्त्रिक समाजवादको रक्षा हुन नसक्ने बताए । उनले भने– “प्रजातान्त्रिक समाजवादको रक्षा गर्ने हो भने राजनीतिक दलबीच एकता आवश्यक छ ।” नेता भुसालले संविधान कार्यान्वयन भएर देशलाई विकासको बाटोमा अगाडि बढाए मात्र प्रजातान्त्रिक समाजवादको रक्षा हुने दावी गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले राजनीतिक दलका नेता पदमा पुगेपछि प्रजातान्त्रिक समाजवादको नारा बिर्सने गरेको आरोप लगाए । उनले जनतालाई अभाव र देशलाई सङ्कटमा राखेर प्रजातन्त्र संस्थागत हुन नसक्ने जिकिर गरे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादवले मधेसमा देखिएको आन्दोलनलाई नटुङ्ग्याएसम्म प्रजातान्त्रिक समाजवाद अगाडि बढ्न नसक्ने बताइन् । उनले सामाजिक लोकतान्त्रिक पद्दतिलाई अङ्गिकार गरेर अगाडि बढे मात्र मुलुक अगाडि बढ्ने दावी गरिन् ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले समाजवादी धारामा संविधान निर्माण भएकाले यसै आधारमा कानुन निर्माण गर्नुपर्ने बताए । उनले वर्षैपिच्छे सरकार बदलिएर लोकतान्त्रिक समाजवादको रक्षा नहुने तर्क गरे ।

सम्बर्द्धन केन्द्रका अध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक पक्षको विकासका लागि लोकतान्त्रिक समाजवादको पद्दति अगाल्नु आवश्यक रहेको उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर