newskoseli.Com

गुटको चेपुवामा तरुण दल

६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी सहित २०६८ मा गठन भएको नेपाल तरुण दलले ६ वर्षसम्म पनि महाधिवेशन गर्न सकेको छैन । लामो समयको प्रयासपछि यहि भदौं २३ गतेदेखि महाधिवेशन गर्ने समय तोकेको थियो । तर, महाधिवेशन हुने भनिएको दिन आउन दुई दिन मात्र बाँकी रहँदा तयारी भने शुन्य छ ।

समाचार माध्यमहरुमा जनाइए अनुसार महाधिवेशन सर्ने निश्चित भए पनि औपचारिक निर्णय हुन सकेको छैन । तरुण दलका केन्द्रिय सदस्य लक्ष्मी खतिवडाका अनुसार आज मंगलबार बस्ने केन्द्रिय समितिको बैठकले महाधिवेशन सर्ने विषयमा औपचारिक निर्णय गर्नेछ । तर बैठक बस्ने बारेमा समेत अन्यौल छ । महाधिवेशन सार्नेमा गुट अनुसार फरक मत छन् ।

पूर्व अध्यक्ष बालकृष्ण खाँडको नेतृत्वमा बनेको निर्देशक समितिमा देउवा पक्षीय नेताहरुले आगामी असोज ३, ४, ५ मा गर्नेगरी महाधिवेशन सानुपर्ने भनिरहेको छ । यसमा तरुण दलका देउवा पक्षीय नेताहरुले सहमति जनाउने सम्भावना भए पनि पौडेल पक्षले भने विवाद मिलाएर मात्रै महाधिवेशन गर्नुपर्ने बताएको छ ।

सो समूहका नेता रमेश खरेलले बाँकी जिल्लाका अधिवेशन, विवादित जिल्लाको समस्या समाधान, संघीय संरचना अनुसार विधान संसोधन र हालसम्म टुंगो लागेका प्रतिनिधिहरुको नामावली केन्द्रिय समितिले अनुमोदन गरेर मात्रै महाधिवेशन गर्नुपर्ने  र त्यसका लागि तरुण दलको स्थापना दिवश पारेर आगामी कार्तिक १० गतेदेखि महाधिवेशन गर्नु उपयुक्त हुने  बताए ।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वमा बनेको प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसबीच एकिकरण भएपछि कांग्रेसभित्रका सबैजसो भ्रातृसंगठन लथालिंग छन् । लामो विवाद र रस्साकस्सीबीच ९ वर्षपछि नेविसंघको महाधिवेशन केही साताअधि मात्र सम्पन्न भएको छ ।

पार्टीभित्रका गुटहरुले भ्रातृसंगठनभित्र आफ्नो प्रभाव जोगाउनका लागि गरिने अस्वस्थ प्रतिश्पर्धाका कारण अरु संगठन जस्तै तरुण दल पनि वर्षौदेखि थला परेको छ । महाधिवेशन मार्फत संगठनमा नयाँ ऊर्जा भर्ने प्रयास भए पनि फेरि त्यसमा तुसारापात हुने निश्चित भएको छ ।

महाधिवेशन अनिश्चित हुनुका कारणहरुः

१. वर्तमान कार्यसमितिको मनस्थिति

६ महिनाका लागि गठन भएको समितिले करिब ६ वर्षसम्म महाधिवेशन गर्न सकेन । यसैकारण नेपाली कांग्रेसको मुल नेतृत्व, खासगरी शेरबहादुर देउवा पक्ष नयाँलाई अवशर दिनुपर्ने भन्दै दण्ड स्वरुप पुरानालाई चुनाव लड्न नदिनुपर्ने मनसायमा छ ।

तर, अहिलेको समितिलाई चुनाव लड्न नपाउने प्रावधान भएमा संगठनमा नयाँ नेताहरुको खडेरी पर्ने भन्दै अहिलेको कार्यसमिति चुनाव लड्न पाउने पर्ने पक्षमा छ ।

यसमा स्वयं शेरबहादुर देउवा पक्षका धेरै तरुण नेताहरुलगायत सबै पक्षका नेताहरु सहमत छन् । यदि त्यसो नभए बरु चुनाव नै टार्दै जाने मनस्थितिमा रहेको कार्यसमितिका एक नेताले बताए ।

२. गुटको स्वार्थ    

अहिले तरुण दलमा देउवा पक्ष हावी छ । त्यसै कारण देउवा पक्ष आफूले जित्ने लेखाजोखा गर्दैछ भने पौडेल पक्ष पनि नेविसंघमा भएको कमजोरी सुधार्दै तरुण दलको नेतृत्व हत्याउने तानाबाना बुन्दैछ ।

तेस्रो धारको नेतृत्व गरिरहेका सिटौला पक्षका नेताहरु पनि नेविसंघमा जस्तै एक्का र बादशाह प्रयोग गरेर कार्यकर्ता संरक्षण गर्ने  दाउमा छ ।
यी तिनै समूह आफ्ना लागि उपयुक्त समय नबनेसम्म महाधिवेशन नै नभइदिए हुन्थ्यो भन्नेमा छन् । यसले महाधिवेशन नहुनुमा ठूलो भूमिका खेलिरहेको छ भन्छन् कांग्रेस शुभचिन्तकहरु ।

३. धेरै जिल्लामा अधिवशेन नहुनु  

महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी रहँदासम्म देशभरी ६०÷६१ जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको छ । अझै १४÷१५ वटा जिल्लाको अधिवेशन नै हुन सकेको छैन । अधिवेशन भएका जिल्ला मध्ये सर्लाही, रुपन्देशी, धनुषामा दुई–दुई वटा समानान्तर समिति बनेका छन् । पार्टी एकिकरण पश्चात पनि बारा, भक्तपुर, धनुसा, सुर्खेतमा हालसम्म पनि दुईटा समिति समायोजन हुन नसकेको स्रोतको भनाई छ ।

बझाङलगायतका केही जिल्लामा जिल्ला अध्यक्षको अनुपस्थितिमा नै नयाँ निर्वाचन, बाँकेमा उद्घाटनपछि कुनै प्रक्रिया अगाडी बढ्न सकेको छैन । यसले पनि महाधिवेशन अनिश्चित बनेको छ ।

विवाद ज्यूँकात्यू, तरुण नेताहरुको ध्यान नेतृत्वमा

विवाद नमिलेमा महाधिवेशन नहुने निश्चित हुँदाहुँदै पनि तरुण दलका नेताहरु नेतृत्वकै रस्साकस्सीमा छन् । यसमा अहिलेको  कार्यसमितिका अध्यक्ष उदय शमशेर राणदेखि अन्य नेताहरु आफ्नै पक्षको पल्लाभारी कसरी हुन्छ भन्ने जोड्घटाउमै व्यस्त रहेका कारण समस्या समाधान नभएको बताइन्छ ।

समितिका धेरै नेताहरु आगामी नेतृत्वको दौडमा रहेका कारण उनीहरुले विवादलाई अनदेखा गरिरहेका छन् । उनीहरु आफ्नो गुटको आधिकारिक उम्मेदवार बन्नका लागि नेताहरुको दैलो चाहारिरहेको एक तरुण नेताले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा पक्षका तरुण नेताहरु मध्ये वर्तमान समितिका जन्मजय तिमिल्सिना, डडेल्धुराका पार्टी सभापति कर्ण मल्ल, तरुण दलका पूर्व महासचिव पदम पालुंगा, नागेश्वर यादव अध्यक्षका लागि तीब्र तयारीमा छन् ।

पौडेल समूहबाट वर्तमान कार्यसमितिका लक्ष्मी खतिवडा, टेकराज पौडेल र समिति बाहिरबाट नेता दामोदर कोइराला, खिमानसिंह राइमाझी, पूर्व कोषाध्यक्ष कमल शाह, पूर्व महासचिव यम गुरुङले अध्यक्षका लागि दावी गरिरहेका छन् ।

यी मध्ये रायमाझी र शाह प्रतिनिधी छैनन् । त्यसैगरी पौडेल समूहबाट भुपेन्द्रजंग शाहीले पनि अध्यक्षको दावी गरिरहेका छन् । तर, तरुण दल कार्यलय सचिव ठानप्रसाद पोख्रेलका अनुसार शाही तरुण दलको साधारण सदस्य समेत छैनन् ।

त्यसैगरी तेस्रोधारको रुपमा चिनिएको सिटौला समूहले पनि छुट्टै समूह निर्माण गरेर चुवानमा जाने तयारी गरिरहेको छ । सो समूहबाट अहिलेको कार्यसमितिमा रहेका नारायण भट्राई, मेदिनी सिटौला र दिनेश राईले अध्यक्षको दावी गरिरहेका छन् ।

यो समूहले सोमबार आफू पक्षधर नेताहरुको भेला बोलाएर तरुण दलमा आफ्नो अवस्था बारेमा छलफल गरेको छ । सो भेलामा नेता कृष्णप्रसाद सिटौलाले तरुण दलमा संस्थापन पक्ष आफू नै भएको भन्दै आगामी महाधिवेशनमा आफ्नो शक्ति देखाउने अभिव्यक्ति दिएका थिए । दलको महासचिवका लागि नेताहरु नुपबहादुर सुनार, राम रोकाया, धनराज तुम्बाहाम्फे, नविन सिंह, नवल किसोर यादव, दामोदर लम्साललगायतले तयारी तीब्र बनाएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर