newskoseli.Com

अध्ययनको महत्त्व, अध्ययन–विधि र मार्क्सवादी दर्शन

विषयप्रवेश

‘क्रान्तिकारी कालमा तीब्र रूपले परिस्थिति बदलिन्छ, यदि बदलिएको परिस्थितिअनुसार क्रान्तिकारीहरूको ज्ञान तीब्र रूपले बदलिएन भने उनीहरूले क्रान्तिलाई विजयसम्म पुर्‍याउन सक्ने छैनन् ।’ –माओ–त्से तुङ

अध्ययन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो । वास्तवमा विगतका ज्ञानहरूलाई बुझ्नु र वर्तमानलाई विश्लेषण गरी ज्ञानलाई अद्यावधिक गर्नुलाई नै अध्ययन भनिन्छ । अतः मानिसले अध्ययनकै माध्यमबाट विगतलाई बुझ्दछ, वर्तमानलाई मूल्याङ्कन गर्दछ र भविष्यको निर्धारण गर्दछ । विगतका अनुभवहरू, अतीतका अभिलेख वा संस्मरणबाट सिक्ने पद्धति नै ज्ञानआर्जन हो । जुन अध्ययनबाट अनुसन्धान गरी व्यवस्थित रूपमा ज्ञान प्राप्त गरिन्छ, त्यसलाई वैज्ञानिक अध्ययन भनिन्छ ।

सही ज्ञान कहाँबाट प्राप्त हुन्छ ? वस्तुगत जगतबाट सही ज्ञान प्राप्त हुन्छ । सही ज्ञान प्राप्त गर्ने सन्दर्भमा माओ भन्नुहुन्छ– ‘प्रायः पदार्थबाट चेतनाको अभिवृद्धि गर्ने र अध्यावधिक चेतनालाई फेरि पदार्थमा फर्काउने प्रक्रिया अर्थात् व्यवहारलाई ज्ञानमा संश्लेषित गर्ने र सो संश्लेषित ज्ञानलाई फेरि व्यवहारमा फर्काउने बारम्बारका अनेकौं क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ ।’

ज्ञानसम्बन्धी मार्क्सवादी सिद्धान्त अर्थात ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ । ज्ञानको मुख्य स्रोत प्रत्यक्ष अनुभव हो । हाम्रो वरिपरिको वातावरणमा यत्रतत्र अनेक कुराहरू, विषयहरू, घटनहरू, परिघटनाहरू छरिएर रहेका हुन्छन् र दैनिक जीवनमा समेत यस्ता कुराहरू देखिन्छन् । यसबाट ज्ञान प्राप्त हुन्छ । यस्तो ज्ञान इन्द्रियजन्य अनुभवबाट गरिन्छ ।

अध्ययन भनेको सामान्य ज्ञान प्राप्त गर्नु नभएर व्यवस्थित रूपको ज्ञान प्राप्ति हो । यसलाई अलिकति पनि तलमाथि गर्न मिल्दैन । यस सम्बन्धमा माओ फेरि भन्नुहुन्छ– ‘ज्ञान एउटा विज्ञानको विषय हो र यस सम्बन्धमा अलिकति पनि बेइमानी वा घमण्डहरू ग्राह्य हुँदैनन् ।’

एउटा कुरा के हो भने समाज विकासका क्रममा प्राप्त भएका अनुभव क्रियाकलाप, सैद्धान्तिक मूल्य–मान्यता, प्रणालीहरू, तौरतरिकाहरूको अध्ययन सामाजिक अध्ययनमा गनिन्छन् भने प्रकृति र भौतिक नियमको अध्ययन विज्ञानमा हुने गर्दछ । अध्ययनले कार्य र कारणबीचको सम्बन्ध र यसबाट प्राप्त हुने परिणामको आँकलन गर्दछ ।

अध्ययन प्रणालीमा वैज्ञानिक विधिबाट विज्ञानसम्मत अध्ययन गरिन्छ । यसमा कार्यकरण सम्बन्ध र नियमहरूबीचको अन्तर्सम्बन्ध तथा यसमा आउने परिणामका नियम आदिको वैज्ञानिक विधिबाट अध्ययन गरिन्छ ।

दोस्रो तरिकामा कल्पना र विचारका आधारमा निरपेक्ष अध्ययन गरिन्छ । यस पद्धतिमा प्रमाण र वस्तुगत यथार्थमा आधारित नभई कल्पना र विचारको श्रृङ्खलाको आधारमा निचोड निकाल्ने गरिन्छ । यो आदर्शवादी  काल्पनिक अध्ययन पद्धति हो । यो आत्मगत चिन्तन भएकाले यसको सम्बन्ध वस्तुगत यथार्थसँग हुँदैन ।

मार्क्सवादले वैज्ञानिक अध्ययनमा द्वन्द्वात्मक नियमलाई अपनाएको छ भने अधिभूतवादी अध्ययनले अज्ञेयवादलाई मूल आधार बनाउने गरेको छ । आधुनिक अध्ययन पद्धतिमा वर्तमानमा वैज्ञानिक अध्ययन पद्धतिलाई मात्र आधारित र प्रमाणित अध्ययन पद्धतिका रूपमा मानिएको छ । राजनीतिक अध्ययनको परम्परा–पद्धतिमा दार्शनिक अध्ययन विधि, ऐतिहासिक अध्ययन विधि, तुलनात्मक अध्ययन विधि, वैध अध्ययन विधि, संस्थागत अध्ययन विधि आदि रहेका छन् । मार्क्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाएको छ ।

अध्ययनका क्षेत्रमा विज्ञानसम्मत रहेको मार्क्सवादी पद्धतिले द्वन्द्वात्मक भौतिकवादी पद्धति अपनाउने भएकाले यस लेखमा मार्क्सवादले दोस्रो चरणमा लेनिनवादमा र तेस्रो र नयाँ चरणमा माओवादमा विकास गरिसकेको छ । यस आलेखमार्फत आजको साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युगमा मार्क्सवाद–लेनिनवाद–माओवादको अध्ययन पद्धतिका बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।

विषयवस्तु

आज विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । मार्क्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरीकन, यसलाई आत्मसात नगरीकन र जीवन–व्यवहारमा प्रयोग नगरीकन कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्ने कुरा व्यवहारद्वारा पटक–पटक पुष्टि भइसकेको छ ।

अतः आजका मार्क्सवादी क्रान्तिकारीहरू र नेपालका माओवादीहरूका निम्ति मार्क्सवाद–लेनिनवाद–माओवादको अध्ययन किन आवश्यक छ र यसको अध्ययन कसरी गर्ने भन्ने प्रश्न महत्वपूर्ण विषय बन्न गएको छ । आज हामी माओवादी क्रान्तिकारीहरूका बीचमा मार्क्सवाद–लेनिनवाद–माओवादको गहन अध्ययन, छलफल गर्ने प्रवृत्ति समाप्तै भएर गएको छ । अध्ययन गर्ने भन्ने कुरा आदर्शको साँघुरो घेराभित्र सीमित हुन पुगेको छ । यो ज्यादै गलत चिन्तन र प्रवृत्ति हो । अर्कातिर हामीसँग सबै कुरा जानिसकेका छौं भन्ने अहंकार पनि छ ।

हाम्रोजस्तो अर्धसामन्ती र नवऔपनिवेशिक मुलुक, जहाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने काम नै बाँकी छ । वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने यात्रा त निकै नै टाढाको विषय हो । नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्ने अठोट र प्रतिबद्धताका साथ अगाडि बढेका नेपाली सर्वहारावर्गका नेता–कार्यकताहरू विशेषगरी क्रान्तिकारी माओवादीका नेता–कार्यकर्ताहरूले त झनै मार्क्सवाद–लेनिनवाद–माओवादको विशेष प्रकारले अध्ययन गर्नु र त्यसलाई जीवन–व्यवहारमा उतार्नु अति नै जरूरी छ । सिद्धान्तलाई जीवन–व्यवहारमा उतार्नु भनेको वर्गसंघर्षमा प्रतिबद्ध भएर सरिक हुनु नै हो ।

संसार बदल्ने उद्देश्य र लक्ष्यका साथ प्रतिबद्ध भएर लामबद्ध भएका क्रान्तिकारीहरूले वर्तमान विश्वलाई बुझ्नु र अध्ययन–विश्लेषण गर्नु जरूरी छ । वर्तमान संसारबारे वास्तविक धरातलमा उभिएर अध्ययन नगरीकन ठोस विश्लेषण गर्नु असम्भव हुन्छ । अतः संसारको अध्ययन गर्न, ठोस विश्लेषण गर्न र त्यसलाई बदल्ने नियमहरूलाई बुझ्नका लागि वैज्ञानिक अध्ययन भनेकै मार्क्सवादी अध्ययनविधि हो ।

खासमा के हो त मार्क्सवाद ?

हामी कम्युनिस्टहरूले मार्क्सवादको अध्ययन सुरू गर्नुभन्दा पहिले मार्क्सवाद भनेको के हो भन्ने कुरा बुझ्नु जरूरी हुन्छ । कार्ल मार्क्स (५ मे, १८१८) र फ्रेडरिक एंगेल्स (२८ नोभेम्बर, १८२०) द्वारा सन् १८४८ फेब्रुअरीमा कम्युनिस्ट घोषणापत्रमार्फत मार्क्सवादको प्रतिपादन हुन पुग्यो । सन् १८४३ मा पेरिसमा मार्क्सको एङ्गेल्ससँग भेट भयो, जुन मित्रता उहाँहरुबीच जीवनभर कायम रह्यो । दुई जना मिलेर संयुक्त रूपमा पुँजीवादी विचारधाराका विरूद्ध संघर्ष गर्नुभयो । मार्क्स–एङ्गेल्सले अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलन चलाउन थुप्रै महान् ग्रन्थहरूको रचना गर्नुभयो ।

marx_angles_lenin_stalin

मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद सर्वहारा–श्रमजीवी वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिद्धान्त भौतिकवाद हो । यस दर्शनले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र विचार, चेतना वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ ।

मार्क्सवादी दर्शन सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो । जुन परिस्थिति र परिवेशमा मार्क्सवादी दर्शन जन्मियो, त्यसका आवश्यक पूर्वाधारहरूमा मुख्य गरी सामाजिक– आर्थिक पूर्वाधार, प्रकृति–विज्ञानका पूर्वाधार र सैद्धान्तिक पूर्वाधार रहेका छन् । यी तीन पूर्वाधार हुन्– जर्मन दर्शनशास्त्र, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद । यी ३ कुरा नै मार्क्सवादका सैद्धान्तिक पूर्वाधार हुन् । यिनलाई लेनिनले ‘मार्क्सवादका तीन संघटक अंग’ बताउनु भएको छ । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद नै मार्क्सवादका तीन संघटक अङ्ग हुन् ।

मार्क्सवादबारे लेनिन भन्नुहुन्छ– ‘मार्क्सवाद मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङ्खला हो ।’ यसबारे स्टालिन भन्नुहुन्छ– ‘मार्क्सवाद मार्क्सवादी–लेनिनवादी पार्टीको विश्वदृष्टिकोण हो । दर्शन मानव चेतनाको उच्च रूप हो । मानवचेतना समयसापेक्ष या युगसापेक्ष हुन्छ ।’

त्यसैले कार्ल मार्क्सले “हरेक साँचो दर्शन आफ्नो समयको बौद्धिक सार, संस्कृतिको जीवन्त आत्मा हो’ भन्नुभएको छ । मार्क्सको वर्गसंघर्षको सिद्धान्त इतिहासको आर्थिक व्यवस्थाको परिभाषा हो । इतिहासको आर्थिक व्यवस्थामा सामाजिक परिवर्तनका कुराहरू समावेश गरिएका छन् भने वर्गसंघर्षको सिद्धान्तले ऐतिहासिक विकासको बाटोमा समाजको विकास गर्ने तरिका समावेश गरेको छ ।

मार्क्सवादमा सर्वहारा वर्गले संसारलाई ठीकसित बुझ्ने र त्यसलाई फेर्ने बौद्धिक अस्त्र भेट्टाएको छ । यस विषयमा लेनिले दर्शाउनु भएको छ– ‘मार्क्सवादी दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानवजातिलाई र खास रूपले मजदुर वर्गलाई ज्ञानका शाक्तिशाली औजारहरू प्रदान गरेको छ ।’

दर्शनको कति ठूलो महत्व हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल माक्र्सले यसरी व्याख्या गर्नुभएको छ– ‘जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेट्टाउँछ त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेट्टाउँछ ।’

मार्क्सवादका दार्शनिक पक्षको महत्वलाई माओ–त्से तुङले यसरी दर्शाउनु भएको छ– ‘मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ– मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिद्धान्त । तर, जगचाहिँ मार्क्सवादी दर्शन हो, यदि त्यसलाई मनन् गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन । हामी चिजहरूलाई स्पष्ट नपारीकन यताउताका कुरामा तर्क मात्र गरिरहेहका हुन्छौं, द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसकेपछि थुप्रै दुःख–कष्टबाट जोगिनेछौं र धेरै गल्तीहरू हट्नेछन् ।’

मार्क्सवादी दर्शन

कार्ल मार्क्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्स (१८२०–१८९५) मार्क्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । १९औं शताब्दीको पूर्वार्द्धमा पुँजीवादी समाजमा पुँजीपति र सर्वहारा वर्गबीच वर्गसंघर्षको अवस्था, प्रकृति विज्ञानका नयाँ खोजहरू र जर्मन शास्त्रीय दर्शन, इङ्ल्यान्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद, मार्क्सवादको जन्मका भौतिक तथा सैद्धान्तिक आधार बन्न पुग्दछन् ।

खासमा पुँजीवादी दर्शनमा काण्टदेखि हेगेल एवं फायरबाखसम्म आइपुग्दा दर्शनमा जुन समस्या पैदा भएका थिए, मार्क्स र एंगेल्सले तिनको समाधान वैज्ञानिक ढङ्गले गर्नुभयो । मार्क्सवादी दर्शनको नाम द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । मार्क्सवाद सर्वहारा वर्गको समग्र विचारधारा हो । दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीन तत्व मिलेर मार्क्सवाद बन्दछ । वर्गसंघर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवाद मार्क्सवादको इतिहास मीमांसाका मूल विषय हुन् ।

दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढङ्गले हल गर्नु, द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखी भौतिकवादको सिद्धान्त र द्वन्द्ववादको पद्धति अवलम्बन गरी नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु मार्क्सवादी दर्शनका मूलभूत विशेषता हुन् । (क्रमशः)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर