newskoseli.Com

अबको कूटनीति त्रिदेशीय साझेदारीको रणनीतिमा : प्रधानमन्त्री

cGt/lqmof sfo{qmd g]kfn ef/t ;DaGw / k|wfgdGqLsf] cf;Gg ef/t e|d0f ljifos /fhwfgLdf zlgaf/ cfof]lht cGt/lqmof sfo{qmddf k|wfgdGqL k’iksdn bfxfn / g]kfnL sfFu|];sL g]qL ;’hftf sf]O/fnf . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताएका छन् ।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसनले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेतृत्वले ठूलो चुनौती र जोखिम उठाएकै कारण मुलुकमा जनयुद्ध, शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानसभाबाट संविधान जारी सम्भव भएको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भने– “नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ । यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सक्नुहुन्न । पछिल्लो समय तराई र पहाडलाई एकताबद्ध पार्न नेताले नेतृत्व लिँदैछ, त्यसमा तपार्इंहरुको सहयोग चाहिएको छ ।”

pm_bhadau25

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याइछाड्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने– “नेपाल–भारत सम्बन्धमा दरार पैदा गर्दै जानेतिर होइन, समस्या समाधान गर्नेतिर नेपालको हितमा अधिकतम कूटनीतिक र राजनीतिक पहल लिने आवश्यकतामा नेतृत्व गर्न खोजेको छु, यसमा तपार्इंहरूकाे सहयोग चाहिएको छ ।”

उनले भारत भ्रमणकाे क्रममा नेपाली जनताका आधारभूत हित र सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको विपक्षमा कुनै पनि काम नहुने स्पष्ट पार्दै संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल गर्ने र अब आइन्दा त्यस्तो अवस्था आउन नदिने वातावरण बनाउने विश्वास दिलाउन प्रयास गरे ।

प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र समझदारी पैदा गर्ने र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । देशको आन्तरिक नीतिका अाधारमा विदेशनीति भर पर्ने भन्दै उनले त्यसमा मुलुकका सबै शक्तिले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा सुझाव दिँदै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाल–भारतको सम्बन्ध नयाँ तरिकाबाट अगाडि बढाउने समय आएको बताइन् ।

“नेपाल–भारत सम्बन्ध सन् १९६० को जस्तो होइन, अब सन् २०१६ को जस्तो हुन्छ र हुनुपर्छ”, उनले भनिन्– “नेपाली जनताको भावनाअनुसार नै सम्बन्धलाई विकास गरिनुपर्छ ।”

नेतृ कोइरालाले भारतसँगको सम्बन्धमा कुनै खोट देखिए त्यसलाई वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिँदै भनिन्– “नेपाली जनताको भावनालाई कुल्चेर होइन, राष्ट्र र मुलुकप्रति जिम्मेवार भएर सम्बन्धलाई मजबुत बनाउनुपर्छ ।”

नेकपा (माओवादी केन्द्र) का परराष्ट्र विभाग प्रमुख तथा पूर्वउपप्रधान एवं पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले भारतसँग असल मित्रको सम्बन्ध बनाउन चाहेको बताए । उनले भने– “नेपाल–भारत सम्बन्ध असल र मैत्रीपूर्ण हुनुपर्छ, यो अनिवार्य कुरा हो– दुबै मुलुकलाई केन्द्रमा राखेर छलफल गर्नुपर्छ ।”

श्रेष्ठले मुलुकको परराष्ट्र मामिलामा सबै राजनीतिक दलबीच न्यूनतम सहमति आवश्यक भएको बताउँदै राजनीति र कूटनीतिलाई सही रुपले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल–भारत प्रबुद्व समूहका संयोजक तथा पूर्वराजदूत भेषबहादुर थापाले मुलुकको परराष्ट्रनीति राष्ट्रिय सहमतिका आधारमा तय गर्नुपर्नेमा जोड दिँदै सोहीअनुसार दुई देशबीच छलफल हुनुपर्ने बताए ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको सीमालाई छाडा छाड्नु नहुने सुझाव दिँदै त्यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा छलफल हुनुपर्नेमा जोड दिए ।

इन्स्टिच्युटका सदस्य प्रा. अमन श्रेष्ठको सभापतित्व, अर्का सदस्य सुनिलकुमार पौडेलको स्वागत मन्तव्य र माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागका सचिव एवं पोलिटब्युरो सदस्य युवराज चौलागार्इंको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर