newskoseli.Com

भारत भ्रमणले नयाँ अध्याय थप्ने प्रम दाहालको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई भदौ ३० देखि असोज २ गतेसम्मको आफ्नो भारत भ्रमणबारे आइतबार जानकारी दिँदै प्रधानमन्त्री दाहालले २ देशबीचको सम्बन्धमा आसन्न भ्रमणले नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे ।

उनले भने – “यो भ्रमणले नयाँ आयाम थप्ने वातावरण बनोस् भन्ने चाहेको छु । त्यो सम्भवाना छ र मैले विश्वास पनि लिएको छु ।”

“मैले अहिलेसम्म जे बुझेको छु, सबैले विगतको तीतोमिठोबाट शिक्षा लिएर अघि बढ्न बल गरेको पाएँ,” उनले भने । १ वर्ष अघिका केही तीतामीठा अनुभवसहित २ देशको सम्बन्धलाई सामान्यीकरण मात्रै होइन सुदृढ गर्नका लागि आधार खडा गर्ने र विश्वासको बलियो आधार तयार गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाने भनेपछि सामान्यता बढी आशा, जिज्ञासा र शङ्का पैदा हुने गरेको बताउँदै आफ्नो भ्रमण नयाँ सन्धि, सम्झौता गर्ने भन्दा पुराना सन्धि, सम्झौता कार्यान्वयनमा केन्द्रित हुने स्पष्ट पारे ।

भूकम्पपछिको पुनर्निर्माणमा थप सहयोग, ऊर्जा व्यापार सम्झौता (पिटिए) र जल विद्युत्सम्बन्धी विगतका सम्झौता कार्यान्वयन र हुलाकी राजमार्ग निर्माणका विषयमा छलफल हुने उनको भनाइ छ ।

उनले भने– “स्वतन्त्र बजार अर्थतन्त्रको आधारमा सरकारी मात्रै होइन निजी क्षेत्रले समेत नेपालमा उत्पादन भएको ऊर्जा भारतमा र भारतमा उत्पादन भएको ऊर्जा नेपालमा ल्याउने गरी सहमतिको तयारी गर्दैछौं ।”

बैठकमा सांसदहरुले राखेका भावना र सुझाव लिएर राष्ट्रको हितमा काम गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरे।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्रीले जोखिम मोल्ने भनी दिएको अभिव्यक्तिप्रति आजको बैठकमा सांसदहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले आफूले सो कुरा सकारात्मक रुपमा प्रयोग गरेको र त्यसलाई त्यही रुपमा लिन आग्र गरे।

उनले भने– “मैले भारतमा गएर ‘रिस्क’ (जोखिम) मोल्छु भनेर भनेको रुपमा व्याख्या गर्नु अप्रसाङ्गिक हुन्छ । मैले जनयुद्धमा जाँदा, शान्ति प्रक्रियामा आउँदा, गणतन्त्र घोषणा गर्दा र संविधान जारी गर्दा रिस्क मोलेको हुँ, राष्ट्र र जनताको हितमा रिस्क मोल्नुपर्छ भनेको हुँ ।”
सहमतिको ‘फर्मुला’

प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनका लागि छलफल चलिरहेको र छलफल सहमति नजिक पुगेकोे जानकारी दिए ।

उनले भने – “हिजो र अस्ति प्रमुख दलका नेता र मधेसी मोर्चाका नेतासँगको छलफलबाट म के भन्नसक्छु भने सहमति हुन्छ । प्रतिपक्षमा रहेका पार्टी पनि त्यो संशोधनमा सहमति गर्रछन् ।त्यो फर्मुला मैल बाहिर भनेको छैन, त्यो फर्मुलामा उनिहरु आउछन् ।”

प्रधानमन्त्रीले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै लैजानेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए । उनले भने – “कसैले आफूलाई शासक ठान्ने र कसैले आफूलाई शासित ठान्दै जाने हो यसले देशमा समस्या निम्त्याउँछ । हिमाल, पहाड र मधेस सबै एकतावद्ध हुने सिद्धान्त नै राष्ट्रको हितमा हुन्छ ।”

आफू सोमबार मधेस जान लागेको र मधेसी जनताको समेत विश्वास लिएर भारत जाने उनको भनाइ छ । भारत भ्रमणबारे छलफल गर्न यही भदौ २८ गते सबै पार्टीको बैठक बोलाएको जानकारी पनि उनले दिए ।

यस्तो छ भ्रमण तालिका ;

प्रधानमन्त्री दाहालको भदौ ३० गते भारत जाने र असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । भदौ ३० गते नेपालीकै बीचमा बढी भेटघाट हुने, दूतावासमा स्वागत कार्यक्रम हुने र विदेशी पाहुनालाई बोलाएर अन्तक्र्रियात्मक कार्यक्रम गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीले समिति बैठकमा जानकारी दिनुभयो ।

दोस्रो दिन ३१ गते औपचारिक भेटघाट, असोज १ गते हिमाञ्चल प्रदेशको हाइड्रो प्रोजेक्टको अवलोकन भ्रमण र सोही दिन बेलुका नयाँ दिल्लीमै फर्किएर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ ।

बाबा रामदेवले सञ्चालन गरेको पतञ्जलि योगपिठको कारखाना अवलोकनको कार्यक्रम २ गतेका लागि तय गरिएको छ भने साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

सांसदका सुझाव ;

बैठकमा सांसदहरुले सीमा वारिपारि हुने अपराध नियन्त्रण, कोसी बाढीपीडितले अझै मुआब्जा र क्षतिपूर्ति नपाएको, सीमा सशस्त्र प्रहरी बलले सीमा आउजाउ गर्दा नेपालीलाई दुःख दिने गरेको विषय भ्रमणका बेला उठाउन जोड दिएका थिए ।

भारत हुँदै तेस्रो मुलुकमा नेपाली कामदारको ओसारपसार भइरहेकाले त्यसलाई रोक्ने, भारतबाट कामदारले रकम पठाउन असहज रहेकाले त्यो हटाउने विषय समेत भ्रमणका बेला उठाउन सांसदहरुले सझुाव दिए।

सांसद भीम रावलले २ देशको विवादित विषय समाधान गर्न दुबै देशका प्रतिनिधि सम्मिलित प्रवुद्ध समूह गठन भएकाले त्यसले दिने सुझाव र निष्कर्षका आधारमा मात्रै भारतसँग थप सहमति गर्नु उपयुक्त हुने सुझाव दिए ।

उन्ले महाकालीको डिपिआर छिटो बनाउन र तराई क्षेत्रको डुबान समस्या उठाउन सुझाव दिँदै भ्रमणका क्रममा रेडियो नेपालको विषयमा समेत केही सहमति गर्न लागिएको सुनिएकाले त्यसमा स्पष्ट हुन आवश्यक रहेको बताए ।

अर्का सांसद चूडामणि जङ्गलीले प्रधानमन्त्रीले जोखिम मोल्छु भनेको तर्फ सङ्केत गर्दै भ्रमणमा लिपुलेकको विषयमा कुरा उठाएर जोखिम मोल्न सुझाव दिए ।

सांसद भरत शर्माले भारतले नेपालको सीमा पारि बनाउँदै गरेको पूर्व–पश्चिम राजमार्गका कारण नेपालको तराई डुबानमा परेको विषय भ्रमणमा उठाउन सुझाव दिए ।

सांसद बलबहादुर केसी, जितेन्द्रनारायण देव, सुनिलबहादुर थापा लगायतले भारतसँगको सम्बन्ध सुदृढ गर्ने दिशामा भ्रमण केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर