newskoseli.Com

एमालेले सबै प्रदेशमा बनायो प्रदेश कमिटी

नेकपा (एमाले) स्थायी समितिको बैठकले सातवटै प्रदेशमा पार्टीका प्रदेश कमिटी गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अाइतबार केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न बैठकले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिने काम गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमालेले प्रदेश नं १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १ सय १ सदस्यीय कमिटी निर्माण गरेको छ । प्रदेश नं २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१ सदस्यीय कमिटी गठन गरेको छ । त्यस्तै, प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११ सदस्यीय, प्रदेश नं ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९ सदस्यीय, प्रदेश नं ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८० सदस्यीय कमिटी बनाइएको छ ।

प्रदेश नं ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ सदस्यीय र प्रदेश नं ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश सङ्गठन कमिटी गठन गरिएको जानकारी भट्टराईले दिए ।

यसअघि स्थायी समितिबाट निर्धारण भएका मापदण्डका आधारमा केन्द्रीय सङ्गठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत गरिएका नामलाई बैठकले अनुमोदन गरेको हो ।

प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिव, जिल्ला कमिटीका अध्यक्ष, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्ष केन्द्रीय कमिटीको विशेष निर्णयबाट मनोनीत भएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य, जिल्ला कमिटीको सिफारिसमा केन्द्रीय कमिटीद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्य र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्य समेत छन् ।

बैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले) मा समाहित भएकामध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ । एमाले स्थायी समितिकाे अर्को बैठक भदौ ३० गते १२ बजे पुनः बस्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर