newskoseli.Com

सहचालक चन्द्रबहादुरले बुझाए बसमा भेटिएको १० तोल सुन

सिर्सेकोट–९, स्याङजा निवासी केशरी अधिकारीले बसमा छाडेको १० तोला सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरिदिएका छन् ।

भदौ २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला छाडेकी थिइन् । तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि राखिएकोमा झोला बसमै छाडिएपछि उनी उनको परिवार ठूलाे चिन्तामा परेको थियो ।

अधिकारी परिवारले सुनको माया मारिसके पनि अन्ततः हात पर्याे । बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाइदिएका थिए । झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो । बरुवालले अधिकारी परिवारको गुनासो समितिमा सुनाउँदा सहचालक क्षेत्रीले झोला समितिमा बुझाइसकेका थिए ।

समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरियाे ।

उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई नगद सहित सम्मान गरियो । “म श्रम गरेर खान्छु, कहिल्यै बेइमानी गर्दिन”, सामान बुझाउने क्रममा भावुक हुँदै सहचालक क्षेत्रीले भने– “फेला परेको सामान बुझाउन पाउँदा म निकै खुसी छु ।”

“बसका कर्मचारी इमानदार हुन्छन् भन्ने कुरा चन्द्रबहादुरले प्रमाणित गरेका छन्,” पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कार्यालय प्रमुख वसन्त बास्कोटाले भने– “उहाँबाट धेरैले पाठ सिक्नुपर्छ ।”

हराएको सम्पत्ति पाउँदा निकै खुसी लागेको स्याङजाबाट सामान बुझ्न आएका केशरीका जेठाजु दयाराम पराजुलीले बताए । “हामी निकै खुसी छौं, बसमा हराएको सामान फेला पर्दैन होला भन्ने लागेको थियो तर फेला पर्यो,” पराजुलीले भने– “चन्द्र भाइ साह्रै इमान्दार कर्मचारी रहेछन् ।”

सामान बुझ्ने क्रममा सामान फेला पार्ने क्षेत्रीलाई ५ हजार रुपैयाँ र समितिसम्म सम्पर्क गराइदिने बरुवाललाई ३ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर