newskoseli.Com

किन उठ्दैनन् सरकारी कार्यालयका टेलिफोन ?

जिल्लाका अधिकांश सरकारी कार्यालयका टेलिफोन नउठ्दा सेवाग्राहीहरु हैरान भएका छन् । जरुरी काम परेर डायल गर्दा सरकारी कार्यालयका टेलिफोन नउठेपछि सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

यसरी टेलिफोन नउठाउनेहरुमा जिल्ला प्रसासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला पशुसेवा कार्यालय, सिँचाई विकास डिभिजन कार्याय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला भूसंरक्षण कार्यालयलगायत छन् ।

कार्यालय समयको अधिकांश समय यी अड्डाहरुको टेलिफोन नउठ्ने गरेको गुनासो सेवाग्राहीहरुले गरेका छन् । कार्यालय प्रमुख र कर्मचारीहरु कार्यालयको काम र जनताप्रति जवाफदेही नहुनु र सबैका हातहातमा मोबाइल फोन हुनु नै टेलिफोन नउठ्नुका प्रमुख कारण हुन् ।

यसो हुँदा दुर्गम गाउँका सेवाग्राहीहरु समस्यामा परेको चुचुरेका श्यामकुमार श्रेष्ठले न्युजकोसेलीलाई बताए । जिल्ला भूसंरक्षण कार्यालयसँग सम्बन्धित काम परेर पटकपटक टेलिफोन गर्दा पनि नउठेपछि त्यही कामका लागि ३ हजार रुपैयाँ खर्च गरेर कार्यालयमा धाउनुपरेको गुनासो उनले गरे ।

सेवाग्राहीहरुको गुनासो स्वाभाविक भएको नागरिक अगुवा एवं सञ्चारकर्मी हिमाल ढुंगेलले स्वीकारे । ‘पछिल्लो समयमा जिल्लाका अधिकांश सरकारी कार्यालयका टेलिफोनहरु उठ्न छाडेका छन्, यो तरिका ठीक होइन’, उनले भने– ‘यसबारे सम्बन्धित पक्षको तत्काल ध्यान जानुपर्छ ।’

जिल्लाको मुख्य विकासे अड्डाका रुपमा परिचित जिल्ला विकास समितिले लामो समयदेखि नै टेलिफोन अपरेटरका हैसियतमा कर्मचारी नियुक्त गरेर तलब खुवाइरहेको छ तर अधिकांश समय सोही कार्यालयको टेलिफोन नउठ्ने गरेका गुनासाहरु प्रशस्तै आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पनि यस कुरालाई स्वीकार गरे । ‘कतिपय सरकारी कार्यालयहरुले त टेलिफोन नउठाउने कुरा ख्यालख्याल जत्तिकै पो रहेछ’ प्रजिअ अधिकारीले भने– ‘त्यसैले यो कुरामा सम्बन्धित पक्षले तत्काल सुधार गर्नुपर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर