newskoseli.Com

देउवा भन्छन्– नेपालमा छिट्टै महिला प्रधानमन्त्री

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश र सभामुख महिला भएको परिवेशमा छिट्टै प्रधानमन्त्री पनि महिला नै हुने बताएका छन् ।

पार्टीको भ्रातृसंस्था नेपाल महिला सङ्घका तेस्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद हस्तान्तरण गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले सो कुरा बताएका हुन् ।

संविधानसभाबाट संविधान जारी भएपछि महिलाका हकअधिकार बढेको बताउँदै उनले भने– “छिट्टै हुने स्थानीय निकायको निर्वाचनमा पनि संविधानले महिलाको बढी प्रतिनिधित्व हुने प्रावधान राखेको छ ।”

संविधान कार्यान्वयन मुलुकको प्रमुख चुनौती भएको बताउँदै देउवाले त्यसका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन हुनु अपरिहार्य रहेको विचार व्यक्त गरे ।

निकट भविष्यमा हुने स्थानीय निकायको निर्वाचनमा लोकतन्त्रको रक्षा र संविधान कार्यान्वयन गर्न कांग्रेसले जित्नैपर्ने बताउँदै उनले त्यसमा महिला सङ्घलगायत भ्रातृसंस्थालाई सक्रिय रुपमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा कांग्रेस नेता समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकार गठनका बेला सत्तासाझेदार दलसँग भएका सहमतिका आधारमा संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन गर्नु अपरिहार्य रहेकामा जोड दिँदै उनले सबै तहका निर्वाचनलाई केन्द्रीय मुद्दा मानेर अघि बढ्न महिला सङ्घलाई सुझाव दिए ।

कार्यक्रममा पार्टीका कोषाध्यक्ष एवम् शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादवले पार्टीभित्रको आन्तरिक निर्वाचनमा कसैको हारजित नहुने बताउँदै नयाँ निर्वाचित नेतृत्वले सबैलाई मिलाएर अघि बढ्न सके मात्र सफल हुने धारणा राखिन् ।

पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै नयाँ काम गर्न नेतृत्वको काँधमा थप जिम्मेवारी थपिएको बताए ।

महिला सङ्घका नवनिर्वाचित अध्यक्ष उमा रेग्मी, निवर्तमान अध्यक्ष डा. डिला सङ्ग्रौला, पूर्वसभासद् उर्मिला थापामगरलगायतले महिलाका लागि संविधानले व्यवस्था गरेका हकअधिकार कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर