newskoseli.Com

पुराना सन्धिसम्झौता कार्यान्वयनको सम्झौता दुर्भाग्यपूर्ण : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नेपाल र भारतबीच भएको सहमति राष्ट्रहितविपरीत भएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रिया गर्दै अध्यक्ष वैद्यले भारतलाई संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका लागि सहयोग गर्ने, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतलाई कार्यान्वयन गर्ने सहमति राष्ट्रहितविपरीत भएको जिकिर गरे ।

उनले भने– “विगतमा भारतसँग भएका सम्पूर्ण सन्धि–सम्झौता खारेज गरेर नयाँ आधारमा नयाँ सम्झौता गर्नुपर्नेमा पुराना सन्धि–सम्झौतालाई कार्यान्वयनमा लैजाने सम्झौता गरेर आउनु दुर्भाग्यपूर्ण हो, त्याे गम्भीर प्रकारकाे राष्ट्रघात नै हाे ।”

आफ्नो पार्टीले संविधानलाई अस्वीकार गरेको र आफूहरु मात्रै वास्तविक रुपमा प्रतिपक्षी पार्टी भएको वैद्यको भनाइ छ । माओवादी लडाकुको शिविरमा भएको भनिएको अनियमितताबारे आफूहरुलाई थाहा नभएको उनले बताए । उनले भने– “शिविरको रकमबारे हामीलाई थाहा छैन, हामी नेतृत्वमा नभएकाले त्यो विषय माओवादी केन्द्रका नेताहरूलाई नै बढी थाहा छ, यसबारे केही बाेल्नु हामी अावश्यक ठान्दैनाैं, साँच्चै अावश्य परेछ भने बाेलाैंला पनि ।”

माओवादी केन्द्रले संसदवादलाई स्वीकार गरेको र आफूहरुले त्यसलाई स्वीकार गर्न नसकेकै कारण पार्टी एकता हुन नसकेको उनको प्रष्टोक्ति छ । वैद्यले भने– “पार्टी एकताका लागि हामीले र म स्वयंले पनि धेरै प्रयास गरेकै हो तर विचार र सिद्धान्तमा कुरा नमिलेपछि एकता हुन सकेन ।”

भविष्यमा माओवादी केन्द्रसँग एकताको सम्भावना अझै रहेको स्वीकार गर्दै उनले तत्कालै सो पार्टीसँग एकताको सम्भावना नरहेको बताए ।

चुनावमा भाग लिने–नलिने : परिस्थितिमा भर पर्छ

अध्यक्ष वैद्यले परिस्थिति हेरेर मात्रै उपाध्यक्ष सिपी गजुरेलको नेतृत्वमा पार्टीले गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट चुनावमा भाग लिने वा नलिने कुरा उतिबेलै मात्र निर्धारित हुने बताए ।

उनले भने– “आवश्यकताअनुसार चुनावलाई समेत उपयोग गर्ने नीति लिएका छौं तर आन्दोलनलाई अगाडि बढाउने अवस्था आए बहिस्कार गरेर जान्छौं ।”

भर्खरै मात्र पार्टी प्रवक्ताको जिम्मेवारी पाएका नेता हरिभक्त कँडेलले सञ्चालन गरेको कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं नवगठित मोर्चाका अध्यक्ष सीपी गजुरेलले पनि सञ्चारकर्मीसँग विविध विषयमा छलफल गरे । कार्यक्रममा पार्टीका नेता रामसिंह श्रीस, दिनेश शर्मा, पार्टीसम्बद्ध पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतलगायत सहभागी भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर