newskoseli.Com

तीनवटै निर्वाचन नभएसम्म संविधान कार्यान्वयन असम्भव : मन्त्री पौडेल

शिक्षामन्त्री धनीराम पौडेलले देशमा स्थानीय, प्रदेश र केन्द्रीय गरी तीनै तहका निर्वाचन नभएसम्म संविधान कार्यान्वयन नहुने बताएका छन् । उनले संविधान कार्यान्वयन गर्नका लागि संविधान संशोधन अत्यावश्यक रहेको समेत बताए ।

रामेछापको मन्थलीमा बुधबार आयोजित ‘साक्षर रामेछाप’ घोषणासभामा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका उनले अहिले संविधान कार्यान्वयन र संशोधनका सवाल व्यापक रुपमा उठेको भन्दै सबैको सहमतिमा मात्र संविधान संशोधन सम्भव हुने बताए ।

देश विकासका लागि राजनीतिक स्थिरता अत्यावश्यक रहेको उनले बताए ।  एउटा पार्टीविशेष र व्यक्तिविशेषको नभई बहुसङख्यक जनताको अपनत्व हुनेगरी राजनीति नगरिएसम्म मुलुकमा स्थिर राजनीति नहुने उनको भनाइ छ । पछिल्लो समयमा मुलुकमा भएका सफलताहरु एक–दुई वटा ठूला पार्टी मात्र मिलेर नभई जनताको सहभागितामा भएको उनले बताए ।

शिक्षामन्त्री पौडेलले अहिले नेपालको शिक्षानीति २०२८ सालमा बनाइको पुरानै नीति भएकाले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न चुनौतीहरु रहेको बताए । उनले आजको राज्यनीति जुन ठाँउमा छ, शिक्षाप्रणाली त्योभन्दा धेरै पछाडि रहेको बताए ।

मन्त्री पौडलले नगरी नहुने ठाउँमा २०२८ सालको शिक्षा नीतिलाई टालटुल गरेर संशोधन गरिएजस्तो गरेर काम चलाउने गरिएको पनि बताए । उनले अहिले चलिरहेको शिक्षाप्रणाली परिवर्तन गर्नु जरुरी रहेको बताउँदै यो परिवर्तनका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिए ।

रामेछापमा बसोबास गर्ने १५ देखि ६० वर्षमुनिका नागरिकहरुमध्ये ९५ प्रतिशतभन्दा बढि साक्षर भएकाले अन्तर्राष्ट्रिय नीतिअनुसार रामेछापलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी दिनेशराज पन्तको अध्यक्षतामा भएको साक्षर जिल्ला घोषणासभामा सांसदहरु श्यामकुमार श्रेष्ठ, कमला सुवेदी, शिवबहादुर खड्काले रामेछाप जिल्लामा अझै पनि विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको बताए ।

उनीहरुले रामेछाप जिल्लाका विद्यार्थीहरुलाई सुरक्षित भवनमा बसेर पढ्ने वातावरण चाँडोभन्दा चाँडो बनाउन मन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका सभापति लबश्री न्यौपाने, एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेल, नेकपा (माओदी केन्द्र) का जिल्ला इन्चार्ज धावा लामा, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिपेन्द्र ढुङ्गेल, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष बद्री नयाँघरे लगायतले पनि आ–आफ्नो मन्तव्य राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर