newskoseli.Com

प्रेमबाट नगुज्रेको मानिस र क्रान्तिबाट नगुज्रेको मुलुक अपूर्ण : नेता गिरी

नेपाली कांग्रेसका चिन्तनशील एवं बाैद्धिक नेता प्रदीप गिरीले क्रान्तिबाट नगुज्रिएको मुलुक र प्रेमबाट नगुज्रिएको मानिस अपूर्ण हुने बताएका छन् । वरिष्ठ पत्रकार हरिहर विरहीद्वारा लिखित ‘आगो निभेको छैन’ पुस्तकको विमोचन गर्न बिहीबार राजधानीमा आयोजित समारोहमा पुस्तकमाथि विवेचना गर्दै उनले त्यस्ताे धारणा राखेका हुन् ।

साेही कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा देखिएको गुटबन्दीप्रति चिन्ता व्यक्त गरे । नेता पौडेलले पार्टीभित्र बढ्दै गएको गुटबन्दीले कांग्रेस कता जाँदैछ भनी चिन्ता व्यक्त गर्दै गर्दै आफू रहेसम्म कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताए ।

उनले भने– “मैले पार्टी सभापति शेरबहादुर देउवालाई ‘तपाईं सभापति भइसक्नु भयो, ३ पटक मुलुकको प्रधानमन्त्री पनि हुनुभयो अब सीमित घेरामा नबस्नुस् भनी सुझाव दिएँ ।”

ठूलो बलिदान र सङ्घर्षबाट आएको पार्टीको लेखाजोखा नगरी अघि बढ्न सकिँदैन भन्दै उनले भने– “मैले निर्वाचनमा हारे पनि सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो पारेको छैन । पार्टीमा गुटबन्दीको अन्त्य र पार्टीलाई एकाकार गरी अघि बढाउन म सधैं तयार छु ।”

नेता पौडेलले सभापति देउवालाई परम्परागत गुटबन्दीको अन्त्य गरी आफूसँग समझदारी गरेर अघि बढे बीचमा बागीले खेल्न नपाउने सुझाव पनि दिएको जानकारी गराए ।

कार्यक्रममा कांग्रेस नेता समेत रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र र शान्तिसँग सम्बन्धित काम गर्न अझै बाँकी रहेको बताउँदै संविधानको स्वामित्व बढाउन संविधान संशोधनको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

आन्दोलनबाट गणतन्त्र, सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता र मिश्रित निर्वाचन प्रणाली उल्लेख्य ५ उपलब्धि भएको बताउँदै उपप्रधानमन्त्री निधिले भने– “संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन गर्नु आवश्यक छ ।”

नेता कृष्णप्रसाद सिटौलाले जनआन्दोलन र लामो सङ्घर्षपछि मुलुक आजको अवस्थासम्म आइपुगेको बताउँदै आन्दोलनले ठूलो परिवर्तन ल्याए पनि राजनीतिक नेतृत्वले जनताले चाहेअनुरुप काम गर्न नसकेको विचार व्यक्त गरे ।

वरिष्ठ पत्रकार हरिहर विरहीले पुस्तक लेख्दाका अनुभव सुनाउँदै आफूले नयाँ पुस्तालाई यथार्थ इतिहासको जानकारीका लागि पुस्तक लेखेको बताए । अर्का वरिष्ठ पत्रकार विजयकुमारले वाक स्वतन्त्रता समेत नभएको परिवेशमा पत्रकार विरहीले नेपाली पत्रकारितामा गरेको योगदानको प्रशंसा गरे ।

पुस्तकको विमोचन प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् कांग्रेस नेताद्वय सहिद केशव कोइराला र बोधप्रसाद उपाध्यायका श्रीमती क्रमशः गुणकुमारी कोइराला र विद्या घिमिरे उपाध्यायले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर