newskoseli.Com

प्रत्यक्ष राष्ट्रपतिका लागि आन्दोलन गर्छौं : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संघर्ष गर्ने बताएका छन् । नेपालमा संसदीय व्यवस्था अस्थिर भएकै कारण गरिबी र पछौटेपन हट्न नसकेको भन्दै उनले शासकीय स्वरुप फेर्नुको विकल्प नरहेको बताए ।

मंगलबार राजधानीमा नयाँ शक्तिको प्रशिक्षण विभागले आयोजना गरेको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण मन्तव्य राख्दै उनले भने– ‘यस्तो अस्थिर प्रकारको शासकीय स्वरुपको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति नयाँ शक्तिले सशक्त आन्दोलनको तयारी गर्नेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले भर्खरै भारत भ्रमणका क्रममा गरेको २५ बुँदे संयुक्त विज्ञप्तिप्रति असहमति जनाउँदै भट्टराईले त्यसले नेपाललाई भुटानीकरणको बाटोमा लगेको जिकिर गरे । त्यसका विरुद्ध समेत सशक्त आन्दोलन गर्ने संयोजक भट्टराईले बताए ।

डा. भट्टराईले नयाँ शक्ति पार्टीको टेक्ने आधार नेपाली समाजको बहुवर्ग भएको बताउँदै कामचोर वर्गबाहेक पुँजीपति, श्रमजीवी, बुद्धिजीवी सबै तप्काको प्रतिनिधित्व नयाँ शक्तिले गर्ने बताए । उनले यही वर्गका बीच नयाँ शक्तिलाई स्थापित गराएर आगामी निर्वाचनबाट वैकल्पिक राजनीतिक शक्तिका रुपमा जनताबीच स्थापित गर्ने धारणा राखे ।

यही वर्गलाई ध्यानमा राख्दै सडक, सदन र सरकारको मोर्चामा नयाँ शक्ति सशक्त रुपले अगाडि आउने धारणा डा. भट्टराईले राखे । बदलिएको परिस्थतिअनुरुप नयाँ शक्तिलाई विकसित गर्दै सधैं नयाँ शक्तिकै रुपमा स्थापित गर्ने लक्ष्य आफूहरुले लिएको भन्दै उनले नयाँ शक्ति आर्थिक, सांस्कतिक र आचरणका हिसाबमा पनि खुला र पारदर्शी शक्ति हुने बताए ।

उनले नेपालको विकासमा आन्तरिक राष्ट्रिय एकता कायम गर्नुपर्ने र सँगसँगै बाह्य राष्ट्रियताको पक्षमा समेत ध्यान दिनुपर्ने बताए । नेपाल पृथ्वीनारायण शाहले भनेजस्तो दुई ढुंगाबीचको तरुल नभई आर्थिक रुपमा सम्पन्न दुई ठूला राष्ट्र चीन र भारतबीचको गतिशील पुल भएको उल्लेख गरे ।

पार्टीका सहसंयोजक रामचन्द्र झाले राष्ट्रियताको पुनव्र्याख्या विषयमा धारणा राख्दै नेपाल विविध राष्ट्रियता भएको देश भएकाले सबै राष्ट्रियताहरुको सम्मान र पहिचानले मात्रै इन्द्रधनुषी राष्ट्रवाद बन्ने र त्यो नै नेपालको विशिष्ट पहिचान हुने बताए ।

नेता झाले यो राष्ट्रको निर्माणमा सबै क्लस्टरका समुदायको बराबरी योगदान रहेको चर्चा गर्दै मधेशी समुदायका मानिसहरु इतिहासदेखि नै संघीय शासन व्यवस्थामा शासित भएकाले उनीहरुको डीएनएमा नै संघीयता भएको भन्दै संघीयताका लागि सबैभन्दा बढी मधेशी समुदाय आन्दोलित भएको दावी गरे ।

पार्टीका प्रवक्ता खिमलाल देवकोटाले विश्व नै अहिले वैकल्पिक राजनीति र वैकल्पिक विचारको बहसमा रहेकाले नेपालमा पनि वैकल्पिक राजनीतिको आवश्यकता रहेको चर्चा गरे । उनले अबको राजनीतिले जनताको अवस्थामा परिवर्तन गर्नुपर्ने भएकाले हिजोको जस्तो व्यवस्था परिवर्तन गर्ने एजेन्डाहरु अब प्रयोगबिहीन भएको बताए ।

सोही पार्टीको संसदीय मामिला विभागका प्रमुख केशव दाहालले विश्वमा प्रचलित लोकतन्त्रका मोडलहरुको चर्चा गर्दै अबको आवश्यकता जनताको साँचो प्रतिनिधित्व हुने सहभागितामूलक, समावेशी र प्रत्यक्ष लोकतन्त्र नै लोकतन्त्रको वैकल्पिक मोडेल हुने बताए ।

पार्टीका प्रादेशिक प्रतिनिधि, जिल्ला संयोजक, विभागीय तथा आंगिक संगठनहरुका प्रतिनिधि सहभागी अभिमुखीकरण कार्यक्रममा कल्पना धमलाले पार्टीमा आंगिक संगठनहरुको सम्बन्ध र परिचालनको विषयमा प्रकाश पारिन् ।

नेता पर्शुराम तामाङले संघीयताको प्रबन्धन र नयाँ शक्तिको दृष्टिकोण विषयमा चर्चा गर्दै संघीयताको व्यवस्थापन गर्दा पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारलाई सैद्धान्तीकृत गरेर त्यसैको मर्म र भावनाअनुसार प्रदेशहरुको सीमांकन गर्नुपर्नेमा जोड दिए । प्रशिक्षण बुधबारसम्म चल्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर