newskoseli.Com

बढ्यो दसैंको चहलपहल, सहर रित्तिँदै–गाउँ भरिँदै…

नेपालीको महान् चाड बडादसैंको आगमनले पोखरा र आसपासमा केही दिनयता चहलपहल बढ्दै छ । दसैंलाई लक्षित गरी आवतजावत गर्नेको चाप सहरी क्षेत्रमा बढिरहेको छ भने दसैंका लागि गाउँ फर्कने क्रमले अघिपछि सुनसान रहने गाउँवस्तीमा खुसीयाली बढाएको छ ।

रोजगारीको खोजीमा गाउँ छाड्नुपर्ने युवाको बाध्यता भए पनि दसैंतिहार जस्ता चाडपर्वले वर्षमा एक–दुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की भरतपोखरीका टेकप्रसाद अधिकारी बताउँछन् ।

“पछिल्ला वर्षमा अधिकांश गाउँका युवा रोजगारीको खोजीमा विदेश गएका छन् भने नेपालभित्रै पनि रोजगारी र अन्य अवसरका लागि युवा सहर बस्ने गरेकाले धेरै गाउँमा बूढाबूढीबाहेक कोही छैनन्,” उनले भने– “कहिले दसैं आउला र आफ्ना छोराछोरीसँग बसौंला भन्ने आशामा वर्ष बिताएका बूढाबूढीमा आफ्ना छोराछोरी तथा परिवारका सदस्य फर्केपछि खुसीयाली छाएको छ ।”

रोजगारीका सिलसिलामा भारतको नयाँदिल्ली पुगेका नेपाली केही दिनयता ठूलो सङ्ख्यामा फर्किरहेको दिल्ली–पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर एन्ड ट्राभल्स दिल्ली शाखाका संयोजक दिलप पौडेलले जानकारी दिए ।

दसैं आउनुभन्दा एक महिना अघिदेखि नै पोखरा तथा बागलुङको बस टिकट लिन धेरै नेपाली सम्पर्कमा आएको उनले बताए । “मोडर्न इराले दिल्लीको बरफखानाबाट बागलुङ हप्तामा तीन दिन र दिल्लीकै जहांगिरपुरीबाट पोखरा दैनिक एक वटा बस निरन्तर सञ्चालन गर्दै आएको थियो,” उनले भने– “दसैंतिहारमा स्वदेश फर्कने नेपालीको चापलाई दृष्टिगत गरी दिल्लीबाट बागलुङ दैनिक एक बस सञ्चालनमा ल्याएका छौं भने जहांगिरपुरीबाट अरु दुई वटा बस थपेर दैनिक तीनवटा बस सञ्चालनमा आएका छन् ।”

मोडर्न इरा र उत्तर प्रदेश परिबहन निगमको सहकार्यमा नयाँदिल्लीकै आनन्द बिहारबाट पोखरा र पोखराबाट आन्नद बिहारका लागि दैनिक नेपाल–भारत मैत्री बस सेवा पनि सञ्चालन हुँदै आएको छ ।

दसैंको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई असहज नहोस् भनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिररहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार शाहीले जानकारी दिए ।

“दसैंमा घर फर्कने जो–कोहीले यातायातका कारण असुविधा नपाउन् भन्ने सोचका साथ गाडीको सङ्ख्या बढाएका छौं,” उनले भने–“पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत पोखराबाट दैनिक ६–७ सय सङ्ख्यामा बस गुडिरहेकामा दसैंलाई लक्षित गरी लगभग १ हजार ३ सय भन्दा बढी सङ्ख्याका बसले यतिखेर सेवा दिइरहेका छन् ।”

घटस्थापना सुरु भएयता रोजगारीका क्रममा पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिक रुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका विभिन्न जिल्लामा फर्कने क्रम निकै बढिरहेको छ ।

दसैंका लागि पोखराको टुँडिखेललगायतका स्थानमा हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याउने क्रम पनि बढिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर