newskoseli.Com

खाद्यान्नको सट्टा रक्सी : १ किलो चामलको १ सय ६०

सिंगै देशलार्इ दसैंले छोपिरहँदा जिल्लाका काँडा लगायतका दर्जनौं गाउँमा खाद्यान्न सङ्कट भएको छ । सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।

ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी (मदिरा) ढुवानी गर्न थालेका हुन् । बर्सेनि खाद्यान्नको सङ्कट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जङ्गली कन्दमूल, सिस्नु खान थालेका छन् ।

व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरा मात्र राख्ने गरेका काँडा गाविसका उमेश बोहराले बताए । “अन्न नछोएको ५ दिन भयो, दसैं–तिहारमा भात खानुपर्ला भनेर गाउँका सबै पसल चाहारें, कतै चामल भेट्टाइनँ” उनले भने । उनलाई सदरमुकाम चैनपुर पुग्न ४ दिन लाग्छ ।

पाखो जमिनमा लगाएको कोदो, मकै, आलु लगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जङ्गली जनावरले खाइसकेको काँडा–३ का रामबहादुर बोहराले बताए । “घरमा एक मुठी अन्न छैन, ऐंचोपैंचो गरौं भने पनि कसैको घरमा अन्न छैन”, उनले सुनाए– “भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् । चैनपुर पुग्न ४ दिन लाग्ने काँडामा १ किलो मोटो चामलको मूल्य १ सय ६० रूपैयाँ पर्छ ।”

“व्यापारीले फाइदा लिने हो, हामीलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ,” काँडाका व्यापारी राजेन्द्र बोहराले भने । चैनपुरबाट कमसल खालको मदिरा ३० रूपैयाँमा किनेर ८० रूपैयाँमा बिक्री गर्ने गरेको उनले सुनाए । द्वन्द्वका समयमा बन्द भएको मेलबिसैना खाद्य डिपोबाट नागरिकले आवश्यकता अनुसार चामल पाउन सकेका छैनन् । डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर