newskoseli.Com

महाष्टमीको राति प्रहरी कारबाहीमा १ को मृत्यु

पर्सा प्रहरीको कारबाहीमा महाष्टमीको राति १ जनाको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका– १८ को सिरोमणि टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भीडन्तका क्रममा प्रहरीले चलाएको गोली लागी १ युवकको मृत्यु भएको प्रहरीको भनाइ छ ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागू गरेको विशेष सुरक्षा योजनाअन्तर्गत वीरगञ्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार २ जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले जानकारी दिए ।

मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताए । फरार भएका अन्यको खोजीका लागि वीरगञ्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी गरेको छ । प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएका युवक भारतीय हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । पर्वको बेला वीरगञ्जमा आपराधिक घटना घटाउन आएको प्रहरीले शङ्का गरेको छ ।

आधिकारिक रुपमा नबताइए पनि मृतक भारत बिहारको रक्सौल निवासी दिसाद आलम रहेको प्रहरी स्रोतले दाबी गरेको छ । वीरगञ्जका चर्चित व्यापारी सुरेश केडियाको केही महिना अगाडि भएको अपहरणमा पनि संलग्न रहेको र प्रहरीको खोजी सूचीमा समेत रहेका आलमको भीडन्तका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ थान गोली पनि बरामद गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर