newskoseli.Com

देश कता जाँदैछ ?

ज्ञात अज्ञात शहीदहरुले आफ्ना रहरलाग्दा सांसारिक इच्छालाई तिलाञ्जली दिएर सन्तानलाई दुईवटा मार्गदर्शन गरेका छन्– देशको चौतर्फी विकास र सम्पूर्ण जनताको सर्वपक्षीय उत्थान । हामीले छातीमा हात राखेर हृदयको ढुकढुकीसँग आफैंलाई सोध्ने समय आएको छ– के हामी राष्ट्रोत्थानको कार्यमा समर्पित छौं ? के हामी जनउत्थानका कार्यमा मन र वचनले लागेका छौँ ?

देशको स्थिति जतिजति समय बित्दै जान्छ पहिलेभन्दा बढी विकराल बन्दै गएको छ । विदेशी हस्तक्षेप आँक्नै नसक्ने किसिमले बढिरहेको छ। विकासका कार्यहरु ठप्प छन् । उद्योगधन्दा ठप्प छन् ।    जनताको जीवनस्तर दिनानुदिन सुध्रनुको साटो बिग्रँदो छ,। दुई छाक खान पाउने मान्छेहरु एक छाके भएका छन् । मुठ्ठीभर नेताका शरीर चिल्लिएर जनता अघाउँदैनन् । दशजना चप्पलेका महल रातारात ठडिएर जनताको जीवनस्तर सम्पन्न भएको ठानिँदैन । के नेताहरु यसतिर संवेदनशील देखिएका छन् ?

नेपाली कांग्रेस यथास्थितिमा विश्वास गर्छ । उसलाई सहज प्राकृतिक गतिमै हिँडिरहन पाए पुग्छ । माओवादी, एमाले र कांग्रेसमा परिचयको भिन्न रेखा मेटिसकेको छ, भलै नारामा आफू सच्चा कम्युनिस्ट हुँ भनेर उनीहरु किन पेश नहोउन् ।

बन्दुक समातेर देशमा आमूल परिवर्तन गर्छु भनेर आएको एमाओवादी अहिले सत्ता, भत्ता र विलासिताको दलदलमा फँसेको छ  । ऊ पुँजीवादी माहौलमा यति भ्रमित भएर चक्कराउन लागेको देखिन्छ कि अब मानसपटलमा सत्र हजार शहीदको रगतको झिनो मेमोरीसम्म देखिँदैन ।

अरु मुलुकका हिंसात्मक क्रान्तिसित तुलना गर्दा, भारत र चीनमा क्रान्तिको दौरानमा शहीद भएका मानिसको  संख्यालाई समेत हेर्दा नेपालमा भएको यो मृत्यु संख्या निकै कम हो । । तथापि यति मानिसको मृत्युको शर्तमा सिंहदर्वार बदल्छु भनेर आएकाहरु अहिले त्यसलाई बदल्न असक्षम देखिएका छन् । बरु सिंहदर्वारले उनीहरुलाई बदलेको छ ।

विगत सम्झनुको अर्थ पश्चाताप र हिनताबोध होइन, भविष्यप्रतिको संचेतना हो । अब कता जाने र के गर्ने ? भन्ने कुरा  विगतकै सम्झनाले जन्माउँछ । देशको विकास र जनताको भलाइ गर्ने हो भने,सँधै नकारात्मक सोच राखेर हुँदैन ।  परनिर्भरताको परम्परागत विचार त्यागेर स्वावलम्बनको जग हरेक क्षेत्रमा राख्दै जानु वर्तमानको आवश्यकता हो । यसका दुईवटा मात्र आधार छन् । या त यो कार्य माथिबाट सुरु हुनुपर्याे या त तलबाट । माथिबाट भन्नाले नेतृत्वबाट  जोसँग देशको राजनीतिको लगाम रहेको हुन्छ । अहिले माथिबाट परिवर्तनको सम्भावना एकदमै कम देखिन्छ । तलबाट भन्नाले जनस्तरबाट । त्यसको भरपुर सम्भावना छ । हामी आफैले तलबाट परिवर्तनको लागि काम थालेमा त्यसले माथिलाई पनि परिवर्तनको लागि बाध्य पार्नेछ ।

अहिले विद्यमान जनस्तरका संगठनहरु ज्यादाजसो उपभोक्तावादी चरित्रका छन् । यसका कारण नेपालका आन्तरिक संगठनहरुलाई समेत नकारात्मक असर परिरहेको छ । अब नेपाली युवाहरुले सांंस्कृतिक रुपले रुपान्तरणकारी चरित्रको संगठनहरुको निर्माण गर्नु परेको छ । हामीले निराशावादको सट्टामा आशावादलाई प्रोत्साहित गर्दै उपभोक्तावादी चरित्रको सट्टामा सांस्कृतिक रुपान्तरणको अभियान चलाउनु परेको छ । राम्रो र समृध्द नेपाल हामी आफै निर्माण गर्न सक्छौँ, त्यो हाम्रै पालामा हाम्रै मिहेनतले निर्माण गर्न सक्छौँ भन्ने सोचको संचार गराउनु आशावाद हो । खराब नेताहरुका कारण नेपाल विग्रियो सिध्दियो अव केही हुँदैन भन्ने सोच निराशावाद हो ।

हाम्रो नेपालको अहिलेको स्थिति हेर्ने हो भने नेपालमा अहिले जति शिक्षित युवाहरु बिगतमा कहिल्यै थिएनन् । तर अहिले जति युवाहरु विदेश पलायन भएको पनि कहिल्यै थिएन । त्यो निराशावादी सोचले गर्दा हो । नेपालमा अब केही हुँदैन भन्ने सोचले गर्दा । नेपाली युवाहरुको शीप र शिक्षाको उच्च स्तरले गर्दा विदेशमा समेत उनीहरुको ब्यापक माग छ । अवसरको खोजमा भएको युवाहरुको यो पलायन नेपालको विकासको सम्भावनाको ठीक बिपरीत छ ।

युवा पुस्ता बिना उत्पादनशील श्रम असम्भव छ, उत्पादनशील श्रमविना समृध्दि असम्भव छ । देशबाहिर थोरै पैसाका लागि ५० डिग्रीको तापक्रममा जे पनि श्रम गर्न तैयार हुने युवाहरु नेपालमा पनि जे पनि श्रम गर्न तैयार हुनुपर्यो । विदेश जाँदा हरेक खालको श्रमलाई सम्मान गर्ने नेपालीहरु नेपालमा पनि हरेक खालको श्रमलाई सम्मान गर्न तम्तैयार हुनुपर्यो । विकास र समृृध्दि त्यहीँबाट शुरु हुन्छ । समस्याको कारण हामी आफैमा छ । देश र नेताहरुलाई मात्र सरापेर केही हुँदैन । नेता त्यस्तै हुने हो जस्ता हामी छौँ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर