newskoseli.Com

फोन, डिजिटल डिभाइस, रेडियो–टिभी अवरूद्ध गरिने

कात्तिक १७ देखि १९ सम्म हुने भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणका लागि विशेष सुरक्षा योजना तयार पारिएको छ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले राष्ट्रपति मुखर्जीको भ्रमणका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताए ।

राष्ट्रपति आउने र जाने क्रममा विमानस्थलदेखि बस्ने होटल तथा कार्यक्रमस्थलसम्मको सुरक्षासम्बन्धी कार्ययोजना तयार पारिएको छ । केही दिन अघिदेखि नै नेपाल– भारत सीमा नाकामा समेत विशेष निगरानी र कडाइ सुरु गरिएको छ । काठमाडौं उपत्यका भित्रिने प्रमुख नाकामा यात्रुको जाँचमा कडाइ गरिएको छ ।

प्रवक्ता पन्थीले भने– “भ्रमणको विशेष सुरक्षा योजना बनिसकेको छ, त्यसको कार्यान्वयन समेत सुरु भइसकेको छ । ” भ्रमणको क्रममा चारै सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजनाअन्तर्गत परिचालन गरिने जानकारी उनले दिए ।

भ्रमणको क्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा घेरा बनाइनेछ भने राष्ट्रिय अनुसन्धान विभागलाई पनि परिचालन गरिनेछ । राष्ट्रपतिका लागि काठमाडौंसहित उनी जाने पोखरा र जनकपुरका लागि जामरसहितको सवारीसाधनको व्यवस्था गरिएको छ । सो जामरले सय मिटर वरपरको क्षेत्रमा मोबाइल सेट, डिजिटल डिभाइसलगायतका विद्युतीय माध्यमलाई निष्क्रिय पारी सञ्चार सम्पर्क बिच्छेद गरिदिन्छ ।

राष्ट्रपति यात्रा गर्ने स्थलमा गुणस्तरीय सीसीटीभीको व्यवस्था गरी नेपाली सेनाको समन्वय केन्द्र र महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सीसीटीभीको माध्यमबाट कार्यक्रम र सवारी गतिविधि नियाल्ने तयारी गरिएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षाका सबै अङ्गलाई आ–आफ्नो ठाउँमा जिम्मेवारी तोकेर परिचालन गरिने तय भएको छ । भारत र पाकिस्तानबीच अहिले देखिएको चिसोपन र नेपाल– भारत खुला सीमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपानाइएको हो ।

भ्रमणको क्रममा मुखर्जीको पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछ । सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । भ्रमणको सुरक्षा व्यवस्था बुझ्न शनिबारै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि तथा सुरक्षा निकायका प्रमुख पोखरा र जनकपुर गए ।

केही सङ्ख्यामा भारतीय राष्ट्रपतिका सुरक्षा गार्ड समेत नेपाल आउने बताइएको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक हेमन्त पालले पोखरा र जनकपुरका लागि आवश्यक सवारीसाधन काठमाडौंबाट पठाइन लागेको जानकारी दिए ।

राष्ट्रपतिको सवारी अवधिभर सवारी हुने रुटको सडक पूर्ण रुपमा खाली गरिने उनले जानकारी दिए । राष्ट्रपति मुखर्जी कात्तिक १७ गते काठमाडाैं आर्इ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक पार्टीका नेतासँग भेटवार्ता तथा काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोह, पशुपतिनाथ मन्दिरको दर्शनलगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

उनी कात्तिक १९ गते जनकपुर गई जानकी मन्दिरको दर्शन र त्यहाँको नागरिक अभिनन्दन कार्यक्रम तथा पर्यटकीय नगरी पोखरा गई भारतीय सेनाबाट अवकाश प्राप्त गोरखा सैनिकको भेलालाई सम्बोधन गर्ने तथा सोही दिन काठमाडौं आई भारत फर्कने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर