newskoseli.Com

संविधानको रक्षा साझा दायित्व : खनाल

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानकाे रक्षा गर्नु सबैकाे दायित्व भएकाे उल्लेख गर्दै तराई–मधेस अलग्गै र पहाड अलग्गै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गरेका छन् ।

नेकपा (एमाले) प्रदेश नं. २ कमिटीद्वारा बिहीबार सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान समारोहलाई सम्बोधन गर्दै उनले पहाड र तराई–मधेस इतिहासदेखि नै एक रहेकाले यहाँ बसोबास गर्ने सबै एकताबद्ध भएर अगाडि बढनुपर्ने खाँचो औँल्याए ।  एमालेका पूर्वअध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खनालले वर्तमान संविधानले लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवादतर्फ उन्मूख गराउने मूल चरित्र बोकेकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए ।

कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले संविधान संशोधन गर्ने पक्षमा छ भन्दै संशोधनले नयाँ समस्या सिर्जना नहुने किसिमले सहमतिको बिन्दु खोज्नु आवश्यक भएकाे बताए । एमाले मधेसीको अधिकार र पहिचानको पक्षधर भएको चर्चा गर्दै उनले मधेसको हितका लागि सधैं अग्रसर रहेको आफ्नो पार्टीलाई मधेसविरोधी भन्दै गरिएकाे प्रचारमा सत्यता नभएको उल्लेख गरे ।

महासचिव ईश्वर पोखरेलले एमाले संविधान संशोधनको पक्षमा भए पनि के, कहाँ संशोधन गर्ने भन्ने कुराको अस्पष्टताका कारण समस्या देखिएको बताए । प्रदेशका संयोजक सत्यनारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शत्रुध्न महतो र डा. वंशीधर मिश्रले एमाले मधेसका उचित मुद्दाको संशोधनका पक्षमा भएको धारणा व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर