newskoseli.Com

सांसदले आफ्नै तलब बढाएको विरोधमा विद्यार्थी आन्दोलित

सांसदहरुले अाफ्नै तलब–भत्ता वृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएका छन् । अनेरास्ववियु केन्द्रीय कार्यालय बागबजारमा मंगलबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेविसङ्घ, ओरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) लगायत विभिन्न १४ विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रह्यो । बैठकको निर्णयअनुसार बुधबार दिउँसाे ४ बजे माइतीघरस्थित शान्तिबाटिकामा विरोध कार्यक्रम हुनेछ । सरकारले गरेको निर्णय फिर्ता गराउने उद्देश्यअनुरुपको ज्ञापनपत्र सभामुखलाई बुझाउने कार्यक्रम छ ।

हाल सभामुख ओनसरी घर्ती विदेश भ्रमणमा रहेकाले उनी आएपछि मात्र ज्ञापनपत्र बुझाइने भएको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले देशमा अनगिन्ती समस्याका बीच सांसदहरुको तलब बढाएर सरकारले ‘काम–कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तो काम गरेको’ बताए । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सरकारले यो निर्णयलार्इ पुनर्विचार नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

अखिल (क्रान्तिकारी) का प्रवक्ता सुरेन्द्र बस्नेतले आफ्नो तलब सुविधा आफैंले बढाउनु नैतिकताहीन काम भएको टिप्पणी गरे । ‘सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पारित गरेको थियो । यो वृद्धिसँगै हरेक सांसदले गत साउन महिनादेखि नै लागू हुने गरी मासिक १ लाख रूपैयाँभन्दा बढी तलब–भत्ता बुझ्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर