newskoseli.Com

कि देऊ नत्र दिन्नँ भन, गरिबलाई आशा नदेखाऊ !

दूधकुण्ड नगरपालिका– १ स्थित टाक्टोरका जाङमु शेर्पाको घर डेढ वर्ष अघिको भूकम्पले भत्कायो । केही दिनको त्रिपालबासपछि उनले जस्ताको छानो र चित्राको बार लगाएर छाप्रो बनाइन् । त्यसयता सात जनाको शेर्पा परिवार त्यही छाप्रोमा बस्दै आएको छ ।

नुम्बुर हिमालको सिधा पर्ने सो छाप्रोमा रातभर यति चिसो बतास पस्छ कि बिहान उठ्दा सबैका आँखा सुन्निएका हुन्छन् । बिहान करिब २ बजेदेखि जस्ताबाट झरेको शीतले ओढ्ने–ओछ्याउने सबै भिजाइदिन्छ, तैपनि रात गुजार्ने कुनै विकल्प छैन । चिसो सुरु हुनासाथ बालबालिका बिरामी पर्न थालेको भए पनि बाध्यताले यही छाप्रोमा बस्नु परेको शेर्पाकाे गुनासो छ ।

घर बनाउनका लागि उनले भत्किएको घरको अवशेष पन्छाएर अघिल्लो हिउँदमै घडेरी तयार पारिन् । ढुङ्गा र काठ पनि तयार छ तर पर्खाइ छ– सरकारले दिने भनेको अनुदानको । “सरकारले अनुदान दिन्छ भन्छन्, घर बनाऊँ भने नदेला । दिन्नँ भने चौंरीगोठ बेचेर भए पनि घर बनाउँथें दिने भए दिइहाले हुन्थ्याे । किन यसरी झुक्याएको हो सरकारले पनि ?” निरास हुँदै शेर्पाले भनिन् ।

अत्यन्तै चिसो बढेको सोलुखुम्बुमा रहेका भूकम्पपीडितको एक उदाहरण पात्र मात्र हुन् जाङमु शेर्पा । भूकम्पले घर पूर्ण क्षति भएका सोलुखुम्बुका ९ हजार ६ सयमध्ये केहीले मात्र नयाँ घर बनाएका छन्, केही घरपरिवार जोखिम मोलेर त्यही भत्कन लागेको घरमा बस्छन् भने अधिकांश पीडित त्रिपाल तथा जस्ताको छानो भएको छाप्रोमै गुजारा गरिरहेका छन् ।

चौलाखर्क– ३ सोलुखुम्बुका रोहित बस्नेत भन्छन्– “कि दिनु, नत्र दिन्नँ भन्नु, गरिबलाई आशा देखाएर राख्न पाइन्छ ? ऋण गरेर घर बनाऊँ भने सरकारले दिन्छु भनेको छ, आश लाग्छ, नबनाउँ भने ७० वर्ष पुगिसकेका बुढाबुढी चिसोले रातभर काँप्नुपर्ने अवस्था छ ।”

घर बनाउनका लागि काठपात लगायत सामग्री अघिल्लो वर्षदेखि तयार गरेर बसेका बस्नेत ‘बनाऊ, पछि पैसा दिन्छु’ भनेमा आफू बस्ने घर बलियोसँगै बनाउने बताउँछन् । कात्तिक पहिलो हप्तादेखि नै सोलुखुम्बुमा चिसो अत्यन्तै बढेको छ । दिउँसो काम गर्दा त चिसोको वास्ता नभए पनि छाप्रोमा काँप्दै रात बिताउन आफूहरुलाई निकै समस्या पर्ने गरेको पीडित बताउँछन् ।

सोलुखुम्बु भूकम्पबाट अति प्रभावित १४ जिल्लाको सूचीमा नपरेकाले केही ढिला भएको र कहिलेदेखि सोलुखुम्बुमा अनुदान वितरणको काम सुरु हुने भन्ने प्राधिकरणबाट कुनै जानकारी नआएकाले यसै भन्न नसकिने दूधकुण्ड नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भट्टराईले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर