newskoseli.Com

सवारी रोकेर सडकको भित्तो काट्ने तयारी

नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । गत वर्ष पनि केही महिना दिउँसो ४ घन्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब ५ किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनु पर्नेछ । खनालले भने– “अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन ।”

गाडी रोक्दै गर्दा आयोजनाले निर्माण कम्पनीलाई उपकरण र जनशक्ति बढाउन अाग्रह गर्दै आएको छ । कम्पनीले के–कति उपकरण र जनशक्ति परिचालन गर्न सक्छ, सोही आधारमा स्थानीय प्रशासनसँग सहकार्य गरी बाटो चौडा बनाउन सवारी रोक्न आग्रह गरिने खनालले बताए ।

सवारी नरोकी भित्तो काट्न असम्भव छ । सकेसम्म चाँडो भित्तो काट्नका लागि सवारी रोकिदिन निर्माण कम्पनीले दबाब दिँदै आएको छ । सो सडकखण्ड धुलाम्मे भएपछि आयोजनाले फराकिलो बनिसकेका ठाउँमा कालोपत्रेको तयारी गर्न भनेको छ । इञ्जिनियर खनालका अनुसार पुसको दोस्रो साताबाट सडकखण्डमा कालोपत्रे थालिँदैछ । सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउने लगायतका ठाउँमा अत्याधिक धुलो उड्नाले सवारी साधन, यात्रु र स्थानीयले सास्ती व्यहोर्दै आएका छन् ।

सडकमा दैनिक ३ वटा ट्याङ्करले पानी छर्केको भए पनि त्यो अपुग भएको बताइएको छ । हालसम्म ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३० दशमलब ५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ । ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि ४ महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको २ अर्ब ९० करोड रूपैयाँ आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्ड पर्दछ ।

इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौं, नागढुङ्गा नौबिसे, मुग्लिन–नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मोजफ्पुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर