नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै क्युबाली पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अध्यक्ष वैद्यले क्यास्ट्रोको निधनका कारण शोकसन्तप्त क्युबाली जनताप्रति समवेदना समेत प्रकट गरेका छन् ।
‘आइतबार २६ नोभेम्बर २०१६ मा क्युबाका पूर्वराष्ट्रपति तथा एक देशभक्त राजनीतिक योद्धा फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । उनको नेतृत्वमा क्युबाको पुरानो सकारलाई पल्टाएर नयाँ सरकार बनाइएको थियो । उनलाई सत्ताच्युत गर्न अमेरिकी साम्राज्यवादद्वारा धेरै असफल प्रयत्न गरिए ।’
वैद्यद्वारा आइतबार जारी श्रद्धाञ्जली वक्तव्यमा लेखिएको छ– ‘उनी साम्राज्यवादको विरोध र देशभक्तिको पक्षमा सशक्त रुपमा उभिए । उनको निधनबाट क्युबा मात्र होइन, विश्वले समेत एउटा सच्चा देशभक्त मित्र गुमाएको अनुभूति भएको छ । यस दुःखद् अवसरमा हाम्रो पार्टी सामन्तवादविरोधी एक देशभक्त योद्धा तथा मित्रप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त क्युबाली जनताप्रति हार्दिक समवेदना समेत व्यक्त गर्दछ ।’