newskoseli.Com

अस्पतालमा श्रीमती कुरिरहेका पत्रकार बोहराको पशुपतिमा अन्त्येष्टि

पत्रकार कर्ण बोहराको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । शुक्रबार मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको अाइतबार साँझ अन्त्येष्टि गरियो ।

श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन भएको हो । महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले बोहराको पार्थिव शरीरमा महासङ्घको लोगो अङ्कित झन्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरे ।

अन्त्येष्टिका क्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सांसद प्रेम आले, नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियन नेपालका महासचिव अजयबाबु सिवाकोटीलगायत उपस्थित थिए ।

बोहराको पार्थिव शरीरमा उनका दाजु जयलाल बोहराले दागबत्ती दिए । अन्त्येष्टिका क्रममा बोहराकी ७२ वर्षीया आमा हर्कदेवी बोहरा समेत उपस्थित भइन् । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस– ६ मा जन्मिएका बोहरा २०६८ देखि २०७१ सम्म नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाको अध्यक्ष रहेका थिए ।

बोहरा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’ का सञ्चालक समेत रहेका थिए ।

न्युज ट्वान्टीफोर टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख समेत रहेका बोहरा श्रीमतीको मिर्गौलाको उपचारका क्रममा काठमाडौं आएका थिए । उनी मधुमेह रोगबाट ग्रसित थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर