newskoseli.Com

‘एक चीन नीति’ प्रति नेपाल पूर्ण प्रतिबद्ध : मन्त्री पाण्डे

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको साङ्सी प्रान्तका उपगर्भनर याओ यिनलियाङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले मंगलबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री पाण्डेले नेपालमा चीनविरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए ।

भेटका अवसरमा मन्त्री पाण्डेले वि.सं. २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए । भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनर्निर्माणमा चीनले गरेको सहायताप्रति धन्यवाद प्रकट गर्दै मन्त्री पाण्डेले नेपालको विकासक्रममा चीनको सहयोग सराहनीय रहेको उल्लेख गरे ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँगको सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्रने सक्ने बतायो । लुम्बिनी र साङ्सीबीच सिधा हवाई सम्पर्क हुन नसक्दा पर्यटन प्रबर्द्धनमा समेत समस्या आएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले भैरहवा विमानस्थल निर्माणमा समस्या देखिए सरकारले समाधान गरिदिने अपेक्षा राखिएको बतायो ।

भेटवार्ताका क्रममा मन्त्री पाण्डेले भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले विमानस्थल निर्माणमा कुनै बाधा–व्यवधान आउन नदिने प्रतिबद्धता व्यक्त गरे । साङ्सी चीनमा सबैभन्दा बढी बौद्धमार्गी रहेको प्रान्त हो भने चीनका वर्तमान राष्ट्रपति सि जिङ पिङको गृहनगर समेत हो । भेटका अवसरमा नेपाली र चिनिया प्रतिनिधिमण्डलबीच उपहार आदानप्रदान समेत भएको मन्त्री पाण्डेको सचिवालयका तर्फबाट अशोक घिमिरेले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर