newskoseli.Com

२० वर्षसम्म राजधानीको फोहर थन्क्याइने बन्चरेडाँडा

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बिहीबार नुवाकोट र धादिङको सीमानास्थित बन्चरेडाँडामा निर्माणाधीन ‘ल्यान्डफिल साइट’ को स्थलगत अवलोकन गरेका छन् । धादिङको छत्रेदेउराली– ९ र नुवाकोटको ओखरपौवा– ४ स्थित बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने गरी ल्यान्डफिल साइटको निर्माण भइरहेको छ ।

अवलोकनका क्रममा मन्त्री पाण्डेले फोहोरबाट उत्पन्न हुने विकाराल समस्या समाधान गर्न योजनाबद्ध विकास गर्नु आवश्यक भएको बताए । उनले भने– ‘योजनाबद्ध विकास गर्नकै लागि बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको योजना आएको हो ।’ फोहर व्यवस्थपनलाई दीर्घकालीन बनाउन प्रयत्न गर्ने उल्लेख गर्दै उनले उपत्यकाका सबै नगरपालिकाका कार्यकारी प्रमुखलाई बोलाएर आफूले फोहर व्यवस्थापनबारे छलफल गर्ने बताए ।

उनले बन्चरेको विकास निर्माण र तत्काल ल्यान्डफिल साइटको निर्माण सम्पन्न गर्न मन्त्रिपरिषदमा आफूले गम्भीरताका साथ विषय उठाउने बताए । ल्यान्डफिल साइटलाई व्यवस्थित नगर्ने हो भने यसले विकाराल रुप लिने बताउँदै उनले यहाँका जनताका स्वास्थ्य तथा विकास निर्माणका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा यहाँका जनताले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।

सो अवसरमा मन्त्री पाण्डेले हाल फोहोर व्यवस्थापन गरिँदै आइएको सिसडोलस्थित ल्यान्डफिल साइटको पनि अवलोकन गरे ।

७० प्रतिशत फोहोर सिसडोलमा

हाल काठमाडौं उपत्यकाका २२ वटा नगरपालिकाबाट प्रतिदिन करिब १ हजार टन फोहोर उत्सर्जन हुने गरेको छ । त्यसको करिब ७० देखि ७२ प्रतिशत फोहोर जापानी सहयोग नियोग (जाइका) ले २०६२ सालमा सिसडोलमा निर्माण गरिदिएको ल्यान्डफिल साइटमा व्यवस्थापन गर्ने गरिएको छ । अहिले दैनिक करिब ७ सय टन फोहोर सिसडोलमा व्यवस्थापन गरिएको फोहर मैला व्यवस्थापन केन्द्रले जनाएको छ ।

7 6 5 4 2 1

जाइकाले २०६२ मै गरेको अध्ययनमा सिसडोलमा प्रतिदिन ३ सयदेखि ३ सय ५० टन फोहोर २३ वर्षसम्म व्यवस्थापन गर्न सकिने जनाइएको थियो ।

पहिलो चरणमा जाइकाले सिसडोलमा करिब तीन वर्ष मात्र फोहर व्यवस्थापन गर्न सक्ने जनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरण गरी केन्द्रले आपतकालीन रुपमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

दुई वर्षपछि राजधानीको फोहर सिसडोलमा व्यवस्थापन गर्न नसकिने केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताए । उनले भने– ‘यदि दुई वर्षभित्र बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको पूर्वाधार निर्माण नभए राजधानीको फोहर उठाउन सकिँदैन । अहिलेको दीर्घकालीन ल्यान्डफिल साइट बन्चरेडाँडा नै हो, जुन दुई वर्षभित्र कुनै पनि हालतमा सम्पन्न गर्नुपर्ने हुन्छ ।’

२० वर्षसम्मलाई बन्चरेडाँडा

दुई वर्षदेखि निर्माण सुरु गरिएको बन्चरेडाँडामा ल्यान्डफिल साइटका लागि आवश्यक १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । नयाँ बन्ने ल्यान्डफिल साइटमा करिब २० वर्षसम्म फोहार व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ । करिब २ अर्ब ४५ करोड रुपैयाँको लागतमा ल्यान्डफिल साइट निर्माण भइरहेको हो ।

फोहर व्यवस्थापन स्थलसम्म पुग्ने बैकल्पिक मार्गका रुपमा सडक विभागबाट करिब छ किलोमिटर छोटो सडक निर्माण भइरहेको छ भने फोहार बिसर्जन गर्ने स्थलसम्म पुग्ने कोल्पुखोलामाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका कार्यकारी निर्देशक ज्ञवालीले बताए । त्यस्तै कोल्पुखोला डाइभर्सनको काम पनि सम्पन्न भइसकेको छ ।

बन्चरेडाँडामा व्यवस्थापन गरिने फोहरबाट निस्कने पानी सिधै खोलामा मिसाइने छैन । मानव स्वास्थ्यका लागि सबैभन्दा विषाक्त पानी प्रशोधन गर्न प्लान्ट निर्माण गरिनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर