विगतमा एउटै पार्टीमा रही विभिन्न कालखण्डमा विभाजित भएका मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्र चन्द नेतृत्वका कम्युनिस्ट घटकहरु अब फेरि संयुक्त संघर्ष गर्नेतर्फ अग्रसर भएका छन् ।
‘भारतीय विस्तारवादका तर्फबाट भएका राष्ट्रियतामाथि गरिएका अतिक्रमणका विरुद्धमा कार्यगत एकता गरी संयुक्त रुपमा संघर्षको कार्यक्रम गर्ने निर्णय गरिएको छ’, सिंह, वैद्य र चन्दको हस्ताक्षरमा शुक्रबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ– ‘महान् अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम तथा पार्टी स्थापना दिवसका सन्दर्भमा आगामी २२ अप्रिल (०७४ वैशाख ९) संयुक्त रुपले मनाउने निर्णय गरियो ।’
नेपालका अरु कम्युनिस्ट घटकहरुलाई संशोधनवाद–सुधारवादमा पतन भएको र आफूहरु मात्रै सच्चा कम्युनिस्ट रहेको दावी गर्दै मोहनविक्रम, मोहन वैद्य र नेत्र चन्दहरुले जनवादी क्रान्तिको वकालत गर्दै आएका छन् । अरु कम्युनिस्ट घटकहरुले भने यी तीन घटकका नेतालाई लेबी र चन्दामा मस्ती मार्दै गफ मात्र गर्ने तर क्रान्तिका पक्षमा सिन्कोसम्म नभाँच्ने अतिवादीका रुपमा चित्रित गर्दै आएका छन् ।