newskoseli.Com

कतै गोदम भरिभराउ, कतै चामलको अभाव

सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुन सकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् ।

जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपुर्‍याउँदा यस्तो अवस्था आएको हो । गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् ।

सदरमुकाम खलङ्गामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा २ हजार १ सय ७२ क्विन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा ३ सय क्विन्टल चामल मात्र ढुवानी भएको छ । चालु आ.व. का लागि स्वीकृत ३ हजार १ सय क्विन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिएको छ ।

सबै स्वीकृत चामल आएमा राख्ने ठाउँको समेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । यो आर्थिक वर्षमा जिल्लाका ३ डिपोमा भने चालु आ.व. मा चामल पुग्न सकेको छैन । नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आ.व. मा ३ क्विन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताए ।

ठेकेदारलाई डिपोमा चामल लिन ताकेता गरिए पनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ । उत्ता दसेरा र पजारु खाद्य डिपोमा खाद्यान्नको अत्यन्त माग भए पनि गत वर्ष ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सन एन्ड विकेन्द्र सप्लायर्सले ताकिएको २ हजारमध्ये १ सय क्विन्टल मात्र ढुवानी गर्दा स्थानीयवासीले चामल खान पाएका थिएनन् । यी २ डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगञ्जले ढुवानी गराउँदै आएको छ ।

चालु आ.व. मा पनि दसेरामा खाद्यान्न ढुवानी जिम्मा लिएको आर्इडी सप्लायर्स कोहलपुर– ४ बाँकेले चामल ढुवानी नगरेको खाद्य संस्थानले जनाएको छ । त्यस्तै पजारुका लागि पहिलो पटक खोलिएको बोलपत्र अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताए । दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उनले जानकारी दिए ।

संस्थानले ४ वटै डिपोमा १–१ हजार क्विन्टलका दरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गत वर्षकै चामल बिक्री नभएपछि ४ हजार क्विन्टल कोटाबाट १ हजार १ सयमा सीमित भएको छ । जिल्लाका सवै ठाउँमा यातायात सुविधा नपुगेका कारण स्थानीयले भनेको समयमा खाद्यान्न ढुवानी गर्न मुस्किल छ । जिल्ला सदरमुकाममा जतिसुकै चामल थन्किए पनि गाउँमा भने सधैं खाद्यान्न अभाव नै हुने गरेको छ । सिँचाईयोग्य जमिन कम, वर्षेनि उत्पादनमा आएको गिरावटले गर्दा यो समस्या आएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर