newskoseli.Com

पासाङको बाँच्ने आशा टुटेको त्यो दिन…

पहिलो वार्ताकालमा हाम्रो पार्टीको माग गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा पूरा गर्न न सत्तामा रहेका संसद्वादी दलहरु तयार थिए, न त दरबार नै । वार्ता असफल हने पक्का थियो । सरकारी पक्ष युद्धको तयारी गरिरहेको थियो । हाम्रो पार्टीले पनि सरकारी योजना बुझेर वार्ता भङ्ग भएपछिका योजना बनाउँदै थियो ।

स्वाभाविक थियो— वार्ता भङ्ग भएको स्थितिमा फेरि युद्ध शुरु हुन्थ्यो । वार्ता भङ्ग होला र युद्धको तयारी शुरु गरौंला भन्ने स्थिति थिएन ।

पहिलो वार्ताको शुरुआत प्रहरी शक्ति पराजित हुनुको परिणामा थियो । वार्ता भङ्ग हुनासाथ शाही सेनासँग मुठभेड हुने पक्का थियो । त्यसैले जनमुक्ति सेनाले शाही सेनासँग लड्नका लागि हरेक प्रकारको तयारी गर्नुपर्ने हुन्थ्यो ।

जनमुक्ति सेनासँग राज्यको सैनिक शक्तिसँग लड्ने साहस र आँट त थियो तर त्यस अनुसारका हतियार थिएनन् । जे थिए, प्रहरीसँग कब्जा गरिएका थ्री नट थ्री लगायतका हतियार मात्र थिए । त्यसैले सेनासँग लड्नुपर्ने स्थितिलाई मध्यनजर गर्दै आधुनिक हतियारको खोजी र खरीद वार्ताकालमै गरिन थालेको थियो ।

वार्ता भङ्ग भएसँगै २०५८ मङ्सिर ८ मा दाङ र स्याङ्जा जिल्ला सदरमुकाममा जनमुक्ति सेनाले हमला गर्‍यो । मङ्सिर १० मा सोलुमा पनि हमला भयो । दाङ र सोलु सरमुकाममा शाही सेनाका ब्यारेक थिए । सेनामाथि विजय हासिल गरेपछि मात्र ती जिल्ला सदरमुकाममाथिका आक्रमण सफल भएको मानिन्थ्यो । सेनामाथि आक्रमणका लागि आधुनिक हतियार पनि आवश्यक पर्थ्याे । हामीले पाँच वटा आधुनिक हतियार ल्याएका थियौं । तीमध्ये तीन वटा एके–४७ र दुइटा एके– ५६ राइफल थिए ।

हतियार लिन जनमुक्ति सेनाका कमान्डर पासाङ र म २०५८ सालको कात्तिक तेस्रो साता काँकडभिट्टा गयौं । साथमा सप्लाई विभागका अर्का सदस्य रामप्रसाद बन्जाडे पनि हुनुहुन्थ्यो । बाटामा कुनै समस्या आइपरेन । सहज रुपमा गन्तव्यमा पुग्यौं । त्यो बेला पासाङ सार्वजनिक हुनुभएको थिएन । त्यसैले कसैले पनि हतपती चिन्दैनथे । फेरि, हामी आफैंले व्यवस्था गरेको गाडीमा भएकाले त्यहाँसम्म पुग्न सजिलो पनि थियो ।

पासाङले हतियार हेर्नुभयो; राम्रा रहेछन् । आधुनिक हतियार, त्यो पनि राम्रो हालतका । उहाँ औधि खुशी हुनुभयो ।

ती राइफलहरु सिलिगुडी हुँदै ल्याइएका थिए । झापाको काँकडभिट्टाबाट पूर्वतर्फ नेपाल–भारत सीमानजिकैको पानीटड्कीसम्म भारतीयहरुले ल्याइदिएका थिए, लक्ष्मी पौडेल (विवेक) को पहलमा । उहाँ सप्लाई विभागको जिम्मेवारी लिएर सिलिगुडी बस्नुहुन्थ्यो । ती राइफल उहाँले नै काँकडभिट्टासम्म ल्याउनुभएको थियो । सबैभन्दा पहिले आधुनिक हतियार खरीद गरिएको घटना नै त्यही थियो । राइफलसँगै तिनमा लाग्ने ५,००० गोली पनि ल्याइएका थिए ।

जताततै सेना–प्रहरीको चेकिङ थियो । पूर्वको नाका काँकडभिट्टाबाट ती हतियार सोलु र दाङसम्म पुर्‍याउनुपर्ने थियो । सोलु जाने हतियार हेटौंडा छाडिदिने तय थियो । बाँकीमध्येका हतियार बुटवल र दाङसम्म पुर्‍याउनुपर्ने थियो ।

ती राइफल सुरक्षित रुपमा दाङसमम पुर्‍याउने उपाय हामीले सोधिसकेका थियौं । तिनलाई गाडीको अघिल्लो सिटमुनिको खाली भागमा राख्यौं । माथिबाट फलफूलका बिरुवाले छोपिदियौं । बिरुवाले छोपिएपछि प्रहरीले गहिरिएर चेकिङ गर्ने सम्भावना कम थियो ।

हाम्रो उपायले गजबसँग काम गर्‍यो । राजमार्गमा भेटिएका प्रहरीहरुले गाडी रोकेर यसो भित्र हेरे जस्तो गरे; फलफूलका बिरुवा देखेपछि केही भनेनन् । यसरी नै हामी हेटौंडासम्म सहजै पुग्यौं ।

सोलुका लागि एउटाएउटा एके– ४७ र एके– ५६ हेटौंडामा छाड्यौं । चियाखाजा खाएर हामी अघि बढ्यौं ।

bhakti-prasad-pandeyहेटौंडादेखि बुटवलसम्म पनि कुनै अप्ठेरो भएन । राजमार्गका चेकिङ प्वाइन्टहरुमा हामी गाडी रोक्थ्यौं । निजी नम्बर प्लेटको पजेरो गाडी भएकाले प्रहरीले खासै वास्ता गरेन । फलफूलको बिरुवा राखिएको ठाउँमा उनीहरुको नजरै परेन । परे पनि शङ्का गरेनन् ।

बुटवल पुगेपछि एउटा राइफल त्यहीं छाड्यौं । यो राइफल स्याङ्जा सदरमुकाममा आक्रमणका लागि थियो ।

अब हामीसँग दाङसम्म पुर्‍याउनुपर्ने एउटाएउटा एके– ४७ र एके– ५६ बाँकी थिए ।

मेरो सल्लाह अनुसार पासाङ गाडीको अघिल्लो सिटमा बस्नुभएको थियो । प्रहरीले धेरै सोधपुछ गरे उहाँलाई कृषि विकास बैङ्क, नेपालगञ्जको म्याजेजरका रुपमा चिनाउने मेरो योजना थियो । गाडी मैले हाँकेको थिएँ । पासाङलाई बैङ्कको म्यानेजनरका रुपमा चिनाएपछि मैले आफूलाई उहाँको ड्राइभरका रुपमा चिनाउँदा भइहाल्थ्यो ।

हामी बिनाअवरोध भालुबाङ पुग्यौं । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । तर, त्यहाँ पुग्नासाथ नयाँ सङ्कट सिर्जना भयो ।

भालुबाङ पुग्नुअगावै राप्ती नदी छ । नदीमाथि पुल । त्यो पुलपारि प्रहरीको पोस्ट थियो । पुल तर्नासाथ प्रहरीहरु राजमार्गमा ब्यारिअर लगाएर बसेका थिए । हामी पुल पार गर्नासाथ उनीहरुले त्यो ब्यारिअर बन्द गरे ।

ब्यारिअर लगाएपछि हामी रोकिन बाध्य भयौं । अघि बढ्न सक्ने स्थिति नै भएन ।

ब्यारिअर बन्द गरेर एउटा प्रहरी हाम्रो गाडीअगाडि आइपुग्यो । उसले ड्राइभर बस्ने सिटतिरको ढोका खोल्यो । ढोका खोलेपछि गाडीभित्रको बत्ती स्वचालित रुपमा बल्थ्यो । यदि बिरुवाहरुलाई अलिकति सारिदिने हो भने राइफलमा प्रहरीको दृष्टि परिहाल्थ्यो ।

सङ्कट आँखाअगाडि नै आइसकेको थियो । आत्तिँदैमा यसबाट पार पाउन सकिन्नथ्यो । झटपट उपायको खोजी गर्नुबाहेक अर्को विकल्प थिएन ।

मैले उपाय निकालें । प्रहरीले हाम्रो गाडीको ढोका खोल्नासाथ मैले हतपत गाडीको स्टार्ट बन्द गरिदिएँ । गाडीको स्टार्ट बन्द भएपछि भित्रको बत्ती बल्दैनथ्यो ।

म गाडीबाट झरें र प्रहरीले खोलेको ढोका बन्द गरें । पासाङ गाडीभित्रै हुनुहुन्थ्यो । बत्ती निभेपछि उहाँको अनुहार राम्रोसँग चिनिएन । बिरुवामुनि लुकाइएका हतियार पनि देखिएनन् ।

म गाडीबाट झर्नासाथ प्रहरीसँग मेरो सवालजवाफ शुरु भयो ।

‘गाडी नम्बर इन्ट्री गुर्नपर्ने हो ?’ मैले सोधें ।

‘कहाँ जाने ?’ प्रहरीले सोध्यो ।

‘नेपालगञ्ज ।’

पासाङतर्फ देखाउँदै उसले सोध्यो– उहाँ को हो ?’

मेरो रेडिमेड जवाफ थियो– ‘कृषि विकास बैङ्कको म्यानेजर सा’ब हुनुहुन्छ उहाँ । उहाँलाई नै लिएर नेपालगञ्ज जान लागेको हुँ ।’

उसले जे–जे सोध्यो, मैले फटाफट उत्तर थिएँ । त्यसैले उसले कुनै शङ्का नै गर्न पाएन । यति सवालजवाफपछि उसले गेट खोल्यो र भन्यो– ‘ल जानुस् ।’

भालुवाङबाट दाङको नर्ती भन्ने ठाउँ पाँच–सात किलोमिटरको दुरीमा थियो । भालुबाङदेखि नर्तीसम्म पुग्दा पासाङ बोल्दै बोल्नुभएन । उहाँ निकै गम्भीर मुद्रामा हुनुहुन्थ्यो ।

‘के भयो ?’ मैले सोधें ।

पासाङले भन्नुभयो– ‘मैले त अब मरियो, ज्युँदो जाने भइएन भन्ने सोचिसकेको थिएँ । लडाइँ असफल हुने भयो, हतियार नजाने भए भन्ने चिन्ताले सताउन थालिसकेको थियो । हतियारसहित समातेका भए पक्कै पनि हामीलाई पार्ने थिए । तर, तपाईंले जोगाउनुभयो । मैले आज तपाईंलाई मानें, दाइ !’

मैले ठट्टा गर्दै भनें– ‘तिमीहरुले सधैं मानेकै त छौ नि ! आज मात्र हो र ?’

‘हो दाइ, हो’ पासाङले भन्नुभयो ।

chacha_coverतैपनि खतरा टरिसकेको थिएन । राप्ती क्षेत्र माओवादी प्रभावित इलाकाका रुपमा चिनिन्थ्यो । दाङ राप्ती अञ्चलमै पर्थ्यो । तराईका अरु जिल्लामा भन्दा यहाँ प्रहरीले बढी नै निगरानी गर्थ्यो । राजमार्गका गाउँठाउँमा प्रहरी चौकी थिए । ती चौकी पनि छल्दै गन्तव्यसम्म हतियार पुर्‍याउनु सजिलो पक्कै थिएन ।

एउटा गाउँमा हाम्रो प्रभाव थियो । तर, त्यो गाउँ हुँदै अघि बढ्ने राजमार्गमा प्रहरी चौकी थियो । त्यो पनि हामीले छल्नुपर्थ्यो । प्रहरी चौकीभन्दा अलिक वर कच्ची तर अर्को वैकल्पिक बाटो थियो । मैले गाडीको बत्ती निभाएँ र राजमार्ग छाडेर त्यही वैकल्पिक बाटोबाट बिस्तारै गाडी अघि बढाएँ । यसरी केही छिन गाडी गुडाएपछि हामी फेरि राजमार्गमा निस्कियौं ।

जुन घरमा लगेर हतियार राख्नुपर्ने हो, हामी त्यही घरमा पुग्यौं । तर, त्यहाँ पनि सङ्कट आइलाग्यो । सावधानीसाथ जति बोलाउँदा पनि घरधनीले ढोकै खोलिदिएनन् । चिच्याउँदा अर्को सङ्कट सिर्जना हुन सक्थ्यो ।

मैले पासाङलाई फेरि ठट्टैठट्टामा भनें– ‘हतियार मैले यहाँसम्म ल्याइदिएँ; कसरी राख्ने, अब तपाईंको जिम्मा । सेनाको ठूलै कमान्डर हुँ भन्नुहुन्छ क्यारे । छतमा उक्लेर ढोका खोल्नुस् ।’

नभन्दै पासाङ छतमा उक्लिनुभयो । त्यहाँबाट भित्र पसेर ढोका खोल्नुभयो । त्यसपछि हामीले ती दुइटा हतियार सुरक्षितसाथ राख्यौं ।

हतियार छोप्न गाडीमा राखिएका फलफूलका बिरुवामध्ये चमेली र चिनियाँ बेलौती (अम्बा) पनि थिए । हतियार राखेर दाङबाट फर्कंदा मैले ती बिरुवा आफैंसँग ल्याएँ, आफ्नै घरको बगैंचामा रोपें ।

बेलौतीको पात पनि रातो थियो, फूल पनि रातो । फलेपछि बोक्रा पनि रातो हुन्थ्यो, भित्रका बियाँ पनि रातै हुन्थे । त्यसले केही वर्ष निकै स्वादिलो फल पनि दियो । त्यो बेलौतीको रुख अहिले छैन; मरिसक्यो । चमेली चाहिँ अहिले पनि छँदैछ । राति यो बेस्सरी मगमगाउँछ । यो फूल जब मगमगाउन थाल्छ, अलिक परसम्म मजाको बास्ना फैलिन्छ । यसको बास्ना आउनासाथ मेरो दिमागमा एके– ४७ ल्याइएको त्यो घटना ताजा भएर आइहाल्छ ।

(२८ कात्तिक, ०७२ मा दिवंगत माओवादी नेता एवं सांसद पाण्डेको सीताराम बरालद्वारा संकलित तथा सम्पादित र सांग्रिला बुक्सद्वारा हालै प्रकाशित कृति ‘चाचा : भक्तिप्रसाद पाण्डेको सङ्घर्षयात्रा’ बाट साभार)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर