newskoseli.Com

दस वर्षदेखि श्रीमान् बेखबर, कसरी हुर्काऊँ चार सन्तान !

धन कमाउने आशा बोकेर परिवारलाई खुसी र सुखी बनाउन भारत पुगेका रामपुरकी समिरुन मियाँका श्रीमान् एक दशकदेखि सम्पर्कविहीन छन् । श्रीमान् जिउँदो या मरेको अत्तोपत्तो नहुँदा उहाँलाई न रातमा निद्रा न दिनमा भोक भनेजस्तै भएको छ ।

श्रीमती र चार सन्तानका अभिभावक उनका श्रीमान् छोराछोरीको पढाइ खर्च र घरखर्च चलाउनका निम्ति भारत पसेको लामो समय बितिसक्दा पनि परिवारको सम्पर्कमा अहिलेसम्म छैनन् । श्रीमान् बेपत्ता भएपछि चार छोराछोरीको लालनपालन अनि पढाइ खर्च जुटाउन समिरुनलाई निकै समस्या छ ।

बास बस्ने एउटा सानो झुप्रो पनि नहुँदा उनी अर्काको घरमा डेरामा बस्न बाध्य छिन् । उनले रामपुरको बाङ्गेपसल नजिकै एक घरमा तीन कोठा भाडामा लिएर जीवन गुजारा गर्दै आएकी छन् । साँझबिहान के खाने, के लाउने भएका बखत बास बस्ने एउटा थलोसम्म नहुँदा उनलाई घरभाडा कसरी तिर्ने भन्ने समस्या रातदिन बल्झिरहेको छ ।

उनी भन्छिन्– “गरेर खाने एक टुक्रा जमिन छैन, दस नङ्ग्रा खियाएर रातदिन मजदुरी नगरेसम्म साँझबिहान चुलोमा आगो बल्दैन ।” उनका चार सन्तानमध्ये जेठो छोरो जुम्मादिन मियाँ शारीरिक तथा मानसिक रुपमा पूर्ण अशक्त छन् । उनी २३ वर्ष पुगिसके । १० वर्षको उमेरमा मेनिन्जाइटिस रोगका कारण छोरो जीवनभर अपाङ्ग भएर बस्नुपरेको आमा समिरुनको भनाइ छ ।

“उपचारका लागि त्यसबेला ३ लाख रूपैयाँभन्दा बढी खर्च गरियो तर निको भएन, छोरो जीवनभर अपाङ्ग भयो”, उनले भनिन्– “छोरो अपाङ्ग नभएको भए अहिले ठूलै भइसकेको थियो, काममा सघाउँथ्यो ।” बाउ बेपत्ता भए पनि छोराले केही गर्छ भन्ने अाशामा रहेकी उनको छोरो पनि उल्टै जीवनभर अर्काको सहारामा बस्नुपरेको बिलौना छ ।

“उपचार गर्दा केही समय त छोरो निको हुन्छ भन्ने ठानेकी थिएँ, पछि डाक्टरले निको नहुने बताएपछि मनमा पिरैपिरको ठूलो भारीले रातदिन सताउने गरेको छ” उनले भनिन् । उनका कान्छा छोरा अब्दुल हुसेन ११ वर्षका भए । उनी एक वर्षको हुँदा बुबाले घर छोडेका हुन् ।

उनलाई बुबाको माया र सम्झनाबारे अत्तोपत्तो छैन । साथीहरुले बुबाको बारेमा कहिलेकाहीं जिस्काउने र सोध्ने गरेको उनी बताउँछन् । छोरी हसिना खातुन १५ वर्ष पुगिन् । खातुन बुबा अझै पनि घर आउने आशा लागेको बताउँछिन् ।

समिरुनले दिनभर मजदुरी गरेर दिनमा ४ सयदेखि ५ सयसम्म बुझेको रकमले घर ्रव्यवहार, छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी छन् । बास बस्ने सानो झुप्रो समेत नहुँदा परिवार पाल्न निकै धौधौ छ ।

दुःखसुख गरेर एउटा बास बस्ने झुपडी बनाउन पाए हुन्थ्यो भन्ने साेचेकी उनीसँग एक टुक्रा जमिन पनि आफ्नो नहुँदा निकै पिरोलेको छ । समिरुनले अझै पनि श्रीमान् घर आउने आशा मारेकी छैनन् । छोराछोरीको मायाले एक दिन श्रीमान् घर फर्कने आशा उनमा अझै जीवित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर